मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राजदूत डा. खतिवडाको आग्रह–’आमाको गहनामा लोभ नगरिदिनुस्’

राजदूत डा. खतिवडाको आग्रह–’आमाको गहनामा लोभ नगरिदिनुस्’

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकामा रहेका नेपाली समुदायसँग नेपालमा रहेको सम्पत्ति, करका विषयमा लोभ नगर्न आग्रह गरेका छन् ।
 
शुक्रबार ड्यालसको अर्भिङमा नेपाली दूतावासद्वारा आयोजित कन्सुलर घुम्ती शिविरको उदघाटन कार्यक्रममा डा. खतिवडाले नेपाल आमाको गहनामा धेरै लोभ नगरिदिन अनुरोध गरे । ‘नेपाल आमालाई धेरै मायाँ गर्नुहुन्छ तपाईहरु, त्यसमा धेरै लोभ नगरिदिनुस् । आमालाई गहनामा सुसज्जितै हुन दिनुस्’ डा. खतिवडाले भने । 

निकै कुटनीतिक शव्द प्रयोग गर्दै डा. खतिवडाले भने–‘तिम्रो गहना मलाई चाहियो आमा भनेर नमागिदिनुस् । तपाईहरुलाई केहीको अभाव छैन यहाँ । त्यहाँ बरु अलिकति अभाव छ ।’
 
नेपाली समुदायका अगुवाहरुलाई सम्पत्तिमा दोहोरो कर लाग्दै आएको र नेपालमा भएको सम्पत्ति बिक्री गरेर अमेरिकामा ल्याउन खोज्दा निकै झमेलाहरु रहेकोले त्यसतर्फ राजदूत डा. खतिवडाको ध्यानाकर्षण गरेका थिए । नेपालको सम्पत्ति बेचेर अवैध बाटो मार्फत पैसा ल्याउनुपरेको, हुण्डी प्रयोग गर्नुपरेको भन्ने गुनासोको जवाफ दिँदै डा. खतिवडाले त्यसलाई आमाको गहनासँग तुलना गर्दै लोभ नगर्न भनेका हुन् । 
एनआरएन विधेयक ऐन बन्ने क्रममा रहेको र त्यो आएपछि एनआरएन कार्ड, दोहोरो नागरिकता, आर्थिक सामाजीक, सांस्कृतिक अधिकार सहितको नेपालको नागरिक हुने प्रावधान रहेको जानकारी दिए । एनआरएनबाट लामो समयदेखि उठाउँदै आएका विषयहरु विधेयकले समेटेको समेत पूर्ब अर्थमन्त्री समेत रहेका डा. खतिवडाले उल्लेख गरे । 
 
आफू दोहोरो करलाई हटाउन प्रयासरत रहेको जानकारी समेत डा. खतिवडाले दिए । नेपालीहरुको घनत्व बढी भएको अमेरिकाका बिभिन्न शहरहरुमा कन्सुलेट राख्ने विषयमा सकारात्मक भएपनि अहिले कार्यान्वयन गर्ने स्थानमा नभएको उल्लेख गर्दै राजदूत खतिवडाले यस्तै अस्थायी घुम्ती शिविरको मार्फतबाट भएपनि सेवा दिन नेपाल सरकार तयार रहेको बताए । शिविरहरु आवश्यकता अनुसार नियमित हुँदै जाने विश्वास समेत उनले दिलाए । 

नेपालमा यतिखेर कोरोनाले आतंकित पारेको सन्दर्भमा डा. खतिवडाले अमेरिकी सरकारसम्म कुरा पुर्याउन सबैले आफ्नो आफ्नो नेक्सस प्रयोग गर्न समेत आग्रह गरे । ३० देखि ५० लाख एस्ट्राजेनेका भ्याक्सिन नेपाललाई उपलव्ध गराउन अमेरिकी सरकारसँग अनुरोध भैरहेको डा. खतिवडाले खुलासा गरे । त्यसका लागि अमेरिकाको राजनीतिक तहसँग लबिङ गरिदिन नेपाली समुदायसँग आग्रह गरे । 
 
एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन आइसिसी सचिव गौरीराज जोशीले दोहोरो नागरिकता नभै पहिलेदेखिको नागरिकताको निरन्तरताको पक्षमा आफू रहेको बताए । दोहोरो करका विषयमा निकै जानकार राख्ने डा. खतिवडा राजदूत भएर आएकोमा खुशी व्यक्त गर्दै जोशीले त्यसमा फलदायी नतिजाको पर्खाइमा गैर आवासीय नेपालीहरु रहेको बताए । 
 
कार्यक्रममा एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष डा. केशव पौडेल, आइसिसी सदस्य यमुना भट्टराई, एएनएका अध्यक्ष विजयराज भट्टराई, नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष डा. प्रेम अधिकारी, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साह, नेपाली मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेल, मन्दिरका पूजारी मेघराज निरौला, समाजसेवी बासु भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले, सिटी अफ अर्भिङका जोय लोपेज लगायतले मन्तव्य राखेका थिए । 
 
शिविरमा उत्साहजनक सहभागिताः
 
यसैबीच शुक्रबार र शनिबार सञ्चालन हुने घुम्ती कन्सुलरमा पहिलो दिन सेवाग्राहीको निकै उत्साहजनक सहभागिता थियो । नेपाली पासपोर्ट, नविकरण, भिसा, एनआरएनकार्ड, पावर अफ एटर्नी लगायतका सेवाहरु लिन नेपाली समुदायको उल्लेख्य सहभागिता थियो । 

ड्यालसमा सेवा लिनका लागि टेक्ससका बिभिन्न स्थानमा रहेका नेपालीहरु आएका थिए । टेक्ससका शहरहरु लबक, अस्टिन, सान एन्टेनियो लगायतबाट समेत नेपालीहरु ड्यालस आएका थिए । शुक्रबार केही समय इन्टरनेटको खराबीले सेवा ढिलो भएको थियो । शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिने योजनामा दुतावासका कर्मचारीहरु रहेका छन् । 

अाइतबार र सोमबार यस्तै प्रकारको घुम्ती शिविर ह्युस्टनमा हुँदैछ ।