मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि


बेइजिङ । चीनको अर्थतन्त्र यसवर्षको पहिलो त्रैमासिक अवधिमा तीव्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यसवर्ष तीव्र विकास भएको हो ।
 
चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यसवर्ष पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् । यद्यपि, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो । 
 
सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको उहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो । 
 
राष्ट्रिय तथ्यांक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्गबाट अगाडि बढिरहेको प्रतिक्रिया दिए । अघिल्लो वर्षको तुलनामा जिडिपीमा तीव्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जिडिपीमा न्यून वृद्धि पनि हो, उनले भने । 
 
गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ । चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रुपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्याँकले देखाएको छ । 
 
औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ । केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो । प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताए । 
 
विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिनेक्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन् ।
 
चीनमा सहरी बेरोजगारी दर पनि केही घटेको छ । पहिलो त्रैमासिक अवधिमा सहरी बेरोजगारी ५।३ प्रतिशतको हाराहारीमा रहेको छ । एएफपी