नेपाल

न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ : उपप्रम पोखरेल

प्रकाशित |
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारे ।  
 
“न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ? ”, उनले भने “न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?”  शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए ।  
 
राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि संकट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले बताए । उनले भने, “राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो ।” उनले प्रश्न गरे,  “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?”
 
निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोसिस नगर्न सबैलाई अनुरोध गरे । यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उनको भनाइ थियो । उनले भने, “यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।” उनले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिए । रासस
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया