मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्यान्मारमा सेनाको गोली लागेर एकैदिन ३८ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर एकैदिन ३८ जनाको मृत्यु


याङ्गुन । म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकैदिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । 
 
म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो घटना हो । अनलाइनमा सार्वजनिक तस्बिरहरुमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको र घाइते प्रदर्शनकारीका शरीर रगतपच्छे भएको देखिएको छ । 
 
 बुधबारको हिंसापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले म्यान्मारको घटनाबाट अमेरिका स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । उनले म्यान्मारको सैनिक दमनका विरुद्धमा विश्वका सबै मुलुकले निन्दा र भत्र्सना गर्नुपर्नेमा जोड दिएका छन् । 
 
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले म्यान्मारमा जारी दमन तत्काल रोक्न आग्रह गरेका छन् । सेनाले सत्ता लिएयता ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको म्यान्मारका लागि राष्ट्रसंघका प्रतिनिधि स्रानर बर्गेनरले बताएका छन् ।  
 
बिहीबार प्रदर्शनकारीहरुले याङ्गुन र मन्डाले सहरका साथसाथै अन्य शहर बजारमा जुलुस निकालेका छन् । सुरक्षाकर्मीले गत फेब्रुअरी १ यता हालसम्म झण्डै एक हजार ५०० प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । 
 
सेनाले म्यान्मारकी नेतृ आङ सान सुकीसमेत उनको दल नेसनल लिग फर डेमोक्रेसीका ठूलो संख्याका नेता एवं कार्यकर्ता नजरबन्दमा राखेको छ । एएफपी