मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

राष्ट्रपति ट्रम्पलाई दोश्रो पटक महाअभियोग

राष्ट्रपति ट्रम्पलाई दोश्रो पटक महाअभियोग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिका– राष्ट्रपति डोनल्ड ट्रम्पको उग्रताले निकै दुर्भाग्यपूर्ण अन्त्य रोजेको छ। दुई सय पैंतालिस वर्ष पुरानो अमेरिकी लोकतन्त्रमा ट्रम्प त्यस्ता राष्ट्रपति भए जसलाई चारवर्षे कार्यकालमा दोश्रो पटक अमेरिकी संसदले (हाउस) महाअभियोग लगाएको छ। भर्खरै हाउसमा भएको मतदानबाट २३२-१९७ मतबाट महाअभियोग प्रस्ताव पारित भएको हो। गत वर्ष डिसेम्वर १८, २०१९ बुधवारकै दिन हाउसबाट महाअभियोग लगाइएका ट्रम्पलाई आज दोश्रो पटक महाअभियोग लगाइएको छ। गत बुधवार जनवरी ६ का दिन अमेरिकी संसद भवन (Capitol Building) मा उनको उक्साहटमा भएको हमलाका लागि जिम्मेवार मान्दै संसदको तल्लो सदनले महाअभियोग प्रस्ताव (Impeachment Resolution) पारित गरेको हो। हाउसले विशेष परिस्थितिका कारण शिघ्र कार्यविधिका आधारमा ट्रम्पलाई ‘इम्पिच’ गर्ने निर्णय लिएको हो।
तस्बिर: सामाजिक संजाल
गत साल डेमोक्रेटहरुको नियन्त्रणमा रहेको हाउसले महाअभियोग पारित गरेपनि रिपव्लिकनहरुको पकडमा रहेको सिनेटले उनलाई सो आरोपहरुबाट उन्मुक्ति दिएको थियो।
सिनेटमा दुई तिहाइ मत नपुगेकाले पहिलो पटक बर्खास्त हुनबाट बचेका ट्रम्प यो पटक भने उनले गैरकानूनी अफवाहरुका आधारमा आफ्ना समर्थकहरु भड्काउने र संसद भवनमा हिंसात्मक हमला गराउन मद्दत गरेको (Incitement of Insurrection’) भन्ने गम्भिर आरोपका आधारमा इम्पिच्ड भएका हुन्। आज हाउसमा १० जना रिपव्लिकन कँग्रेसमेनहरुको समेत साथ पाएर पारित भएको महाअभियोग प्रस्ताव सिनेटबाट समेत अनुमोदन भएमा ट्रम्प अमेरिकी इतिहास मै दुई पटक महाअभियोग लागेर बर्खास्त हुने पहिलो राष्ट्रपति हुनेछन्।
तस्बिर: सामाजिक संजाल

तस्बिर: सामाजिक संजाल
दुई जना प्रहरी अधिकारी (एकजनाले सोही घटनासंग सम्वन्धित कारणबाट आत्महत्या गरेका) सहित तीन जना दंगाकारीहरुले ज्यान गुमाएको सो हिंसात्मक घटनामा ट्रम्पलाई मुख्य देषीका रुपमा लिंदै अमेरिकी संसदले पदबाट बाहिरिन ७ दिन मात्र बाँकी छँदा महाअभियोग लगाएर बर्खास्त गर्ने प्रक्रिया थालेको हो। डेमोक्रेटहरुलाई मात्र होइन ट्रम्पका कट्टर समर्थक रिपव्लिकन नेताहरुलाई पनि उनी अमेरिकी प्रजातन्त्रका लागि ‘खतरा’ लाग्न थालेको छ।

सिनेटले उनलाई बर्खास्त गरेपनि नगरेपनि अमेरिकी राजनीति नराम्रोसंग विभाजित भएको छ। राष्ट्रपति ट्रम्पका हालैका गतिविधिहरु क्षम्य त हुँदै होइन। तर कार्यकालको अन्तिम हप्तामा रहेका राष्ट्रपतिलाई पदमुक्त गर्ने डेमोक्रेटहरुको प्रयासले अमेरिकी राजनीति र जनता दुबैलाई खराब स्तरमा विभाजित गर्ने निश्चित छ।
 
ट्रम्पलाई संसद भवनमा भएको हमलाका लागि जिम्मेवार मान्दै राजिनामा गर्न सर्वसम्मत निर्णय गर्दै ट्रम्पलाई दबाब दिन सकेको भए राष्ट्रिय एकताका लागि बलियो संसदीय एकता देखिन्थ्यो। विषम परिस्थितिलाई विचार गर्दै राष्ट्रिय एकता सबल पार्ने अवसरलाई संसदीय नेताहरुले गुमाएका छन्। राजनीतिक विभाजनले संभावित हिंसा र आन्तरिक आतंकवादलाई बढावा दिने खतरा बढेको छ।
तस्बिर: सामाजिक संजाल

तस्बिर: सामाजिक संजाल
दोश्रो पटक इम्पिच्ड भएका ट्रम्प पदमा हुँदा भन्दा बढी उग्र हुनसक्ने र आफ्ना समर्थकहरुलाई थप हिंसात्मक हुन उक्साउने सक्ने खतरा बढेको छ। अमेरिकी संसदमा छिरेको बदलापूर्ण गतिविधिले आगामी दिनमा अमेरिकी राजनीतिलाई थप विषाक्त बनाउने निश्चित छ।
 
नोभेम्वर ३ मा सम्पन्न राष्ट्रपतीय चुनावका विजेता जो बाइडनलाई सहज सत्ता हस्तान्तरणमा निरन्तर बाधा पुऱ्याउने कोशिस गरेका ट्रम्पले सामाजिक संजालहरुको व्यापक दुरूपयोग गर्दै आफ्ना समर्थकहरुलाई आफूले चुवाव जितेको र डेमोक्रेटहरुले धाँधली गरेकाले चुनावको नतिजा उल्ट्याउने कुरा भन्दै आएका थिए। उनका पाँच दर्जन बढी ल-सुटहरु अमेरिकी अदालतहरुले खारेज गरेका थिए। जनमतलाई उल्ट्याउने उनको अन्तिम प्रयास अमेरिकी इतिहासमा ‘कालो धब्बा’को रुपमा दर्ज भयो।
 
हाउसले अमेरिकी संविधानको २५औं संशोधनमा व्यवस्था भए अनुरूप उपराष्ट्रपति माइक पेन्सलाई ट्रम्पलाई जिम्मेवारी मुक्त गर्न प्रस्ताव गरेपनि उपराष्ट्रपतिले पदबाट बाहिरिन १ हप्ता बाँकी रहेका राष्ट्रपतिलाई पदमुक्त गर्न गरिने सबै क्रियाकलापले अहिलेको विषम परिस्थितिमा देशलाई राजनीतिकरुपमा विभक्त पार्ने खतरा रहेको भनेका छन्।
तस्बिर: सामाजिक संजाल

तस्बिर: सामाजिक संजाल
हाउस स्पिकर न्यान्सी पेलसीलाई हिजो एक पत्र पठाएका उपराष्ट्रपति पेन्सले ट्रम्पलाई पदमुक्त गर्ने कुनै गतिविधि अघि नबढाउन अनुरोध गरेका थिए। हाउसमा बहुमतमा रहेका डेमोक्रेटहरुलाई संयमता अपनाउन र देशलाई थप जटिलतातिर जान नदिन अनुरोध गर्ने उपराष्ट्रपति पेन्सको कदमले सकारात्मक टिप्पणीहरु पाएको छ।
 
महाअभियोग प्रस्तावका सन्दर्भमा हाउसमा भएको छलफलमा अल्पमतका नेता केभिन म्याकर्थीले गत बुधावारको संसदमा घटनामा राष्ट्रपति पनि जिम्मेवार छन् तर कार्यकालको अन्तिम हप्तामा आएर उनलाई पदमुक्त गर्न गरिने सबै कार्यले देशलाई थप विभक्त गर्ने तर्फ ध्यान दिनुपर्ने बताएका थिए।
 
समाचारहरुमा आएजस्तो सिनेटमा हालका बहुमतका नेता मिच मेकनलले ट्रम्पलाई महाअभियोगबाट हटाएर रिपव्लिकन पार्टीलाई उनको उदण्डताबाट बचाउनु पर्ने धारणा राखेका हुन् भने ट्रम्प कार्यकालको अन्तिम अवस्थामा पनि बर्खास्त हुन सक्ने संभावना बढेको छ। सिनेटमा ५०-५० संख्यामा रहेको डेमोक्रेट- रिपव्लिकनहरुको सन्तुलन रहेकाले कम्तिमा १७ जना रिपव्लिकन सिनेटरुले सहयोग नगरुन्जेल ट्रम्पलाई पदबाट बर्खास्त गर्न संभव छैन।
 
गत बुधवार जनवरी ६ का दिन अमेरिकी संसद भवनमा जे भयो, त्यो अमेरिकाका लागि मात्र खेदजन्य घटना होइन, संसारकै लागि दुर्भाग्य थियो। संसारको सबभन्दा पुरानो र बलियो लोकतन्त्र ट्रम्पका उग्र समर्थकहरुका सामु निरिह बनेको थियो।
तस्बिर: सामाजिक संजाल

तस्बिर: सामाजिक संजाल
त्यहाँ जे भयो, त्यो क्षम्य अपराध होइन। स्थापित लोकतन्त्र भएकैले त्यो घटनामा संलग्न सबैलाई हदैसम्मको कानूनी कार्बाही गर्न अमेरिकी निकायहरु एकबद्ध भएर लागेका छन्। लोकतन्त्र माथि विश्वास भएका सबै अमेरिकी नेताहरुले ट्रम्पको हर्कतको भत्सर्ना गर्दै उनलाई राजिनामा गर्न सुझाएका थिए।
 
आतंकवादी शैलीमा अमेरिकी संसद भवनमा भएको हमलालाई प्रत्यक्ष देखेका अमेरिकीहरुको मन कुँडिएको छ। ट्रम्पका कट्टर समर्थकहरुले पनि ट्रम्पको उक्त हर्कतको आलोचना गरेका छन्। ट्रम्पको अफवाहलाई सत्य मान्ने ठूलै जमातलाई अझै ट्रम्पका गतिविधी सही लागेपनि अधिकांश अमेरिकीहरुलाई ट्रम्पका गतिविधि लोकतान्त्रिक आचरण अनुरूप लागेको छैन।
 
हिंसा भड्काउन सक्ने खतराका कारण ट्रम्पको ट्वीटर र फेसबुक एकाउण्टहरु सदाका लागि बन्द गरिएपनि बिग टेक कम्पनीहरुको कदम अमेरिकी संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकका खिलाफ भएको भन्दै आलोचना भएको छ। यूट्यूबले पनि आज मात्रै एक साताका लागि कुनै भिडियो अपलोड गर्न नसक्ने बनाइ दिएको छ।
 
बलियो लोकतन्त्र भएकाले अमेरिकी राष्ट्रपति जस्तो सर्वशक्तिमान व्यक्ति समेत कार्बाहीको दायरामा आएका छन्। विश्वभर प्रजातन्त्रको पक्षमा उभिने अमेरिकामा शान्तिपूर्ण र नियमसंगत सत्ता हस्तान्तरण हुनु पर्नेमा विश्व नेताहरुले जोड दिएको पृष्ठभूमिमा ट्रम्पको बहिर्गमन यति तिक्ततापूर्ण होला भन्ने सायदै कसैले सोचेको थियो।
 
आफ्नै उदण्ड हर्कतका कारण संभावित बर्खास्तीमा पर्न लागेका ट्रम्पले गर्न सक्ने संभावित उपद्रवका कारण आगामी दिनमा अमेरिकी लोकतन्त्रमा अर्को घाउ लाग्नबाट बचाउँदै देशलाई एकताबद्ध बनाउनु जनवरी २० मा पदभार ग्रहण गर्ने नयाँ राष्ट्रपति जो बाइडन र समग्र अमेरिकी नेताहरुको प्रमुख जिम्मेवारी हुनेछ।
हाउस स्पिकर न्यान्सी पेलसीलाई हिजो एक पत्र पठाएका उपराष्ट्रपति पेन्सले ट्रम्पलाई पदमुक्त गर्ने कुनै गतिविधि अघि नबढाउन अनुरोध गरेका थिए।