मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, शुक्रबार औपचारिकरुपमा घोषणा हुने

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, शुक्रबार औपचारिकरुपमा घोषणा हुने


काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच संवादका माध्यमबाट सम्पूर्ण राजनीतिक विषयको समाधान गर्ने गरी तीनबुँदे सहमति भएको छ । 
 
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सहमति भएको सार्वजनिक गरेका हुन् ।
 
उक्त सहमतिसँगै चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा हुने भएको छ । विज्ञप्तिमा नेपाल सरकारबाट उक्त समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ ।
 
सहमतिको विस्तृत विवरण भने शुक्रबार अपराह्न २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
 
यसअघि बुधबार वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा चरणवद्धरूपमा संवाद भएको थियो । सरकारका तर्फबाट गृहमन्त्री थापा र चन्द समूहका तर्फबाट विश्वकर्माको संयोजकत्वमा मंगलबार बेग्लाबेग्लै वार्ता समिति सार्वजनिक भएको थियो । 
 
सरकारी तर्फबाट वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र चन्द समूहका तर्फबाट दीपक चलाउने रहेका थिए । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते उक्त समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।