नेपाल

जनताको सार्वभौमसत्तामाथि आक्रमण गर्नेविरुद्ध उत्रिन प्रचण्डको आग्रह

प्रकाशित |
काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, सङ्घीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताएका छन् ।  
 
बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको र उक्त बहसका कारण संसद् भङ्ग गरिनु अस्वाभाविक भएको बताए । 
 
उनले राम्रो र नराम्रो विचारको जहिल्यै बहस हुने गरेको र अहिले पार्टीभित्रको विवादका विषयले जनताको सार्वभौमसत्तामाथि नै आक्रमण गर्नेका विरुद्ध उत्रिनुपर्ने बेला आएको बताए ।  
 
उनले वर्तमान संविधान आफैँमा पूर्ण नभए पनि अधिकतम रुपले आदिवासी जनजाति तथा पछाडि परेका वर्ग समुदायको अधिकारलाई अधिकांशरुपमा संस्थागत गरेकाले संविधानको संरक्षणमा जुट्न आग्रह गरे ।
 
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा सबै जाति वर्ग समुदायको भूमिका महत्त्वपूर्ण रहेकाले सबैले समानरुपमा अवसर प्राप्त गर्ने हक रहेको बताए । अहिले गणतन्त्र सङ्कटमा परेको टिप्पणी गर्दै उनले गणतन्त्रको रक्षाका लागि सबै एक हुनुको विकल्प नरहेको पनि बताए ।  
 
“पहिले सबै शक्ति र सार्वभौम अधिकार राजकीय संस्थामा नीहित थियो, तर पहिलो पटक यो संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ, यसलाई सबै मिलेर जोगाउनुपर्छ”, उनले भने । 
 
सबै जाति समुदाय र वर्गको पहिलो पटक संविधानले अधिकार संस्थागत गरेकाले संविधानको संरक्षण गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्ने उनले बताए । संविधानले नै निरन्तर परिमार्जन गर्ने व्यवस्था गरेकाले छुटेका थप अधिकार सम्बोधन गर्दै जान सकिने अध्यक्ष दाहालको विश्वास थियो ।  
 
“आफ्नै पार्टीको नेताले संविधान मिच्ने, त्यसको मूल मर्ममाथि प्रहार गरे, यो दुर्भाग्यको कुरा हो”, उनले भने, “अब जनताको अदालतमा गएर संवैधानिक निकायलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आएको छ ।” संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहित भए पनि गलत शैलीमा संसद् विघटन गरिएको उनले आरोप लगाए । रासस
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया