मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

मेघ – केही मिठो सन्देश पठाइदेउ

मेघ – केही मिठो सन्देश पठाइदेउ


हे मेघ
केही मिठो संदेश दिएर
तिम्रो दूत पठाई देउन
जब जब म तिमीलाई नियालेर हेर्छु
उल्लासित हुन्छु
तिमी गर्जिदा म उन्मादित हुन्छु
दुख लाग्छ , मेरो लागि कुनै सन्देश आउँदैन
 
म दुखी हुन्छु
बिस्तारै ओइलाउँदै जान्छु, ओंसिदै जान्छु
के तिमीलाई थाहा छैन र मेरो पीडा ?
तिमी साँच्चिकै अनभिज्ञ छौ त मेरो मनको ज्वारभाटासँग ?
अनि किन नबुझे जस्तो, नचिने जस्तो 
मलाई कहिले महशुस नगरे जस्तो
मेरो संवेदनाशीलतासँग खेल्छौ
अनि मेरो लागि कुनै दूत पठाउँदैनौ ?
 
तिमीलाई थाहा छ, यसरी त म ओइलाउन थाल्छु
अनियन्त्रित हुन्छु, छरीन थाल्छु
म सार्थक हुन चाँहान्छु
त्यसैले त जीवनका जटिलताहरुलाई
स्व चक्षुले हेर्दै
निन्द्रा र भय मुक्त भएर
अन्त्यमा तिमीलाई नै
स्तुति गर्न पुग्छु
तिम्रो आराधना गर्दै
म सत्यलाई लिपिबद्ध गर्न सकुं
 
मेरो पारदर्शिताले अरुसँग त अपहेलित भइसकें
अंतर्मनको लौह द्वार खोलेर
कति पीडा भोग गरिसकें
हे मेघ, अब मलाई शक्ति देउ
आफ्नो सत्यलाई तिम्रो सामु लिपिबद्ध गर्न सकूं
तिमिभित्र समाहित भएर म तिमिमै निर्लिप्त हुन सकूँ
किनभने म तिम्रै अंश त हुँ
 
तिमी जति देखिन्छौ त्यति निष्ठुर छैनौ
झिनो विश्वास त्यसैले त जीवित छ
विश्वस्त छु
कालो बादल फाटिने छ, तिम्रो दूत आउने छ
मेरो मनको निश्चलता
गहिरीदै गएको व्यग्रता तरंगित हुनेछ
मेरो विश्वास तिमीले केही पठाउने छौ
तिमिसँग अंतर्लीन हुन सक्नेछु
 
मेरो मेघ 
म अनन्त कालसम्म कुरेर बस्नेछु
तिमी मेरो र म तिम्रै त अंश हुँ
तिम्रो दूतले बाटो हराए पनि आँखिर उसले
मेरै ढोका त ढकढक्याउने छ
किनभने मेरो एउटा जिम्मेवारी छ
तिम्रो आराधना गररे
साँचेको खुशीको अश्रुको अर्घ
तिमीलाई नै पठाउनु छ