मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसद्लाई पुनःक्रियाशील तुल्याउन योगदान गरेकामा सभामुखको बधाई

संसद्लाई पुनःक्रियाशील तुल्याउन योगदान गरेकामा सभामुखको बधाई


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत गर्दै त्यस निम्ति योगदान गरेका सम्पूर्ण निकायमा बधाई ज्ञापन गरेका छन् ।  
 
प्रतिनिधिसभाको आइतबारको बैठकमा आफ्नो लिखित मन्तव्यमा उनले लोकतन्त्रको सार्वभौम मान्यता, संविधानको मर्म र भावनाअनुसार प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गरेका हुन् ।  
 
जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो पुनः स्थापित भएका सुखद् अवसरमा उनले सदस्य एवं सभालाई क्रियाशील बनाउन योगदान गर्ने सबैलाई बधाई ज्ञापन गरे । उनले भने, “ऐतिहासिक फैसलाका लागि सम्मानत सर्वोच्च अदालतप्रति आभार प्रकट गर्दछु । यस ऐतिहासिक फैसलाबाट संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार प्राप्त सर्वोच्च अदालतप्रति आम जनताको भरोसमा वृद्धि भएको छ ।”
 
प्रतिनिधिसभाको जीवनमा उल्लेखनीय मोड निकै कम हुन्छन् भन्दै सभामुखले हामी त्यस्तै ऐतिहासिक समयको साक्षी भएका छौँ भन्ने आफ्नो मन्तव्यमा उल्लेख गरेका छन् । उनले फागुन ११ सँगै आजको दिन पनि इतिहासमा स्मरणीय रहने बताए । 
 
संविधानले शक्तिपृथक्कीकरणको सिद्धान्तलाई अबलम्वन गर्दै उनले शक्ति सन्तुलन र नियन्त्रणसहित संवैधानिक सर्वोच्चता स्वीकार गरेको र प्रतिनिधिसभाको पुनः क्रियाशिलतासँग यो मान्यता अझ स्थापित भएको बताए । 
 
“सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधानमा प्रतिनिधिसभाको पूर्ण कार्यकाल र त्यसमार्फत स्थिरताको जुन परिकल्पना गरेको थियो, त्यो स्थापित भएको छ”, सभामुखले भने, “सर्वोच्च अदालतबाट भएको यसको विहङ्गम व्याख्या मात्र भएको छैन, भविष्यमा जनताको नेतृत्व गर्नेलाई मार्गदर्शन पनि गरेको छ ।”
 
राष्ट्रिय राजनीतिमा उत्पन्न उल्झन जनताको सार्वभौमसत्ता सम्पन्न निकायबाट सम्वाद र बहसमार्फत सुल्झाउनुपर्छ भन्ने संविधानको मर्म र भावना उज्यालिएको उनको भनाइ छ । उनले संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्को सातौँ अधिवेशन शुरु गर्न गृहकार्य चलिरहँदा अप्रत्यासित रुपमा गत पुस ५ गते प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको स्मरण गरे ।  
 
प्रतिनिधिसभाको सातौँ अधिवेशनसम्म आइपुग्दा नेपालको संविधान र प्रतिनिधिसभा नियमावलीले व्यवस्था गरेको आफ्नो नियमित काम गर्नुका साथै संविधान कार्यान्वयन गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थतागत गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए । 
 
प्रतिनिधिसभा पुनःक्रियाशिल भएसँगै हामीमाथि इतिहासले केही गहन जिम्मेवारी पनि थपेको उल्लेख गर्दै सभामुखले भने, “केही वृत्तबाट विगतका विसंगतपूर्ण अभ्यास दोहोरिने आशङ्का उत्पन्न भइरहेको सन्दर्भमा यस सभालाई जीवन्त, गतिशील र थप जनमुखी बनाउन सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल एवं माननीय सदस्यको भूमिका महत्त्वपूर्ण हुन्छ ।” रासस