मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एनसिसिओको आठौँ साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न

एनसिसिओको आठौँ साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न


फ्लोरिडा, अमेरिका । संयुक्त राज्य अमेरिकाको सूर्योदय राज्यको रुपमा परिचित फ्लोरिडाको मध्य क्षेत्रमा अवस्थित पर्यटकीय एवं व्यावसायिक महानगर ओर्ल्याण्डो र यस वरपरको सहरहरुमा बसोवास गर्ने नेपाली समुदायको स्थानीय नेपाली संस्था नेपाली सामुदायिक केन्द्र ओर्ल्याण्डो (एनसिसिओ) फ्लोरिडाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। केन्द्रको आठौँ साधारण सभाको समुद्घाटन जुम प्लेटफार्मको माध्यमबाट सम्पन्न भएको हो। 
 
केन्द्रका अध्यक्ष निजानन्द मल्लको सभापतित्वमा भएको उद्घाटन समारोहको उद्घोषण महासचिव कालु भट्टराईले गरेका थिए । संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरुबाट अतिथिको रुपमा जोडिएका विशिष्ट सामाजिक व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको उक्त अवसरमा एनआरएन अमेरिका राष्ट्रिय परिषद्का अध्यक्ष सुनिल साहले प्रवासी नेपालीहरु संसारको जुनसुकै भूभागमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा लागिपरेकोमा खुसी व्यक्त गरे । 
 
प्रमुख अतिथि साहले एनसिसिओले पर्यटकीय क्षेत्र ओर्ल्याण्डोमा नेपाली सामुदायिक केन्द्रको स्थापना गरेर यसका माध्यमबाट स्थानीय समुदायमा नेपाल र नेपालीको संस्कृति पहिचानमा खेलेको भूमिकाप्रति हर्ष व्यक्त गर्दै नेपालीहरुबीच एकता कायम गर्दै आफ्नो सामुदायिक विकासमा एनआरएन र एनसिसिओ जस्तो संस्थाहरु स्थापना भएकोले यस्तो अभियानमा लाग्न सबैलाई आह्वान गरे । 
 
कार्यक्रमका विशेष अतिथि उत्तर अमेरिकाको जेठो नेपाली संस्था एएनएका अध्यक्ष विजयराज भट्टराईले केन्द्रको निर्माणमा आफूले हरसम्भव सहयोग गर्ने बताए। 
 
कार्यक्रममा नाशाका अध्यक्ष विनय अर्याल, नाफका अध्यक्ष अनिला न्यौपाने, अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष दीप कार्की, एनओए फ्लोरिडाका अध्यक्ष डा राजेन्द्र शाक्य, एएनएका महासचिव डा चूडामणि खनाललगायतले कार्यक्रम एवं केन्द्रको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।  
केन्द्रकी उपाध्यक्ष गीता न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा ओर्ल्याण्डो नेपाली भाषा पाठशालाको गतिविधिबारे सभामा जानकारी गराएकी थिइन् । ओर्ल्याण्डो महिला समूह (आरती राई, बिमला भट्टराई, शारदा मल्ल र बिनिता लकान्द्री) बाट स्वागत गान प्रस्तुत भएको थियो । केन्द्रका अध्यक्ष, सिआरसिसीका संयोजक एवं बोर्ड डाइरेक्टर विकाश देवकोटा, महासचिव कालु भट्टराई, कोषाध्यक्ष दिनेश महर्जनलगायतले संस्थाको सम्बन्धित विभिन्न समितिहरुको तर्फबाट विविध पक्षहरु समावेश गरी आआफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । 
 
उदघाटन सत्रको क्रममा आमन्त्रित विभिन्न अतिथिहरुबाट मन्तव्य दिने क्रममा बीचबीचमा ओर्ल्याण्डो नेपाली भाषा पाठशालाका नानीहरु (धनिशा थापा, कृषा ढकाल, दिया महर्जन, बिर्जला लकान्द्री, संगीत प्रशिक्षक देव राईको बाँसुरी धुन) लगायत बाल कलाकारहरुको रेकर्डेड प्रतिभाको भिडियो प्रदर्शनसमेत गरिएको थियो । जसले गर्दा कार्यक्रमलाई सांस्कृतिक एवं सांगितिक माहौल सिर्जत भएको थियो।
 
सो अवसरमा आगामी दुई वर्ष (२०२१/०२२) को लागि सर्वसम्मतिद्वारा पुनः निजानन्द मल्लको नेतृत्वमा नवगठित कार्य समितिलाई निर्वाचन समितिको तर्फबाट संस्थापक सदस्य राजेन्द्र श्रेष्ठले सपथ ग्रहण गराएर पदस्थापन गराएका थिए । केन्द्रको स्थापनाको औचित्यका सन्दर्भमा विभिन्न कार्यकालका समितिहरुले पुर्‍याउँदै आएको योगदानप्रति आभार प्रकट गर्दै नवनिर्वाचित समितिले केन्द्रको उद्देश्य प्राप्तिको लागि अग्रसर रहनेमा शुभकामना दिएका थिए ।  
 
एनसिसिओका अध्यक्ष निजानन्द मल्लको अध्यक्षतामा नवगठित समितिको उपाध्यक्षमा अमिता देवकोटा, कोषाध्यक्षमा दिनेश महर्जन, सूचना सचिवमा राजीव श्रेष्ठ रहेका छन् भने महासचिवको पद पूर्ति हुन बाँकी छ । यस्तै, कार्यसमिति सदस्यहरुमा लक्ष्मण थापा, कालु भट्टराई, बिष्णु लकान्द्री, अनिता थापा रहेका छन् ।  
 
कार्यक्रमको अन्त्यमा केन्द्रको तर्फबाट नव पदस्थापित उपाध्यक्ष अमिता देवकोटाले आमन्त्रित सबैप्रति आभार प्रकट गरिन् भने कार्यक्रम संचालक भट्टराईले धन्यवाद ज्ञापन गरे ।