मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएद्वारा भरतपुर महानगरलाई रगत संकलनका लागि घुम्ती बस सहयोग

एनआरएनएद्वारा भरतपुर महानगरलाई रगत संकलनका लागि घुम्ती बस सहयोग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रक्तदानका लागि चितवनमा घुम्ती रक्त संकलन बस आइपुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरलाई उपलब्ध गराएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले भरतपुर महानगरपालिकाको पहलमा रगत संकलनका लागि घुम्ती बस उपलब्ध गराएको जानकारी दिए ।

गैरआवासीय नेपाली संघले घुम्ती रक्त संकलन बस भरतपुर महानगरलाई हस्तान्तरण गरेलगत्तै महानगरले पनि क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरलाई सञ्चालन गर्नका लागि साँचो उपलब्ध गराएको हो । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, हालका उपाध्यक्ष डा. बद्री केसीले महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पौडेललाई घुम्ती बसको साँचो हस्तान्तरण गरेका थिए । 

महानगरको उक्त टोलीले सो साँचो रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरेको थियो । रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलले दुर्घटना बढी हुने, देशकै मध्यभागमा रहेको र मेडिकल सिटीको रुपमा विकास भइरहेको भरतपुरमा रक्त संकलनका लागि घुम्ती बस अत्यन्तै आवश्यक भएको बताए । उनका अनुसार जस्तोसुकै विपद् परिस्थितिमा पनि रगत संकलन गर्न घुम्ती बस सेवा उपयोगी हुनेछ । 

भन्सार र कर छूट गरेर भारतीय रूपैयाँ ३५ लाखमा गैरआवासीय नेपाली संघले बस खरिद गरेको हो । रक्तसञ्चार केन्द्रले चितवन ल्याइएको रगत संकलन गर्ने घुम्ती बस बागमती प्रदेशमै पहिलो भएको दाबी गरिएको छ ।  यसअघि पोखरामा पनि यस्तो घुम्ती बस सञ्चालन भइरहेको छ । 

बसमा रक्तदानका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरु बसमै जडान गरिएको छ । एकपटकमा दुई जना रक्तदाताले रगत संकलन गर्न सक्नेछन् । स्वास्थ्यकर्मीहरु बसभित्र रहेर रक्तदातालाई सघाउनेछन् । बसभित्रै रक्तदाताको प्रेसर जाँच, रक्त संकलन गर्ने फ्रिज, रक्तदाताका लागि आरामदायी बेडलगायतका अन्य उपकरणहरु जडान भएका छन् । 

दैनिक ५० युनिट रगत पु¥याउन कठिन परेको चितवनमा अब भने रगतको अभाव हुन नदिने रक्तसञ्चार केन्द्रले जनाएको छ । ‘कोरोना भाइरसको कहरमा चितवनमा रगत अभाव भएको थियो, अब बस सेवा सञ्चालनमा ल्याएसँगै जिल्लामा रगतको अभाव नहुने विश्वास छ’, नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष ज्ञानशाली न्यौपानेले भने । 

गैरआवासीय नेपाली महासंघका संस्थापक अध्यक्ष डा. महतोले पहिलोपटक भरतपुर महानगरलाई रगत संकलन गर्नका लागि घुम्ती बस उपलब्ध गराएको बताए । उनले भने, ‘मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा स्वास्थ्य क्षेत्रमा अन्य सहयोग पनि गर्नेछौँ, प्रभावकारी काम भए सहयोग गर्ने दाताको कुनै कमी हुनेछैन ।’