मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

महारानी : इतिहासको खानी [उपन्यास]

महारानी : इतिहासको खानी [उपन्यास]


विसं २०७६ सालको मदन पुरस्कार ऐतिहासिक उपन्यास ‘महारानी’ले प्राप्त गर्‍यो । खासै चर्चामा नरहेको यस कृतिले मदन पुरस्कार प्राप्त गरेपछि भने स्वदेश र विदेशमा राम्रै चर्चा पायो । फलतः नेपाली साहित्यका बहुसंख्यक पाठकहरूको ध्यान आकृष्ट गर्न यो ऐतिहासिक उपन्यास सफल भयो ।  इतिहासको विद्यार्थीका नाताले प्रस्तुत उपन्यासले मलाई पनि आकर्षित नगरिरहन सकेन । अतः इतिहासको विद्यार्थीका नाताले मैले यस उपन्यासलाई ऐतिहासिक दृष्टिकोणले समीक्षा गरी पाठकहरुसमक्ष इतिहास र साहित्यबीचको सम्बन्ध र प्रस्तुत उपन्यासको ऐतिहासिक महत्त्वका बारेमा केही खुराक पस्कने प्रयास गरेको छु । 

 
इतिहास र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध रहँदैआएको छ । वास्तवमा भन्ने हो भने साहित्यको उद्भव नै ऐतिहासिक घटनाहरुको बृत्तान्तबाट भयो भन्दा अतिसयोक्ति हुन्न । ऐतिहासिक अध्ययनले पनि के देखाउँछ भने पहिले पहिले मानिसहरुले विभिन्न पुराण, बाइवल, अथवा अन्य धर्मग्रन्थहरुमा वर्णित कथाहरुको बाचनसँगै साहित्यको विकास हुँदै गएको देखिन्छ । यस्ता वर्णनहरुले समकालीन घटनाक्रमहरुलाई पनि चित्रित गरिरहको हुन्थ्यो । इतिहास र साहित्य दुवैमा तत्कालीन समयमा मानिसहरुमा रहेका भावना, संवेदना, सोचाइहरुले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।  
 
इतिहासलाई बुझ्न तत्कालीन समय सन्दर्भलाई बुझ्न जरुरी हुन्छ भने साहित्यलाई बुझ्न पनि समकालीन सन्दर्भ र परिवेशलाई बुझ्न अत्यावश्यक हुन्छ । भनिन्छ सन्दर्भ र परिवेशलाई नबुझी साहित्यको अध्ययन गर्नु भनेको हिमशिखरलाई परैबाट अवलोकन गर्नु मात्र हो जसले आनन्द त दिन्छ तर शिखरमा पुगेर प्राप्त गरिने आत्मसन्तुष्टि र वास्तविक ज्ञान तथा अनुभव भने प्राप्त गर्न सकिँदैन । अतः साहित्यिक कृतिहरू इतिहासका स्रोत हुन् भने ऐतिहासिक तथ्य र घटनाहरुले साहित्यको सिर्जनामा योगदान पुर्‍याइरहेको हुन्छ । यी दुवै विधाले मानव जीवन र घटनाक्रमहरुलाई नै सुन्दर ढङ्गले चित्रण गर्दछन् । 
 
साहित्यको एक सशक्त विधा हो उपन्यास जसलाई समकालीन समयको ऐना भन्ने गरिन्छ । ऐतिहासिक घटनाहरुलाई उपन्यासकारले उपन्यासको विषयवस्तुका रुपमा ग्रहण गर्दछ भने इतिहासकारले साहित्यभित्रबाट ऐतिहासिक तथ्यहरु उत्खनन् गर्ने कार्य गर्दछ । यस्ता ऐतिहासिक विषयवस्तुसँग सम्बन्धित उपन्यासबाट प्रवाहित सूचना तथा तथ्यलाई इतिहासको स्रोतका रूपमा उपयोग गर्दा इतिहासकारहरू सजग तथा इमानदार हुनु भने वाञ्छनीय छ । ऐतिहासिक उपन्यासलाई इतिहासको स्रोतका रूपमा लिन हुने वा नहुने भन्ने विषयमा इतिहासकारहरू बीचमै मतैक्यता पाइदैन । तर पनि यसबाट प्राप्त हुने ऐतिहासिक जानकारीलाई भने अस्वीकार गर्न सकिदैन । विशेषतः यसले समकालीन समाज, सामाजिक प्रथा र व्यवस्था, जीवनयापनका तौरतरिकाहरु, भाषा र संस्कृतिका बारेमा जुन जानकारी दिन्छ त्यो इतिहासकारका लागि ऐतिहासिक घटनाहरुको व्याख्या विश्लेषणका लागि उपयोगी हुन सक्दछ । जुन इतिहासका अन्य स्रोतबाट प्राप्त हुन सक्दैनन् । एलस्टायर म्याकडोनाल्ड टेलरले ऐतिहासिक उपन्यासहरू इतिहासका स्रोत हुन सक्ने विषयमा वस्तुनिष्ठ मूल्याङ्कन गरेका छन् । चाल्र्स डिकेन्सको अ टेल अफ टु सिटिज, जेम्स क्लेभेलको सगुन, लियो टाल्सटायको वार एन्ड पिस, एलेक्स हेलेयको सट्सः दि सागा अफ एन एमेरिकन फेमिली, बलदेवप्रसाद मिश्रको अनारकली तथा गंगाप्रसाद गुप्ताको नुरजहाँ आदि विश्वप्रसिद्ध ऐतिहासिक उपन्यासहरू हुन् । यी उपन्यासले तत्कालीन समाज र समयको सामाजिक, आर्थिक तथा राजनैतिक पक्षको राम्रो प्रकाश पारेका छन् ।
 
ऐतिहासिक उपन्यास लेखनका क्षेत्रमा नेपाल पनि अगाडि नै रहेको देखिन्छ । विसं २०७४, २०७५ र २०७६ सालको मदन पुरस्कार प्राप्त गरेर ऐतिहासिक उपन्यासले एउटा इतिहास नै निर्माण गरेको छ ।  यस तथ्यले पनि नेपाली स्रष्टा, पाठक र समाजको ऐतिहासिक उपन्यासप्रतिको आकर्षण उत्साहजनक रहेको देखाउँछ । ऐतिहासिक उपन्यासकारमा डायमण्डशमशेर (वसन्ती, सेतोबाघ, प्रतिबद्ध, सत्प्रयास), मोहनबहादुर मल्ल (बहादुर नजर), सुन्दरप्रताप शाह (बहादुर शाह), श्रीप्रसाद घिमिरे (द्रव्य शाह, पृथ्वीनारायण शाह, महासामन्त), टुकराज मिश्र (रिडी राँची : रुँदै हाँस्दै), रामकृष्ण कुँवर राणा आदिको नाम आउँछ । नेपालको तत्कालीन सामाजिक अवस्थाको चित्रण कृष्ण धारावासी (झोला), अमर न्यौपाने (सेतो धर्ती) जस्ता उपन्यासकारहरूले आफ्ना उपन्यासमा सुन्दर ढङ्गले गरेका छन् । नीलम कार्की निहारिकाको योगमाया तथा योगेशराजको रणहार जस्ता ऐतिहासिक उपन्यास पनि यस सन्दर्भमा उल्लेख गर्नैपर्ने उपन्यास हुन् । यसै पृष्ठभूमिमा आएको चन्द्रप्रकाश बानियाँको महारानी उपन्यास नेपालको इतिहासका विविध पक्षमा प्रकाश पार्दै लेखिएको पछिल्लो महŒवपूर्ण कृति हो ।
 
सबल खस राज्यको अवसानपछि सत्रौँ अठारौँ शताब्दीतिर हालको नेपाल अधिराज्यमा बाइसी र चौबिसीका अतिरिक्त काठमाडौँ उपत्यकालगायत टुक्रे राज्यहरूको बाहुल्यता थियो । यी ससाना राज्यको सङ्ख्या भने थपघट भइरह्यो । तिनै राज्यहरूमध्ये पश्चिम नेपालमा पर्वत राज्य एक बलियो मल्लवंशीय राज्य थियो । सोही पर्वत राज्यको सेरोफेरोमा महारानी उपन्यासको कथावस्तु केन्द्रित छ । त्यस समयमा पूर्वदेखि पश्चिमसम्मकै नेपालको पहाडी प्रदेशमा समान किसिमको आर्थिक सामाजिक परिवेश भएकाले तत्कालीन नेपालको पहाडी भूभागको समेत यस उपन्यासले प्रतिनिधित्व गरेको छ । 
 
नेपालका बाइसी तथा चौबिसी राज्यहरूमा आपसी समन्वय र समझदारीको सर्वथा अभाव थियो । आपसमा लडाइँ भिडाइँ भई नै रहन्थ्यो । प्रस्तुत उपन्यासले यस अवस्थाको राम्रो चित्रण गरेको छ । राज्यमा राजा, युवराज, महारानी, मूल काजी तथा भारदारहरूको भूमिका र कार्य विषयमा भारदारी सभाको वर्णन, राजाउपर राजगुरुहरूको प्रभाव जस्ता वर्णनले तत्कालीन राजनीतिक अवस्था बुझ्न यो औपन्यासिक कृति सहयोगी भएको छ । सामान्यतया राजाको जेठो छोरो नै राजा हुने प्रचलन भए तापनि कतिपय राजाहरूले राज्यलाई अंशवण्डाका रूपमा छोराहरूलाई राज्य बाँडेर राज्यको विभाजन  गरेका दृष्टान्त पाइन्छन् । अरू त के कुरा काठमाडौँ खाल्डो पनि पहिले चार र पछि तीन राज्य बनेको थियो ।  
त्यतिबेला राजाका अनेकौँ विवाहिता रानी हुन्थे । जुन रानीबाट पहिले छोरो जन्म्यो उही नै युवराजको घोषित भई राजगद्दीको उत्तराधिकारी बन्न पुथ्यो । कहिलेकाहीँ कुनै रानीबाट सात महिनामा नै बच्चा जन्मिदा गर्भको जेठो नै युवराज घोषित हुनुपर्ने विषयमा विवाद पनि भएका देखिन्छन् । पर्वत राज्यमा पनि भद्रिबम गर्भको हिसाबले जेठो छोरो भएको हुँदा राज्यमा उसैको हक लाग्ने विषयमा विवाद उठेको थियो । यही विवादबाट उत्पन्न भएको बखेडा नै उपन्यासको मूल विषयवस्तु बनेको छ । भद्रिबम काल्पनिक पात्र पनि हुन सक्छन् तर यस्ता विवाद तत्कालीन राजनीतिमा देखापरेका थिए । पृथ्वीनारायण शाह सात महिनामा जन्मेका र उनीपछि वृन्दकेशर शाह जन्मेकामा पनि गर्भको जेठोको राज्यमा अधिकार हुने विषय उठेको थियो ।
 
नेपालमा प्राचीन कालदेखि नै डोलाजी प्रथाको अस्तित्व थियो । युवराजका लागि विभिन्न राजघरानाका कन्या हेरी जुराई जाँची डोला झिकाउने र दरबारमा राखी शिक्षादीक्षा तथा तालिम दिने र पछि विवाह गर्ने चलन थियो । यस प्रथामा कन्यालाई डोला झिकाउने प्रचलन भएकामा यदाकदा कुमारलाई पनि डोला बनाई राज्यको उत्तराधिकारी बनाएका दृष्टान्त पनि पाइन्छन् । जयस्थिति मल्ल यसरी नै राजा भएका थिए । बाइसी चौबिसी राज्य हुँदा त्यहाँका सबल राज्यहरूले डोला झिकाउँथे भने कमजोर हैसियत भएकाले विवाह गर्न तत् स्थानमा नै जाने चलन थियो । गोरखाका युवराज पृथ्वीनारायण शाहले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रराज्यलक्ष्मीसँग विवाह गर्दा डोला झिकाउन पाएनन् । उनले आफैँ जन्ती लिएरै मकवानपुर जानुपरेको थियो । 
 
युवराजलाई विवाह गर्ने कन्या खोजी गर्नका लागि सम्बन्धित राज्यका राजाले लिएको नीति तथा कार्यविधि र संयन्त्रको महत्त्वपूर्ण सूचना प्रस्तुत उपन्यासले प्रवाह गरेको छ । पर्वत राज्यले गोप्य रूपमा कास्की, लमजुङ, खाँची, पाल्पा, गोरखा जस्ता ठाउँमा आफ्ना दूत पठाएको, उनले दिएको विवरणअनुसार टुङ्गो लगाउन भारदारी सभा बसेको, नरिवल पठाएको, जनै सुपारी स्वीकार गरेको जस्ता विवरणबाट विवाहपूर्वका सामाजिक रीतिथिति बुझ्न सकिन्छ । यस्ता राजघरानाका बीच हुने वैवाहिक सम्बन्धमा राजनीतिक उद्देश्य र स्वार्थसमेत गाँसिएको हुन्थ्यो । आपसी शत्रुता र खिचातानीकै कारण कालान्तरमा बाइसी र चौबिसी राज्यहरू नव नेपालमा गाभिन पुगेका थिए । उनीहरूमा एकता र समन्वय भएको भए त्यति सानो गोरखा राज्यले प्रारम्भ गरेको विजय अभियान अपेक्षाकृत सफल हुने थिएन । बाइसी र चौबीसी राज्यमा जाडो तथा गर्मीको समयका लागि अलग अलग दुई राजधानी हुने प्रचलन भएको तथ्य पनि यस उपन्यासमा उजागर भएको छ । उपन्यासमा तत्कालीन धर्म, आचरण, रहनसहन, जनविश्वास तथा जातीय प्रथा जस्ता समाजका विविध पक्षमा शसक्त वर्णन गरिएको छ जसबाट सामाजिक इतिहासका अध्येतालाई राम्रो खुराक मिलेको छ ।
 
नेपाली पहाडे समाजमा पर्दाका जन्ती मर्दाका मलामी भन्ने उखान चलेको थियो । गाउँघरमा परेको बेलामा जे जस्तो सहयोग गर्न पनि तत्पर रहने र आफ्नो गाउँको प्रतिष्ठा इज्जत राख्न सबै एक हुने दृष्टान्त उपन्यासमा पाइन्छ । कुनै अर्को गाउँबाट जन्ती आउने हुँदा केकस्तो व्यवहार गर्ने भन्ने विषयमा भएको छलफलबाट तत्कालीन समयमा समुदायमा रहेको एकता र समन्वयको झल्को पनि पाइन्छ ।
 
नेपाली समाजमा अहिले हराउँदै गएका तर कुनैबेला समाजले अङ्गीकार गरेका पाइतो सार्ने, लुतो फाल्ने, मरेको मान्छेको दोष भगाउने, देवीदेवतालाई मन्साउने, रोग लागेमा धामीझाँक्री बसाउने, बिफर ठेउला भगाउन पूजा गर्ने तथा बलि दिने जस्ता तत्कालीन संस्कृतिको वर्णनबाट सामाजिक इतिहास बुझ्न उपन्यास निकै सहयोगी हुन पुगेको छ । 
 
ठकुरी र मगर जातिमा फुपूचेला मामाचेली बीच विवाह हुने परम्परा चलिआएको इतिहासले बताउँछ । अझ भन्ने हो भने मामाकी छोरीमा फुपूको हक लाग्ने भन्ने भनाइ पनि छ । यसमा विशेष किसिमको रीतिरिवाज नभएको तर फुपूको छोराबाहेक अरूको छोरालाई विवाह प्रस्ताव पठाउँदा नरिवल पठाउने र यसैगरी मामाकी छोरीबाहेक अरूलाई विवाहको प्रस्ताव पठाउँदा जनैसुपारी पठाउने चलन रहेको चर्चा उपन्यासमा भएको छ ।
 
नेपालका शासकहरू गंगाको समथर मैदानबाट भनौँ या हिन्दुस्तानको समथर भूभागबाट नेपाल प्रवेश गरी अनुकूल स्थितिको अवसर उठाई राजा हुन पुगेका थिए । जसलाई पछि ठकुरी भन्ने गरियो । बाइसी र चौबिसी शासकलाई त मगरका सन्तान हुन् भनी यदाकदा चर्चा गरिएको पनि पाइन्छ । वास्तवमा यी शासकहरूले लघुताभासकै कारण हिन्दुस्तानका राजपुतसँग आफ्नो सम्बन्ध देखाएका हुन् । यसको उदाहरणका लागि राणाहरूको वंशावलीलाई लिन सकिन्छ । उनीहरूले लघुताभासकै कारण राजपुतसँग सम्बन्ध देखाएका छन् । यसैकारण कतिपय बाइसी र चौबिसी राजाहरू मगरकै सन्तान भएको पनि बलियो अनुमान लगाउन सकिन्छ । यस्तै उपन्यासकारले भीरकोटे मगर राजाले जनै धारण गरेर शाह र शाही भएका तथा पाल्पा, मकवानपुर, अर्घा, खाँची र तनहुँका मगर राजाहरू सेन भएका चर्चा गरेका छन् । यसले वंशावलीको कथनलाई काल्पनिक र वंशबखान गर्ने उद्देश्यले रचिएको भन्ने शंका गर्ने प्रशस्त गुन्जायस दिएको छ ।
 
जार काट्न पाउने व्यवस्था नेपाली समाजमा परम्परादेखि चलिआएको थियो । यस विषयमा विसं १९१० को मुलुकी ऐनमा समेत उल्लेख भएको छ । यस विषयमा जारी तिरेर जारबाट उन्मुक्ति पाउने व्यवस्था पनि थियो । तर, जारी नबुझी काट्न रोज्ने प्रवृत्तिका विषयमा भारदारी सभाको निर्णय रोचक देखिन्छ । यसैगरी ज्यानको बदला ज्यान लिने प्रचलनमा विशेष परिस्थिति र भवितव्यमा परी ज्यान गएकोमा ज्यान समाजबाट छुटकारा दिने विषयमा गरेको भारदारी निर्णयबाट तत्कालीन न्याय व्यवस्था बुझ्न सहयोग मिलेको छ ।
 
शान्तिकाल होस् वा युद्धकाल अर्थात् समाजमा जुनसुकै बेलामा पनि गाइनेहरूको आफ्नै महत्त्व थियो । युद्धको समयमा वीरताको गाथा तथा देशको माया जस्ता राष्ट्रभक्तिपूर्ण गाना गाई आपतकालबाट मुलुकलाई जोगाउन गाइनेको विशेष भूमिका रहन्थ्यो । त्यति मात्र नभएर आपतकालमा देशदेशावरमा गीत गाउनका लागि गाइनेहरू पुग्दा नवीन समाचार पनि आदानप्रदान गरेको र यदाकदा गुप्तचरको कार्य समेत गरेको प्रसङ्गलाई लेखकले जीवन्त गराएका छन् ।
 
तत्कालीन समाजमा फुर्सदको समयमा सामूहिक गफगाफ हुँदाको प्रसङ्ग पनि रोचक छ । गाउँघरमा असल गाईभैँसी कसका छन् ? बाख्रापाठा कसका सप्रिएका छन् ? कसका छोराछोरीको विवाह व्रतबन्ध भयो ? कसका बाँकी छन् ? कसको घरमा कति मुरी धान भित्रियो ? कसको घरमा मकैका थाक्रा ठूला छन् ? आदि विषयको चर्चाले तत्कालीन समाजको आर्थिक र सामाजिक स्थितिमा प्रकाश पारेको छ ।
 
गाउँघरमा सरकारका तर्फबाट सूचना वा आदेश प्रसारण गर्न कटुवाल नियुक्ति गरिएका हुन्थे । यिनै पदका कारण सबैले कटुवाल थर लेख्ने प्रचलन सुरु भयो । हाल नेपालका कटुवालहरू अधिकांश क्षेत्रीय कहलाएका छन् । क्षेत्रीहरूबाहेक अरू कटुवालमा नियुक्त हुन्थे वा हुँदैनथे ? अन्य जातिका कटुवालमा नियुक्त भएका भए किन कटुवाल थर लेखेनन् ? यस विषयमा शोध हुनु आवश्यक देखिन्छ । उपन्यासमा कटुवालको भागमा राँगाको टाउको परेको चर्चा हुँदा क्षेत्रीयबाहेक अरूले नै कटुवालको काम गरेका थिए कि भन्ने अनुमान गरिएको हो । प्युठानकै फलाम प्रयोग गरी हातहतियार निर्माण गरेको प्रसङ्गले त्यस समयमा स्थानीय हातहतियारको आपूर्ति गर्ने कार्यमा स्वदेशी सीप विकसित भएको देखाउँछ ।
 
उपन्यासमा त्यसबेला चलेका उखान टुक्काहरूको प्रयोग पनि भएको छ । हुन त ती उखान यद्यपि नेपाली समाजमा चलनचल्तीमा नै रहेका छन् । अनुहारमा गुराँस फुलेको, आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको, अघि हेर्नु चार हात पछि हेर्नु बाह्र हात, काँल्दाइकी छोरी हामी सबैकी चेली, सिंह र दाह्रा हुन्या जनावर, आगो र राजाको भर नपर्नू, हावा नचली पात हल्लिदैन, दन्त्यकथाको कन्जुस, कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ, बाघ कस्तो हुन्छ भनिकन जान्ना खातिर बिरालो हेर्नु शत्रु कस्तो हुन्छ भनिकन जान्न आफ्नै भाइ हेर्नु, रिस खा आफू बुद्धि खा अर्को, आफ्नै गोजीको खट्टे मीतसँग मागिकन खान्या जस्ता उखानको प्रयोगबाट यसको सान्दर्भिकता बुझ्न सकिन्छ । उपन्यासमा प्रयोग भएको भाषाबाट उक्त समयमा नेपाली भाषाको स्थिति र भाषिक विकासको बारेमा राम्रो जानकारी मिल्दछ ।  
 
लेखकले यो कृति तयार पार्दा आफूलाई पनि सोही समयमा पुर्‍याउने प्रयास गरेका छन् । यद्यपि चिनी, टेबुल, तुम्लेट, ताली बजाउनु जस्ता शब्दावलीको प्रयोग हुनु तत्कालीन समय सान्दर्भिक देखिँदैन । शासकलाई बढी उदार देखाइनु भारदारी सभा सशक्त भएको देखाइनु, पर्वत राज्यको हैसियतलाई अतिशयोक्तिका साथ वर्णन गरिनु कता कता नमिलेको जस्तो प्रतीत हुन्छ । युवराजलाई शिक्षादीक्षा दिन दरबारमा नै पण्डित गुरुहरू नियुक्त हुन्थे तर लेखकले युवराज शिक्षाका लागि गुरुकै घरमा गएको उल्लेख गर्नु पनि त्यत्ति मिल्दो देखिँदैन । 
 
इतिहास र उपन्यास फरक फरक विधा हुन् । उपन्यासकार र इतिहासकारको धर्म र मर्ममा पनि निकै विभेद छन् । यति हुँदाहुँदै पनि ऐतिहासिक उपन्यासहरू इतिहासका स्रोत बन्नै नसक्ने भने होइनन् । इतिहासका पात्र, घटना र समयमा ऐतिहासिक उपन्यास आधारित हुन्छन् । जो काल्पनिक हुँदैनन् तर घटना र पात्रका विवेचना, समीक्षा, विश्लेषण र विशेषणहरू काल्पनिक हुन सक्छन् । ऐतिहासिक उपन्यासले पाठकलाई इतिहास अध्ययन गर्न शिक्षकको भूमिकामा आफूलाई उभ्याउँछ । तर, कतिपय पाठकले उपन्यासलाई नै इतिहासका तथ्य मान्ने हुँदा यदाकदा इतिहासको मर्ममा प्रहार भएको पनि पाइन्छ । नेपालमा ऐतिहासिक उपन्यासकै आधारमा कतिपयले कथ्यलाई तथ्य मान्ने गरेको समेत पाइन्छ । त्यसैले भनिन्छ कि इतिहास इतिहास नै हो कथा कथै हो । तर, कथालाई इतिहासमा र इतिहासलाई कथामा मिसमास गर्दा दुवै विधाप्रति अन्याय हुन्छ । ऐतिहासिक उपन्यासले तत्कालीन राजनीतिकभन्दा पनि सामाजिक साँस्कृतिक इतिहासका विविध पक्षमा प्रकाश पारेको हुन्छ । 
 
नेपाली साहित्यका सर्जक चन्द्रप्रसाद बानियाँद्वारा लिखित उक्त ऐतिहासिक उपन्यासले अवश्य नेपाली साहित्यिक फाँटको श्रीवृद्धि गरेको छ । यस उपन्यासले नेपाली इतिहासका अनेकौँ सूक्ष्म र आधारभूत सूचनासमेत प्रवाह गरेको छ । योगमाया, रणहार र महारानी यी तीनवटै ऐतिहासिक उपन्यासले क्रमशः प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको विषयले नेपाली साहित्यले इतिहासप्रति सम्मान गरेको प्रतीत हुन्छ । 
 
अन्त्यमा महारानी उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई सम्पूर्ण इतिहासप्रेमीका तर्फबाट बधाई ज्ञापन गर्दै यस्तै उपन्यासको प्रतीक्षामा पाठकहरू रहेको जानकारी पनि गराउँछु । 
 
योर्कटाउन, भर्जिनिया
संयुक्त राज्य अमेरिका