मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गाली होइन, माया गरौं

गाली होइन, माया गरौं

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डे अर्थात ‘प्रेम दिवस’का रुपमा मनाउने प्रचलन संसारभर ह्वात्तै बढेको छ। सूचना प्रविधिको विकासले ल्याएको परिवर्तन संगसंगै सामाजिक संजालको बढ्दो प्रयोगले पश्चिमा क्रिश्चियनहरुको पर्वको रुपमा रहेको ‘भ्यालेन्टाइन्स डे’ अब पूर्वीय संस्कृतिमा अभ्यस्त मुलूकहरुमा समेत ताम-झामका साथ मनाउन थालिएको छ।
 
कसरी मनाउन शुरु गरियो भ्यालेन्टाइन्स डे?

यति धेरै लोकप्रिय र केही देशहरुमा बिवादित भ्यालेन्टाइन्स डे कहिलेबाट मनाउन शुरु गरियो भनेर भरपर्दो तथ्य नभएपनि इशाको पाँचौं शताब्दी (४९६) मा पहिलो पटक मनाउन थालिएको भनाई पाइन्छ। तत्कालीन बेलामा रोमन सभ्यतामा फेब्रुवरीको मध्यतिर मनाइने रोमन-चाड ‘लुपर्सेलिया’’लाई नै रोमन चर्चहरुले पछि गएर ‘भ्यालेन्टाइन्स डे’को रुपमा मनाउन थालेको भनिन्छ। त्यो बेला लुपर्सेलियामा केटाहरुले एउटा बक्स भित्र राखिएको केटीहरुको नाम निकाल्ने र त्यही केटीलाई गर्लफ्रेण्ड बनाउने र केहीको आपसमा बिवाह समेत हुने चलन थियो।
 
विभिन्न कथनहरु सु्न्न पढ्न पाइने भएपनि इशाको तेश्रो शताब्दीतिर प्राचीन रोमन शासक क्लाउडियस दोश्रोले युवाहरुलाई बिवाह गर्न प्रतिबन्ध लगाएका थिए भनिन्छ। उनको के विश्वास थियो रे भने बिवाह गरेका युवाहरु सबल र गतिला सैनिक हुन योग्य हुँदैनन्। त्यसैले, उनीहरुले बिवाह गर्नु हुन्न। उनको प्रतिबन्ध तत्कालीन रोमन चर्चका एक भ्यालेन्टाइन नाम गरेका पादरीलाई चित्त बुझेनछ। मायालु जोडीहरुको लुकीछिपी बिवाह गराइदिएको थाहा भएपश्चात उनलाई मृत्यदण्ड हुने गरी जेल पठाइयो। जेलमा रहँदा जेलरकी छोरीसंगै उनको माया बस्यो। पछि उनलाई मृत्यदण्ड दिन लगिनु अघि उनले जेलरकी छोरीलाई एउटा प्रेम पत्र लेखे- ‘फ्रम योर भ्यालेन्टाइन’। माया गर्ने जोडीको पक्षमा लागेकै कारण शहीद भएका एक प्रेमीको सम्झना-स्वरुप ‘सेन्ट भ्यालेन्टाइन्स डे’ मनाउन शुरु गरेको हो भन्ने भनाई पाइन्छ। एक हजार पाँचसय २४ बर्ष पहिलेको मायाको कथा बोकेको सेन्ट भ्यालेन्टाइन्स डे अब क्रिश्चियनहरुबीच मात्र सीमित छैन।
 
नेपालमा भ्यालेन्टाइन्स डे- प्रणय दिवस

नेपालमा सन् ९० को दशक पछिबाट मात्र भ्यालेन्टाइन्स डे मनाउने प्रचलन बढेको पाइन्छ। काठमाण्डू लगाएतका केही पर्यटकीय सहरहरुमा फाट्टफुट्ट मनाउने गरिएको प्रेम-दिवस १९९० को जनान्दोलन पश्चात सहरिया संस्कृति नै बन्न थालेको छ। इन्टरनेटको पहुँच विस्तार र फेसबुक लगाएतका सामाजिक संजालको प्रयोगमा बढोत्तरीसंगै माया आदान-प्रदानका गतिविधिले सार्वजनिक थलोहरु ओगट्न थालेको छ। हालैका बर्षहरुमा स्मार्ट फोनको प्रयोग बढेकाले प्रेम दर्शाउन थरी-थरीका ‘एनिमेटेड्’ सन्देशहरु पठाउने प्रचलन अचाक्ली बढेको देखिन्छ। उपहार सामग्रीहरुले सजिएका स्टोरहरुमा युवा-युवतीहरुको घुईंचो लाग्न थाल्छ। रातो गुलाफ, पानपाते संकेत सहितका टेडिज, ‘हार्टसेप्ड’ चकलेट, कार्ड लगाएतका महंगा उपहारहरु समेत साट्ने चलन अचेल सहरियाहरुमा निकै देखिन थालेको छ।
 
देखासिकी कै लागि भएपनि महँगा होटल, रेष्टुरेण्ट, डिस्कोथेक र पार्कहरुमा युगल-जोडीहरुको बाक्लो जमघट हुन थालेको छ। सहर-बजारमा मात्र नभएर अचेल ग्रामिण भेगका नेपालीहरु पनि भ्यालेन्टाइन्स डे संस्कृति भित्र्याइरहेका छन्। अन्तराष्ट्रिय व्यापारिक संजालले यति धेरै प्रचार-प्रसार गर्दछ कि केही बर्षदेखि संकुचित सामाजिक व्यवहार भएका देशहरुमा पनि यो प्रमुख पर्वको रुपमा स्थापित भैसकेको छ र करोडौंको आर्थिक कारोबार गराइरहेको छ।
 
भारतमा पनि सन् ९० को दशक तिरबाट मात्र भारतमा पनि भ्यालेन्टाइन्स डे’ले लोकप्रियता पाउन थालेको हो। परम्परावादी हिन्दु संस्कृतिका संकुचित सामाजिक चालचलनहरु भएको भारतीय समाजमा एमटिभी लगाएतका व्यापारिक प्रशारण माध्यमहरुले स्थान दिन थालेपछि युवाहरुमा यसले चासो बढाएको हो। अहिले सामाजिक संजाल र इन्टरनेटको प्रयोगमा भएको बृद्धिसंगै भ्यालेन्टाइन्स संस्कृति पनि बढ्न थालेको छ। एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा पश्चिमाहरुको महत्वपूर्ण पर्व- भ्यालेन्टाइन्स डे’ले हालैका बर्षहरुमा यति धेरै लोकप्रियता पाएको छ कि त्यहाँका परम्परावादी शक्तिहरु समेत यसको विरोधमा खासै सशक्त हुन सकेका छैनन्।
 
अमेरिकामा भ्यालेन्टाइन्स डे

पश्चिमा देशहरुमा त यसको प्रभाव छँदै थियो, झन् आधुनिकता संगै यसले व्यापार बृद्धि समेत गराइरहेको छ। हालैका बर्षहरुमा अमेरिकामा भ्यालेन्टाइन्स डे’का अवसरमा करीब २०० मिलियन भ्यालेन्टाइन्स कार्ड आदान-प्रदान हुने गर्छ भनिन्छ। त्यसबाहेक स्कूले केटा-केटीहरुले आपसमा आदान-प्रदान गर्ने लाखौं कार्डहरु गन्ति मै आएका हुन्नन्। अमेरिकीहरुले गतबर्ष २० अर्ब डलर बराबरको कार्ड लगाएतका उपहार सामग्री खर्च गरेको आँकडा सार्वजनिक भएको छ। नयाँ बर्षको लगत्तै अमेरिकी स्टोरहरुमा सजिने भ्यालेन्टाइन्स उपहार सामग्रीहरुको मात्रा यति धेरै हुन्छन् कि सबै अमेरिकी बजार र उपभोक्ताहरु भ्यालेन्टाइन्स सामग्री बेच्न र किन्न मात्र व्यस्त छन् जस्तै भान हुन्छ। फेब्रुवरीको पहिलो साताबाट त प्रमुख व्यापारिक स्टोरहरु भ्यालेन्टाइनमय नै लाग्छन् र मान्छेहरु आफना मायालुहरुलाई मनपर्ने उपहार किन्न तँछाड्-मछाड् गरिरहेका हुन्छन्।
 
मुश्लिम देशहरुमा भ्यालेन्टाइन्स डे

अधिकांश देशहरुमा लोकप्रिय भएपनि केही मुस्लिम बाहुल्य देशहरुले भने अझै सार्वजनिक स्थानहरुमा भ्यालेन्टाइन्स डे मनाउन र त्यससम्वन्धी सबैखाले सामग्रीहरुको बेचबिखन र प्रचार-प्रसारमा कडाइ गरिएको पाइन्छ। सार्वजनिक स्थानमा बाहेक अचेल साउदी अरेबियामा भ्यालेन्टाइन्स डे मनाउन र सामग्रीहरु किन्न सकिने भएको छ। इरान, पाकिस्तान, इण्डोनेसिया मलेशिया लगायतका देशहरुमा पनि इस्लाम संस्कृतिलाई भड्काउन सक्ने भन्दै सार्वजनिकरुपमा भ्यालेन्टाइन्स डे मनाउने गतिविधिलाई नियन्त्रण गर्ने सरकारी तथा स्थानीय कट्टरपन्थी धार्मिक समुहहरुको प्रयास रहँदै आएको सुनिन्छ। तर पनि युवापिंढीहरुमा भने माया-साट्ने पर्व बिस्तारै लोकप्रिय हुन थालेको बीबीसी लगाएतका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएकाछन्। बीबीसीको टिप्पणीलाई मेरा इरानी सहकर्मी सैयदले समेत पुष्टि गरेकाछन् कि उनको देशमा भ्यालेन्टाइन्स डेसंग सम्बन्धित सामग्रीहरु लुकिछिपी बेचिन्छन्। युवाहरुमा भने विस्तारै भ्यालेन्टाइन्स डे क्रेज बढ्दो छ।
 
गाली होइन, माया गरौं।

अमेरिकामा आफ्ना विरोधीहरुप्रति कटु वचन बोल्ने र लेख्ने राष्ट्रपतिलाई जनमतले पदबाट हटाएको छ। राष्ट्रपतीय मर्यादालाई बुझेका जो बाइडनको कार्यकालले अमेरिकी दम्भ होइन संसारभर शान्ति र भाइचाराको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
 
जनम्भूमि नेपालमा जारी आन्दोलन र नेताहरुका सार्वजनिक अभिव्यक्ति सभ्य समाजमा प्रयोग हुने खालका छैनन्। आपसी गाली-गलौजको प्रतिस्पर्धा देख्दा यस्तो लाग्छ कि उनीहरु मन्चमा उक्लने भनेकै आफू इतरकाहरुलाई खुइल्याउनका लागि हो। केही हप्ता अघिसम्म एउटै पार्टीमा भएकाहरु अहिले एक आपसमा सत्तो-सराप गर्दैछन्। राम्रो बोलेर, आपसमा सम्वाद र सद्भाव साटेर पनि फरक मतलाई अभिव्यक्त गर्न सकिन्छ भन्ने विश्वास हटे झैं लाग्दछ।
 
त्यसैले नेपाली नेताजी र उहाँहरुका सकल कार्यकर्ता गणलाई एउटा आग्रह छ— फोहोरी राजनीति र आपसी गाली-गलौज छोड्नुहोस्, माया गर्न सिक्नुहोस्। नेपाल र नेपालीलाई गाली होइन, माया चाहिएको छ।
 
‘सेन्ट भ्यालेन्टाइन्स डे’का पक्षपातीहरुको खुसी र उल्लासमय माया आदान-प्रदान अझै मौलाओस्। विरोधीहरुले पनि यसको सकारात्मक पाटोका बारेमा चिन्तन-मनन् गरुन्।
 
ह्याप्पी सेन्ट भ्यालेन्टाइन्स डे। प्रेम-दिवसको शुभकामना। माया रोपौं, माया फलाऔं । माया माया साटौं, माया बढाऔँ। र अन्त्यमा, सबैले गाली होइन, माया गरौं।