मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनमा नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि तथा खाना पुर्‍याउन सफलता

चीनमा नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि तथा खाना पुर्‍याउन सफलता


बेइजिङ । नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको मङ्गलबार चिनियाँ अधिकारीहरूले उद्धारकर्तालाई उद्धृत गरी जानकारी गराएका छन् । 
 
औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशा बढेको उद्धारकर्ताहरूले मङ्गलबार जानकारी गराएका छन् । खानीको करिब ५०० मिटरको गहिराईमा उनीहरू फसेको उल्लेख गरिएको छ ।
 
पूर्वी चीनको शेन्दोङ प्रान्तको यान्ताई नजिकै रहेको सुनखानीमा जनवरी १० मा विष्फोट भई पहिरो खस्दा २२ व्यक्ति खानीभित्र फसेका थिए । उनीहरू खानीबाहिर आउनका लागि बनाएको भ¥याङ भत्किएको र उनीहरू बाहिर निस्किने बाटो अवरूद्ध बनेको थियो ।
 
गत शनिबार खानीभित्रबाट सहयोगका लागि आवाज आएपछि खानीभित्र फसेका कामदारलाई जीवितै उद्धार गर्ने आशा पलाएको थियो । आइतबार उनीहरूसम्म तार पुर्‍याइएको थियो र तारमा श्रमिकले आफूहरूमध्ये करिब एक दर्जन व्यक्ति खानीभित्र पानीले घेरिएको अवस्थामा जीवितै रहेको भन्दै औषधि तथा उद्धारका लागि आग्रह गरेका थिए । खानीमा फसेका १० जनाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको बताइएको छ । पत्रमा आफूहरूमध्ये धेरैजना घाइते भएका उल्लेख गरिएको छ । भोकले निकै कमजोर बनेका दुई श्रमिकले खाना पाएपछि पुनः माथि चढ्ने बल मिलेको समेत फसेका श्रमिकले उद्धारकर्ताहरूलाई सन्देश पठाएका छन् ।
 
उद्धारको काम भइरहे पनि निकै खानीको प्रकृतिले गर्दा प्रगति निकै सुस्त रहेको स्थानीय सहरका एक उच्च अधिकारी चेन फेईले बताए । उनले ग्रेनाइट फोडेर उद्धार गर्नुपर्ने भएकोले सुस्त नतिजा आएको पुष्टि गरे ।
 
फसेका श्रमिकहरू रहेको स्थानमा धेरै पानी भएकाले यो उनीहरूका लागि खतरा हुनसक्ने उनले बताए । चेनका अनुसार खानीमा करिब दुई दिनका लागि खाद्यान्न पठाइएको छ भने सम्पर्कका लागि एउटा टेलिफोन लाइन पनि उनीहरूलाई उपलब्ध गराइएको छ । एजेन्सी