मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय


काठमाडौँ । केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध बल्ल सक्रिय हुन थालेका छन् ।
 
महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । 
 
प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालका लागि शुक्रबार सिंहदरबारमा पदबहालीपछि सबै मन्त्री र उच्च कर्मचारीलाई निर्देशन दिँदै कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरेका थिए ।  
 
महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न जनतालाई निराश हुन नदिन र कुनै अनियमितता हुन नदिन उनले सचेत गराउँदै भने, “यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्छ, असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन, कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन, सरकारले कडाइका साथ कारबाही गर्नेछ ।”राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । 
 
उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने उल्लेख गर्दै भने, “अब हामी कोरोना सङ्क्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौँ ।” कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) का संयोजक  पोखरेलले दैनिकजसो सिसिएमसीको बैठक, समीक्षाको आयोजना र अनुगमन तथा निर्देशन दिइरहनुभएको छ । केन्द्रमा हरेक दिन कुन मन्त्रालय र निकाय तथा तहले कोभिडविरुद्ध गरेका प्रगति तथा भएका समस्याको विवरण सङ्कलन गरी योजना बनाउने गरेको भन्ने जानकारी लिइने गरिएको छ ।
 
उपचार, रोकथाम र समन्वयमा प्रत्यक्ष जोडिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ र मृत्यु हुनेको सङ्ख्या चार हजार ६६९ पुगेको छ । हाल सक्रिय सङ्क्रमित एक लाख सात हजार ३३६ छन् । अहिले केन्द्र, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्र तथा नागरिक समाज सबैको ध्यान महामारी रोकथाममा केन्द्रित भएको छ ।
 
विपक्षी दलहरुले सरकारको काम अझै प्रभावकारी हुनुपर्ने आवाज उठाइरहेका बेला पदबहालीकै क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, नेपालगञ्जलाई गरी  रु। पाँच करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयको फाइल सदर गरे । 
 
गृहमन्त्री रामबहादुर थापाले सम्पूर्ण शक्ति कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा लगाउन मातहतका कर्मचारीलाई निर्देशन दिँदै वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशेष ध्यान दिन र चुस्त व्यवस्थापनमा लाग्न अनुरोध गरे । “निषेधाज्ञाको मौका छोपी हुनसक्ने कालोबजारी नियन्त्रणमा सचेत हुनुहोस्, मन्त्रालयबाट पूर्ण सहयोग रहने छ”, गृहमन्त्री थापाले भने, “सबै मिलेर सङ्कट मोचन गर्नुपर्छ ।” रासस