मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

असंवैधानिक कदमलाई साथ दिएर चुनावमा जान सकिँदैन : वरिष्ठ नेता पौडेल

असंवैधानिक कदमलाई साथ दिएर चुनावमा जान सकिँदैन : वरिष्ठ नेता पौडेल


चितवन । नेपाली कांग्रेस चितवनले संसद् विघटनको विरोधमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक कदमलाई साथ दिएर चुनावमा जान नमिल्ने बताएका छन् ।
 
संसद् विघटनको विरोधमा नेपाली कांग्रेस भरतपुर महानगर समितिले भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले संसद् विघटन राष्ट्रद्रोही र असंवैधानिक कदम भएकोले संविधान जोगाएरमात्रै चुनावमा जाने जिकिर गरे । केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै उनले संसद् पुनस्र्थापना अपरिहार्य रहेको बताए ।
 
प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पु¥याउने काम भएको भन्दै वरिष्ठ नेता पौडेलले भने, ‘आगामी चुनावमा बहुमत आउँछ भनेर गर्न खोजेको नभएर, नेपालीको उन्नति र स्थिरता हुन नदिन चालिएको दुष्चक्र हो ।’ उनले प्रधानमन्त्री ओलीले संसद्मा कुनै अवरोध नआउँदा, पार्टीमा भएको झगडाले अर्काको लहैलहैमा संसद् विघटन गरेको आरोप लगाए ।’  
 
वैशाखमा चुनाव नहुने दाबी गर्दै उनले भने, ‘राष्ट्रघाती कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ’, उनले भने, ‘संसद् विघटनले राष्ट्रमा ठूलो विग्रह आएको छ, प्रतिनिधिसभालाई बचाएपछि बल्ल चुनावमा जानुपर्छ ।’
 
उनले भने, ‘संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको हो ।’ संसद्मा कुनै अवरोध न आउँदा, पार्टीमा भएको झगडाले संसद् विघटन गरेर ओली तानाशाह बन्न खोजेको आरोप लगाए । ‘अदालतलाई हामीले दबाब दिएका  छैनौँ, प्रधानमन्त्रीले अदालतलाई धम्काउन खोजेपछि हामी सडकमा आएका हौँ, ‘उनले भने, ‘लोकतन्त्रको चिरहरण हुँदा कांग्रेस चुप लाग्दैन ।’ 
 
कांग्रेस नेत्री डिला संग्रौलाले हिटलर तानशाहको रुपमा केपी ओलीले निरंकुशता ल्याउन खोजेको बताइन् । संसद् विघटन गर्ने अधिकार केपी ओलीलाई नभएको बताउँदै उनले भनिन्, ‘कम्युनिस्टको तीन वर्षे सरकारमा भ्रष्टाचार मौलायो, नक्कली अनुहार जनताले बुझिसकेका छन् ।’
 
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आगामी चुनावमा कांग्रेसले अन्य चुनाव चिन्हमा भोट नहाल्ने बताए । ‘भरतपुर महानगरमा रेनु दाहाललाई सहयोग गरेर ठूलो गल्ती गर्यौं’, उनले भने । केपी आोलीले राजनीतिक अपराध गरेको आरोप लगाउँदै उनले भने, ‘संविधान रक्षा गर्न कांग्रेस सडकमा आएको हो ।’
 
कार्यक्रममा नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापति भरत अधिकारीले संविधानमाथि कुठाराघात भएको आरोप लगाए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्नेलाई कांग्रेस पार्टीमा प्रवेश गराइएको थियो । 
 
यसैबीच, कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक अपराध गरेको बताएका छन् । 
 
नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार रत्ननगर आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै नेता आचार्यले प्रधानमन्त्रीले संविधानको हत्या गरेर संवैधानिक अपराध गरेको आरोप लगाए । ‘यो ठूलो अपराध हो, उनले भने, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले जनदेशमाथि आक्रमण गर्नुभएको छ ।’ नेता आचार्यले सरकारमा जाने वा सडक आन्दोलन गर्ने विषयमा कांग्रेसले कसैसँग सहकार्य नगर्ने बताए । 
 
‘अहिले जनता दुःखमा छन्, उनले भने, ‘कांग्रेस अहिले कुनै दलसँग मिल्दैन, जनतामाझमा जान्छ ।’ उनले संसद् विघटन हुनुमा प्रधानमन्त्री ओलीसँगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको आरोप लगाए । उनले ससद् विघटनजस्तो संवैधानिक अपराधको दोषी ओलीमात्र नभई प्रचण्ड र माधव नेपाल पनि भएको बताए ।
 
सत्ता लुछाचुँडीका कारण प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भन्दै उनले असंवैधानिक कु को जिम्मेवार प्रचण्ड र माधव नेपाल भएको बताए । ‘प्रधानमन्त्रीलाई बलियो बनाएर पार्टीलाई छायामा राख्ने काम प्रचण्ड र माधव नेपालले गरेका हुन्, उनले भने, ‘संसद् विघटन ओलीले मात्र गरेर भएको होइन, प्रचण्ड र माधव नेपाल पनि उत्तिकै दोषी हुन् ।’ 
 
यो अपराधको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उनले संविधानमाथि प्रधानमन्त्रीले गरेको आक्रमणको विरोधमा कांग्रेस सड्कमा आएको बताए । उनले संसद् पुनस्र्थापना नभएसम्म संघर्ष जारी राख्ने बताए । जनताको विश्वासमाथि खेलवाड गरिएको भन्दै नेता आचार्यले कुनै दललाई बल प्रदान गर्न नभई जनतालाई साथ दिन कांग्रेस सडकमा आएको बताए ।