काठमाडौँ । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिस्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट निवेदन दायर गरेकोमा सुनुवाइ यही फागुन १३ गते सम्पन्न भएको थियो ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा निर्वाचन आयोगमा दल दर्ता भएकोविरुद्ध निवेदन दायर गरेका थिए ।
अध्यक्ष कट्टेलले आयोगमा त्यसविरुद्ध उजुरी दिए पनि आयोगले ओली र दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते अदालतमा रिट निवेदन दायर गरेका थिए ।
नेकपाभित्र देखिएको विवादकै बेला सर्वोच्च अदालतले गरेको एक फैसलाले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै पार्टी कायम भएका छन् ।
सर्वोच्च अदालतले आइतबार गरेको फैसलामा भनिएको छ, “निर्वाच्न आयोगका यी दुवै निर्णय बदर भएपश्चात् साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेशसमेत जारी गरिदिएको छ ।”
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा खारेज भएको छ । फैसलाको पूर्णपाठ तलको लिंकमा हेर्नुहोस् ।
प्रतिक्रिया