विन्कन्सिन (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी नेतृत्वका लागि तिलक केसीले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अमेरिकाको उत्तरी राज्य विन्कन्सिनका बस्दै आएका केसीले एनआरएनएको २०२१/२३ दुई वर्षे अवधिका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । शनिबार अपरान्ह आयोजित भर्चुअल (जुम) पत्रकार सम्मेलनमा केसीले ‘सिण्डिकेट तोड्न र राजनीतिक आस्थाका आधारमा संस्थामा देखिएको विभाजन रोक्न उम्मेदवारी दिन लागेको’ बताए ।
वर्तमान एनआरएन अमेरिकाको कार्यसमितिमा केसी बोर्ड अफ डाइरेक्टर छन् । नेपालमा छँदा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनमा संलग्न केसी विन्कन्सिन नेपाली सोसाइटी लगायतका संस्थाहरुमा सकृय छन् ।
केसी समेत गरि एनआरएन अमेरिकाको अध्यक्षका लागि अहिलेसम्म चारजना संभावित उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । टेक्ससका कृष्ण लामिछाने र डा. अर्जुन बञ्जाडे, बुद्दि सुवेदी र केसीले उम्मेदवारी दिने तयारी गरेका छन् । आउँदो मे महिनामा नयाँ नेतृत्वका लागि निर्वाचन हुने चर्चासँगै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ ।
‘अहिले एनआरएनको अन्तर्राष्ट्रिय समिति (आइसिसी) र अमेरिकाको एनसिसीबीच केही विषयहरुमा समन्वय छैन । त्यसलाई समाधान गर्दै अघि बढ्ने मेरो योजना छ’ उनले भने । अहिले एनआरएनभित्र समन्वयको नाममा पदको बाँडफाँड चल्ने गरेको छ । त्यसलाई अन्त्य गर्ने समेत उनले सुनाए ।
‘मेरो योजना भनेको प्रोफेसनल र इन्टिलेक्चुअलहरुको एउटा टीम बनाउने, संस्थाको आर्थिक स्रोतको रुपमा सदस्यतामात्र निर्भर हुने चलनलाई अन्त्य गर्दै वैकल्पिक स्रोतहरुको खोजी गर्ने पनि हो’ केसीले भने । उनले दोहोरो नागरिकता नभै गैर आवासीय नेपालीहरुसँग रहेको नेपाली नागरिकताकै निरन्तरता आफ्नो मुख्य एजेण्डा रहेको बताए ।
एनआरएनएको निर्वाचन पद्धतीमा पनि प्रशस्त सुधारको खाँचो रहेको केसीले औँल्याए । मतदानको क्रममा एउटा डिभाइसबाट एकजनाले मात्र मत हाल्न दिनुपर्ने, अनुहार चिन्ने प्रविधि (फेस रिकगनाइजेसन) लाई प्रयोगमा ल्याउनुपर्ने, एकै दिनमा चुनाव गरिसक्नुपर्ने र उम्मेदवारका प्रतिनिधिले प्राप्त मतको प्रमाणित गर्नुपर्ने उनले माग राखेका छन् ।
अर्का उम्मेदवारलाई समर्थन गरेर तल्लो पदमा उम्मेदवारी दिने संभावना बारेमा सोधिएको प्रश्नमा केसीले आफ्नो भन्दा राम्रो भिजन कसैले ल्याउन सकेको खण्डमा र आपूmलाई चित्त बुझाउन सकेमा त्यो संभावना नकार्न नसकिने उनले बताए । ‘मैले भन्दा राम्रो भिजन ल्याउनुपर्छ, मलाई कन्भिन्स गर्नुपर्छ । राम्रो एनआरएन बनाउनका लागि म त्याग गर्न तयार छु’ उनले भने ।
केसीको उम्मेदवारी घोषणा तथा पत्रकार सम्मेलनमा पूर्ब अध्यक्ष शिव राई, पूर्ब बोर्ड अफ डाइरेक्टर सञ्जय थापा लगायतले शूभकामनाका साथ हर तरहले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । थापाले ‘वान डिभाइस, वान भोट’ हुनैपर्नेमा जोड दिँदै केसीलाई व्यक्तिगत रुपमा जे सहयोग आवश्यक हुन्छ गर्न तयार रहेको बताए ।
त्यस अवसरमा नारायण कँडेल, टेक गुरुङ लगायतले शूभकामना दिनुका साथै एनआरएनलाई सबैको साझा बनाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया