मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

कोरोना तीव्र गतिमा फैलिएपछि इन्डियन प्रिमियर लिगका खेलहरु स्थगित

कोरोना तीव्र गतिमा फैलिएपछि इन्डियन प्रिमियर लिगका खेलहरु स्थगित


नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । 
 
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चालू सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ । 
 
बिसिसिआईको विज्ञप्तिमा भनिएको छ, “खेलाडी, सहयोगी कर्मचारी र अन्य सहभागीको स्वास्थ्य सुरक्षामाथि कुनै पनि किसिमको सम्झौता गर्न सकिन्न । कोभिडका कारण भारतमै अहिले निकै कठिन परिस्थिति उत्पन्न भएको छ । हामीले दुःखको अवस्थामा पनि सकारात्मक सन्देश दिन र खुशी साट्न  प्रयत्न गरेका थियौं, तर अब आइपिएलमा सम्बद्ध सबै व्यक्ति आइपिएलका खेलबाट बिदा भएर आआफ्ना परिवार र घर जाँदै हुनुहुन्छ ।”
 
गत अप्रिल ९ बाट सुरु भएको यस वर्षको आइपिएलमा २९ वटा खेल भएका थिए । यी खेलहरु रङ्गशालामा दर्शक बिनै खेलाइएका थिए । भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहरले सिङ्गो स्वास्थ्य प्रणालीमाथि गम्भीर सङ्कट निम्त्याएको थियो । 
 
कोभिड–१९ बाट खेलाडी र खेल पदाधिकारी नै संक्रमित भएपछि सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्द भएको थियो । मङ्गलबार पनि चेन्नाई सुपर किङ्ग्सका दुई कर्मचारी र सनराइजर्स हैदराबादका एक खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । 
 
भारतीय आइपिएलमा विश्वकै सर्वाधिक सफल क्रिकेट खेलाडीहरुले २०–२० क्रिकेट खेल्ने अवसर पाउने गर्दथे । गत वर्ष पनि कोभिड महामारीकै कारण यो प्रतियोगिता युनाइटेड अरब इमिरेट्समा खेलाइएको थियो । 
 
आइपिएलमा सहभागी खेलाडीहरुलाई स्वदेश फर्कन भने निकै कठिनाइँ हुने देखिएको छ खासगरी बेलायत र अस्ट्रेलियाले भारतबाट हुने हवाई उडानमा अस्थायी रुपमा रोक लगाएपछि समस्या उत्पन्न भएको छ । 
 
यसैबीच, क्रिकेट अस्ट्रेलियाले भारतमा रहेका स्टिभ स्मिथ र डेभिड वार्नर समेतका आफ्ना खेलाडीहरुको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्न लागेको जनाएको छ । 
 
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । पछिल्ला तीन महिनामा कोभिड संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दुई लाख २३ हजार नाघिसकेको छ । 
 
कोभिड संक्रमण तीव्र गतिमा फैलिएको जनाउँदै गत साता अस्ट्रेलियाली खेलाडीहरु एन्ड्रु टाई, एडम जाम्पा र केन रिचार्डसनले आइपिएल परित्याग गरी स्वदेश फर्किएका थिए । त्यस्तै, रविचन्द्रन अश्विन र लियाम लिभिङस्टोनले पनि बीचमै आइपिएल छाडेका थिए । एपी