कला

प्रकृतिले विज्ञानलाई थप्पड हान्दा .....

प्रकाशित |
नेक महामारी , प्राकृतिक प्रकोपलाई विज्ञानले कहिले जित्न सकेको छैन । उ जिते जस्तो गर्छ तर प्रकृतिले उसको औकात बेला बेलामा प्रष्टयाई रहेकी छिन् ।

अमेरिकाको टेक्सास स्टेट प्रचण्ड गर्मी हुने ठाउँ हो नेपालको तराई जस्तै । टेक्सासको अधिकांश ठाउँमा हतपती त्यति चिसो हुँदैन र खासै हिउँ पनि पर्दैन । तर यसपाली अनौठो भयो । गएको सोमबार बिहानदेखि यहाँको मौसम माईनस दश डिग्रीमा झर्यो । हिउँ मात्र परेन , बरफै जम्यो । कामधाम ठप्प ! सडकमा ट्राफिक पातलो थियो । घर भित्र बसे मानिसहरू । त्यति सम्म पनि ठिकै थियो लौ । तर जब यति कठयाँग्रिने जाडोमा बिजुली गयो , अनि चौपट भयो । हिटर छैन , खाना पकाउने स्टोभ छैन ( ग्यास चुल्हो नहुनेहरुको ) , पानी छैन , नेटवर्क छैन । टेक्सासको अधिकांशले यो अनजान युध्दसँग लड़नु पर्यो , अझै कतिले लडिरहेका छन् ।

यो पङ्क्तिकार टेक्सासको ह्यूस्टन सहरमा बस्छु । आइतबार खानपीन गरेर सुतेको भोलिपल्ट बिहान सेतम्मै हिउँ थियो घर वरिपरि । हयूस्टन बसाइको अठार वर्षमा पहिलो पटक यति बाक्लो हिउँ परेको देखें । काम बन्द हुँदा घरमा तातो खाँदै सिनेमा हेरेर दिन बिताउँदा बाहिरको जाडोले खास प्रभाव पारेको थिएन । मंगलवबार एकाबिहानै उठ्दा बत्ती थिएन । घर पुरै चिसाम्यै भएको थियो । चिया पिउने उत्कट अभिलाषा त्यसै कठ्याग्रीयो । चिया त के तातो पानी समेत पिउन नपाएपछि भने विज्ञान अति नै निरीह लाग्यो ।

मनमनै भने वाह ! पुरै बिजुलीमा निर्भर अमेरिकन लाइफ !

विज्ञानलाई प्रकृतिले जोड़दार थप्पड हानेकी छ र त्यसको एउटा प्रत्यक्ष साक्षी म हुँ भन्ने लागिरह्यो । न चुल्हो बल्थ्यो न माइक्रोओभन नै चल्थ्यो ! धिपधिपे मैन बत्तिमा बासी भात र चिकेनकरी तताएर जसोतसो बिहानको छाक टर्यो ।

पहिले नै ग्यास चुल्होको जोहो नगरेकोमा पछुतो लागिरह्यो । त्येतिबेलासम्म मौसम अत्यधिक चिसो भएपनि घाम लागिसकेको थियो । सडकका हिउँ र बरफहरु पग्लन थालिसकेका थिए । बरु ग्यास चुल्हो किन्न पाइन्छ कि वालमार्ट खुलेको भए भनेर गाडी निकालुँ भन्दा ग्यारेज बन्द ! म्यानुल्ली खोल्ने सिस्टम पनि थाहा थिएन । धन्न मेन्टेनेन्स सहयोगी त्यही बेला देखा परे र उसको सहयोगले ग्यारेज खुल्यो । हामी बुढाबुढी जोखिम मोल्दै सडकमा गाडी निकाल्यौं ।

बाहिरको दृष्यहरु हेर्न लायकको थियो । हयूस्टन ठप्प थियो । ट्राफिक लाइट बन्द ! ग्यास स्टेशन बन्द ! अति आवश्यकीय सीभीएस् र वालग्रीन बन्द थिए । कहीं कहीं एउटा , दुइटा अध्यारोमै खुलेका स्टोर बाहेक सबै बन्द ! त्यही स्टोरमा सीउसीउ काम्दै खानेकुरा किन्नेको लाइन लागेको देख्दा अत्यास लाग्यो ।
वाध्यताको उपज : फायर प्लेसमा नेपाली चुल्हो
वाध्यताको उपज : फायर प्लेसमा नेपाली चुल्हो
 
दशमिनेटको बाटो आधा घण्टा लगाएर पुगियो तर वालमार्ट बन्द ! गाडिको हिटर र चिसो घाम भए पनि गाडी भित्र सिसाबाट छिरेको तातो घामले भने एकछिन भए पनि निकै न्यानो बनायो हामीलाई । तर केही बेरमा घर आईपुग्दासम्म भने त्यो घाम निकै मधुरो भइसकेको थियो ।
 
टेक्सासवासी नेपाली साथीहरुको फोन र मेसेज आउथ्यो सबैको समस्या उस्तै थियो । तर फोन नेटवर्कले काम नगर्दा जवाफ पनि दिन सकिएको थिएन ।
 
घर त पुगियो उही चिसो कोठा ! बिरामीबाट भर्खर उठेका बुढालाई तातो झोल र सुपहरु खान दिनु पर्नेमा बेलुका चिउरा र उही बाँकी चिसो चिकेनकरी खाएर सुत्ने कुरा भयो । मन कटक्क काटियो । यसो हेरें फायर प्लेस ( जाडोमा आगो बालेर ताप्ने ठाउँ ) गजधम्म सजिएर बसेको छ । यसको प्रयोग किन नगर्ने ? उहाँलाई भनेको मान्दै मान्नु भएन । रिस्क नलिउ भन्नुभयो । हुन पनि हामीले त्यो फायर प्लेस कहिले प्रयोग गरेका थिएनौ । मनमा मलाई पनि डर नलागेको कहाँ हो र ? तर आगो बाल्ने ठाउँ हुँदै हो , चिम्नी छदैछ , मैले रिस्क लिने हिम्मत गरें । उहाँ झपक्क निन्द्रा लाग्यो भनेर सुत्न गएको मौका छोपी बारीबाट ढुङ्गा ल्याई चुल्हो बनाए । अनि घर भित्रका सुकेका टुक्राटुक्री दाउरा , बाहिर बारीको केही चिसो झिंगटी दाउरा मिसाएर आगो बालें । आगो दनदन बल्यो । धुँवा हुन्छ कि भन्ने डर थियो , भएन । आगो बालेको र निभी सकेको केही बेरसम्म ढोका खुल्लै छोडिदिएँ । एकैछिनमा चिया पाक्यो । सुतेर उठ्ने वितिक्कै तातो चिया खान पाएपछि उहाँ पनि दंग पर्नुभयो । जानीहाले , अनि बेलुका सालमन माछा फ्राई गरी तातो तातो हामी दुबैले खायौं । एकछिन त घरमै वनभोजको जस्तो रमाइलो अनुभव भयो । पेट तातो भएपछि निन्द्रा पनि मज्जाले परिहाल्यो । भोलिपल्ट बिहान भात यही चुल्होमा पकाउने शुरले निश्चिन्त थिएँ , तर बत्ती आएछ ।
 
हामीलाई त चुल्हो बाल्ने केही अनुभव थियो र परिस्थिति बुझेर चल्न सक्यौं । यही जन्मे हुर्केकाहरुलाई कति अपठ्यारो पर्यो होला !

सबैभन्दा बढी मनमा लागेको कुरा चाहीं यति मेहनत गर्छौ , कमाउँछौं , बिल तिछौं तर जतिबेला हामीलाई अति आवश्यक थियो त्यो हिटरको , पानीको , फोन नेटवर्कको त्यहीबेला यसको सुख सुविधाबाट वञ्चित हुनु पर्दा चाहीं लाग्दो रहेछ , यो विज्ञान , के विज्ञान !

विज्ञानले मानिसलाई प्रकृतिबाट टाढा मेशिनमुखी बनाएछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया