मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : अध्यक्ष प्रचण्ड

संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : अध्यक्ष प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताएका छन् ।  
 
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दाबी गरे ।  प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो सङ्घर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उनले यसलाई हरहालतमा रोक्नुपर्ने बताए । 
 
“कसैले नेपाललाई फेरि अनिश्चयको भूमरीमा लैजाने, मुलुकलाई संविधानहीनताको अवस्थामा पु¥याउने, तानाशाहको हातमा लैजाने प्रयत्न गर्छ भने त्यसलाई रोक्ने दायित्व जनताको हो”, उनले भने । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सञ्चारकर्मीले सङ्घीयता, संविधानसभा र गणतन्त्रको पक्षमा वकालत गरेकै कारण परिवर्तन सम्भव भएको बताए । 
 
परिवर्तनको पक्ष तथा प्रतिगमनको विपक्षमा जनमत निर्माण गर्न पनि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । “जनताको प्रतिनिधिद्वारा लिखित संविधान बचाउनु छ, परिवर्तनलाई जोगाउनु छ, प्राप्त उपलब्धिको रक्षा गर्न सञ्चार जगतको भूमिका बढेर गएको छ”, उनले भने । 
 
प्रधानमन्त्री ओलीले पार्टी कमिटीको बहुमतको निर्णयलाई सहजै स्वीकार नगर्दा पार्टीभित्र समस्या देखिएको बताउँदै अध्यक्ष दाहालले संसद् विघटन गरेर ओलीले नेपाली जनतालाई धोका दिएको बताए । “मैले भनेको छु, तपाईंले बाजी हारिसक्नुभयो । लडाइँ हारिसक्नुभयो । संविधानवाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सार्वभौम नेपाली जनताकाविरुद्ध जब तपाईंले तरबार उज्याउनुभयो, तपाईंले लडाइँ हार्नुभयो, जनताले लडाइँ जित्यो,” उनले भने । 
 
नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्रैबाट नेतृत्वमा पुगेको व्यक्तिबाट जनप्रतिनिधिमूलक संस्था विघटन गरिनु नेपाली राजनीतिक इतिहासमा बिडम्वना भएको बताए ।  
 
मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगत्को उल्लेख्य भूमिका रहेको स्मरण गर्दै उनले सरकारको कदमका विरुद्ध जनतालाई जागृत बनाएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सञ्चारकर्मीलाई आह्वान गरे । 
 
“प्रतिनिधिसभा विघटनबाट सङ्घीयता र परिवर्तन सङ्कटमा परेको छ । यो बेला सही र गलत छुट्याउन सक्नुपर्छ, सत्यको पक्षमा उभिने नै असली नेता हुन्छ, परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको छ”, उनले भने । सुन्दर समाजको परिकल्पना साकार पार्न आन्दोलन सुरु गरिएको र यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक रहेको पनि उनको भनाइ थियो । 
 
लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले संसद् पुनःस्थापना नभएमा संविधानवाद नष्ट हुनेमा कुनै शङ्का नभएको उल्लेख गर्दै प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएको नेकपाले बडापत्र जारी गरेर जनतासमक्ष प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए । “संसद् पुनःस्थापना भएरै छाड्छ, तर पुनःस्थतापना केका लागि भनेर जनतालाई बुझाउन सक्नुपर्छ, यसमा नेतृत्वको प्रतिबद्धता चाहिन्छ”, उनले भने । 
 
तत्कालीन प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले जननिर्वाचित संस्था संसद् विघटन गरेर प्रधानमन्त्रीले मुलुक र जनतालाई धोका दिएको आरोप लगाए । उनले सत्य र न्यायको पक्षमा आवाज बुलन्द गर्न पनि सञ्चारकर्मीलाई आह्वान गरे । तस्बिर : प्रदीपराज वन्त/रासस