मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आरोपपत्र फिर्ता गरी निर्वाचनमा आउन ओली समूहको आग्रह

आरोपपत्र फिर्ता गरी निर्वाचनमा आउन ओली समूहको आग्रह


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले माघ २३ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । बागमती प्रदेश संगठन कमिटीको आयोजनामा हुने सभामा सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । 
 
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागिएको हो । सभा मध्याह्न १२ः०० बजे सुरु हुनेछ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त महत्त्वपूर्ण जानकारी दिने श्रेष्ठले बताए । यसअघि यही माघ ९ गते दाहाल–नेपाल समूहले काठमाडौँमा सभा गरेको थियो । 
 
बागमती प्रदेशबाट पार्टी कार्यालय धूम्रबराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले पार्टीभित्र नै काम गर्न नदिएपछि सरकार ताजा जानादेशमा जानु परेको बताए । उनले वर्तमान परिस्थिति कसरी निर्माण भएको हो, सोको जानकारी दिनका लागि सभा राखिएको बताए । उनले सभालाई व्यवस्थित बनाउन सबै तयारी पूरा गरिनेसमेत बताए । 
 
नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकतालाई कायम राख्नका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई लगाएको आरोपपत्र फिर्ता लिनुपर्ने र घोषित आगामी वैशाख १७ र २७ गतेको निर्वाचनमा तयार भएर आउनुपर्नेमा जोड दिए । उनले यी दुई कुरा गरेर आउँदा अहिलेको पार्टीको स्थितिलाई टार्न सकिने बताए । 
 
उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले गरेको निर्णयलाई आफूहरुले सकारात्मकरुपमा लिएको जानकारी दिए । “आयोगले गरेको निर्णयलाई हामी सम्मान गर्दछौँ, हामीले पार्टीबाट कसैलाई पनि निष्कासन गरेका छैनौँ, हामी पार्टी एकताको पक्षमा छौँ”, उनले भने, “हिजो आयोगको निर्णयले पनि नेकपा फुटेको छैन, कसैले पनि चाहेर फुटाउन सक्दैन भन्ने पुष्टि गरेको छ ।” रासस