मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानको मर्म र भावनानुसार फैसला आउने प्रचण्डको विश्वास

संविधानको मर्म र भावनानुसार फैसला आउने प्रचण्डको विश्वास


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गरेका छन् । 
 
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) ले मंगलबार पेरिसडाँडामा आयोजना गरेको ‘ २० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनका बलमा संविधानसभाबाट घोषणा भएको संविधानअनुसार गठन भएको सर्वोच्च अदालतलबाट प्रतिनिधिसभा पुनःस्थापना हुने जिकिर गरे । 
 
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतबाट निरुपण हुने क्रममा रहेको छ । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । केहीदिनभित्रै फैसला आउने अपेक्षा गरिएको छ । “नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन्”, उनले भने, “ प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।”
 
संविधान गतिशील र जीवित दस्तावेज भएको उल्लेख गर्दै उनले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताए । दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उहाँले राष्ट्रिय आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने प्रष्ट पार्नुभयो ।  
 
नेकपा मजदूर फ्रयाक्सन इञ्चार्ज जयपुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्वपूर्ण रहे पनि त्यसपछि बनेका सरकारले मजदूरका अधिकार सम्बोधन गर्न नसकेको गुनासो गरिन् । “जनयुद्ध, जनआन्दोलनमा मजदूरको भूमिका अतुलनीय रह्यो तर आज तिनै मजदूर विनापारिश्रमिक कामबाट निस्कासित हुनु परेको छ”, उनले भनिन् । कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । रासस