मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अब उत्रिन्छ यिनका मुखुण्डो

अब उत्रिन्छ यिनका मुखुण्डो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शनिवार बिहानै देखि ड्यालसका नेपाली प्रवुद्ध वर्गका एक सदस्यले गुनासो गरे–‘भन्ने बेलामा नेपाली संस्थाहरु यहाँ रहेका नेपालीको हितका लागि स्थापना भएको भन्छन् । तर नेपाली समुदायको हित पुग्ने कार्यक्रम हुन लाग्दा अनेक विवाद निम्त्याउँछन ।’
उनले प्रष्ट पार्दै भने–‘नेपाली दूतावासले आयोजना गर्न लागेको घुम्ती शिवीर कार्यक्रम कुन संस्थाको व्यानरमा गर्ने र कस्ले जश लिने, को राजदूतको नजिक हुने भन्ने प्रतिस्पर्धाले विवाद सुरु भएको छ ।’ उनले यो सत्यतथ्य उजागर गरिदिन आग्रह गरे । 
 
पत्रकारितामा कसैले सूचना दिनासाथ त्यसलाई विश्वास गरेर झ्वाम्म् पोखरीमा हाम्फाल्ने भन्ने कुरा हुँदैन । त्यसका लागि बिभिन्न पक्षबाट सूचनाको ‘भेरिफाइ’, संबन्धित पक्षको भनाई, सरोकारवालासँग प्रतिकृया लिनैपर्छ । कतिपय अवस्थामा त्यस्ता स्रोतसँगको कुराकानीमा व्यक्तिलाई खुलाउन सकिन्छ त कतिपय अवस्थामा गोप्य राख्नुपर्ने अवस्था पनि हुन्छ । डकुमेन्टहरुले बोलेको अवस्थामा तिनलाई आधार बनाएर लेख्न पनि सकिन्छ । खैर यहाँ पत्रकारिताको प्रशिक्षण दिन खोजिएको पक्कै होइन । तर सन्दर्भ निस्किएपछि त्यसको निदान हुनैपर्छ । 
 
दूतावासले आयोजना गर्न लागेको घुम्ती शिवीरका लागि स्थानीय सहयोग जुटाइदिनका लागि एनआरएनए अमेरिकालाई आग्रह गर्यो । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहलाई कार्यक्रमको लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरेर दूतावासले इमेल पठायो । अप्रिल १३ तारिकमा यो इमेल पठाइयो । 
साहले स्थानीय च्याप्टरको सकृयता हुँदा राम्रो सन्देश जाने देखेर एनआरएनए टेक्सस च्याप्टर अध्यक्ष राजेश अर्याललाई जिम्मेवारी प्रदान गरे । अर्यालले कार्यक्रम निकै राम्रो खालको र नेपाली समुदायका हितका लागि हुने देखेर तत्काल नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (नेपाली मन्दिर) को हल बुक गर्न फोन गरे । फोनबाटै हल बुक भयो । 
 
त्यसको भोलीपल्ट नेपाली समाज टेक्ससले सोही कार्यक्रम आफूले गर्ने भनेर सोही स्थानमा फेरि हल बुक गर्यो । दुबै पक्षबीच ‘कार्यक्रम गर्न आफ्नो संस्था आधिकारिक हो’ भन्दै विवाद भयो । यो विवाद दूतावाससम्म पुग्यो । हलको विवाद नेपाली मन्दिरको लागि टाउको दुःखाईको विषय बन्यो । 
 
एनआरएनको भनाई छ–‘कार्यक्रम गर्न दूतावासले इमेल पठाएर सहयोगका लागि आग्रह गरेको हुँदा अरु संस्थालाई साथमा लिएर कार्यक्रम सम्पन्न गर्ने तयारीमा छौँ ।’ उता नेपाली समाज टेक्ससले आफूले कार्यक्रम गर्ने निर्णय संस्थाबाट गराइसकेको हुँदा एनआरएनलाई साथमा लिएर आफ्नो नेतृत्वका कार्यक्रम गर्ने भनेर केही पदाधिकारीहरुले भन्दै हिँडेँ । हुँदाहुँदा बुक गरेको हल रद्ध गर्न दवाव दिनेसम्मका कामहरु पनि भए । 
 
दुई संस्थाबीच कस्को नेतृत्वमा कार्यक्रम हुने भन्ने विवादले नेपाली समुदायले लामो समयदेखि पर्खेर बसेको महत्वपूर्ण प्रकारको घुम्ती शिवीर स्थगित हुने चिन्ता नेपाली समुदायका अगुवाहरुले गर्न थाले । 
 
हिमालयखबरले नेपाली समाज टेक्ससबाट यो कार्यक्रमका लागि अग्रसरता लिएका उपाध्यक्ष राजेन्द्र वाग्लेदेखि महासचिव भानु खरेलसम्म, एनआरएन टेक्सस च्याप्टर अध्यक्ष राजेश अर्यालदेखि सचिव सोफिन थापासम्म, मन्दिरका पदाधिकारीहरुदेखि नेपाली समुदाय टेक्ससका प्रवुद्ध वर्गसँग कुराकानी गर्यो । नेपाली दूतावास डिसीका अधिकारीहरुसँग कुराकानी भएको छ । कतिपयको नाम कोट गरियो, कतिपयलाई गोप्य राखियो । सबैको चासो र सरोकार यस्ता कार्यक्रम जस्ले गर्दा पनि हुने र विवाद भने पटक्कै गर्न नहुने भन्ने थियो । 
 
तर फेरि कार्यक्रमको सञ्चालन आफ्नो संस्थाले पाउनुपर्छ, सभापति आफ्नै संस्थाले पाउनुपर्छ भन्ने अडान दुबै पक्षमा देखिएपछि विवादको चुरो त्यहीँ छ भन्नेमा कुनै द्विविधा थिएन । सकभर यस्ता जुँगाको लडाईका समाचार लेख्न नपरोस्, विवादलाई छरपष्ट पार्न नपरोस् भन्नेमा हिमालयखबर अति सचेत र संवेदनशील थियो । ‘हामी मिलेर सञ्चालन गर्छौ’ भन्नेहरु केही बेरमै ‘हामीले चलाउने हो कार्यक्रम । हामीले नपाउने हो भने कार्यक्रमनै हुँदैन’ भन्दैथिए । 
 
यो अवस्थामा स्थानीय संस्था र तिनका पदाधिकारीको बदनामी हुन्छ भनेर डराएर समाचार नलेखिदिनुपर्ने पत्रकारले हो कि विवाद बाहिर ल्याउनै नहुने ती पदाधिकारीहरुको दायित्व ठूलो हो ? समाजको नेतृत्व गर्छु भनेर संस्थाको नेतृत्वमा जाने, तर समाजलाई भाँड्ने पात्रहरुलाई सबैले चिनेका छन् । तिनका कर्तुतहरु, विगत वर्तमान सबैलाई अवगत छ । 
 
समाचार प्रकाशित भएपछि ‘कपोलकल्पित, भ्रामक, समाज जोड्ने भन्दा फुटाउने नियतले प्रकाशित समाचार’ भन्दै फेसबुकमा नेपाली समाज टेक्सस र एनआरएन टेक्ससका अध्यक्षका नाममा स्टाटस देखियो । कुन चाँही कुरा भ्रामक हो भनेर उहाँहरुले खुलाउनु भएको छैन । शायद उहाँहरुको विवादको कर्तुत बाहिर आउनुनै उहाँहरुका लागि भ्रामक थियो होला । उहाँहरुले खण्डन गर्न पाउनुपर्छ, चित्त नबुझेका कुरा लेख्न, बोल्न पनि पाउनुपर्छ । तर तथ्यमा रहेर, कुन चाँही भ्रामक हो खुलाएर गरिदिएको भए हुनेथियो । 
रमाइलो पक्ष त यो छ की–खण्डनकर्तामा नाम आएका एनआरएन टेक्ससका अध्यक्ष राजेश अर्यालले भनेका छन्–‘समाचारको खण्डन भन्दा पनि मिलेर कार्यक्रम गर्छौ भन्ने कुरामा हाम्रो सहमति भएको छ । किनकी समाचार प्रकाशित भएपछि हामीमाथि धेरै गाली, चासो, चिन्ता व्यक्त भयो ।’
 
समाचार चित्त नबुझ्न सक्छ । त्यसको खण्डन गर्ने पनि प्रकृया हुन्छ । कुन तथ्यमा चित्त बुझेन ? समाचारको कुन लाइनले कस्लाई के हानी नोक्सानी पुर्यायो भन्ने बारेमा खण्डनकर्ता स्पष्ट हुनुपर्छ । त्यसो हुनसक्दा भविष्यमा समाचार पनि परिपक्व हुन मद्धत मात्र पुग्ने होइन समाजमा सुव्यबस्था पनि पुग्छ । तर विवाद आफै निम्त्याउने, आफै लफडा गर्ने अनि समाचार प्रकाशित भयो भनेर मिडियालाई गाली गर्ने यो प्रजातान्त्रिक र सभ्य समाजमा हुने व्यबहार होइन । यस्तो व्यवहार र जंगलीराजमा मात्र हुन्छ ।
 
नेपालको परराष्ट्र नीति २०७७ ले विदेशमा रहेका नेपालीहरुको फोकल प्लाइन्टका रुपमा एनआरएनएलाई लिएको छ । स्थानीय रुपमा दर्जनौ संस्थाहरु स्थापना भएका हुनसक्छन् । तर नेपालको कानुन बमोजिम दर्ता भएको हुँदा दूतावासहरुलाई सहकार्यका लागि एनआरएनए भन्दा ‘कम्फर्टेवल’ संस्था अरु नहुनसक्छ । शायद यही कारणले पनि दूतावासले एनआरएनए अमेरिकालाई टेक्ससमा हुने घुम्ती शिवीरका लागि सहयोग गरेको हो । यो तथ्यलाई दूतावासका अधिकारीहरुले हिमालयखबरसँगको कुराकानीमा पनि दोहोर्याएका छन् । 
 
दूतावासका अधिकारीले भनेका छन्–‘हामीले कार्यक्रम गर्दा अवैतनिक बाणिज्यदूतहरु रहेको स्थानमा उहाँहरुसँग समन्वय गरेर र नभएको स्थानमा एनआरएनसँग सहयोग लिएर कार्यक्रम गर्ने नीति छ ।’ दूतावासका उच्च कर्मचारीको भनाईले पनि बुझिन्छ कि विवाद सिर्जना गर्न, लफडा गर्न कुन चाँही संस्था अग्रसर भएको हो भनेर । खास विवादको जड त अझ नेपाली समाज टेक्ससका केही पदाधिकारीहरुले एनआरएनएले अहिले कुनै पनि प्रोग्राम गर्नु आचार संहिता विपरित हुन्छ भनेर बारम्बार बोल्नु रहेको बताइएको छ । 
 
 जे होस् समाचार बाहिरिएपछि यी संस्थाहरुको धज्जी उँडेको छ । पद लिनका लागि ‘अन योर मार्क’ मा बसेकाहरु तिल्मिलाएका छन् । एक वर्षपछि हुने चुनावका लागि अहिलेदेखिनै तम्तयारहरुको मुखुण्डो उत्रिएको छ । यिनका मुखुण्डोमा रहेका धेरै पत्रहरु एकएक गरि उतार्न हामी आजैदेखि थालनी भएको घोषणा पनि गर्दछौँ ।