मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ट्रम्पद्वारा फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना

ट्रम्पद्वारा फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना


पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्वराष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 
 
“पूर्वराष्ट्रपतिको कार्यालयबाट उनले पूर्वराष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,” उनका सहयोगीहरुले भनेका छन् । सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उनका सहयोगीहरुले जनाएका छन् ।
 
त्यसैगरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ ।
 
नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ । 
 
“राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,” उनको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
 
उनको कार्यालयको नामलाई आधार मान्दा उनी सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्नु छैनन् भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर, उनी र उनका सल्लाहकार तथा सहयोगीहरुले भने यस बारेमा स्पष्ट पारेका छैनन् ।
 
यही जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्वराष्ट्रपति ट्रम्प सोमबारसम्म मौन रहेका थिए । सामाजिक सञ्जाल ट्वीटरले समेत उनको ट्वीटर खाता खारेज गरिदिएकाले पनि उनलाई सार्वजनिकरुपमा टीकाटिप्पणी गर्ने माध्यमको अभाव भएको थियो । 
 
अमेरिकी संसदमा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि ट्वीटरले उनको खाता खारेज गरिदिएको हो । 
 
अनेक विवादका बीच आफ्ना प्रतिस्पर्धी बाइडेनको जीतलाई समेत अस्वीकार गर्दै उनलाई बधाईसमेत नदिई ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिएका थिए । ह्वाइट हाउस छोडे पनि उनले पूर्वराष्ट्रपतिको रुपमा सक्रिय र हस्तक्षेपकारी भूमिका भने खेलिरहने देखिएको छ । एजेन्सी