
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको शिलान्यास गर्दै उनले विगतका वर्ष भन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।
मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने, “सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युँतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उहाँले सन् २०२१ सँगै स्वदेशी पर्यटक निकै बढ्ने बताए । उनले भने, “यो क्षेत्र अगाडि आउँछ, विशेषगरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्नेछौँ ।”
नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्त्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको उनको भनाइ थियो । उनले कोरोना सङ्क्रमण घटेसँगै घुम्न नपाएर बसेका नेपालीले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताए । अहिले नै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटक आउन थालेको उनको भनाइ थियो ।
तत्कालै अन्तरराष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको उल्लेख गर्दै उनले भने, “पर्यटकीय गन्तव्य, होटललगायतमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।” पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाइ थियो ।
सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमबजार तहसनहस भएको बताए । उनले भने, “विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था आएको छ ।” श्रम बजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमा नै सम्भावनाको खोजी गर्नु आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।
संस्कृतिलाई माटोसँग जोडेर पर्यटनको विकास गर्नसके स्वदेशमा नै रोजगारी सिर्जना हुने उनले बताए । रोजगारीको खोजीमा विदेशिएका युवाले नेपालमा नै पसिना बगाउनसके विदेश पलायन हुनबाट बचाउन सकिने उल्लेख गर्दै उनले भने, “वार्षिक ६०० भन्दा बढी नेपालीको शव नेपाल आउने अवस्थाको अन्त्य गर्न स्वदेशमा नै रोजगारी सिर्जना गर्नु आवश्यक छ ।”
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले बोलेका थिए । हस्पिटालिटीका प्रमुख रामेश्वर शाहले रु २५ करोडको लगानीमा सौराहामा बुटिक रिसोर्ट निर्माण गर्न सुरु गरिएको जानकारी दिए । उनी गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधि हुन् । चौँतीस कोठामा ६५ श्ययाको सो रिसोर्ट सन् २०२२ देखि सञ्चालनमा आउनेछ । बाह« कट्ठा १० धुर क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागिएको हो । रासस

हिमालय खबर -
- ४६ औं राष्ट्रपतिको कार्यभार सम्हाले बाइडेनले
- कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप
- प्रतिनिधिसभा पुनःस्थापना नभए निर्वाचनमा जान्छौँ : अध्यक्ष यादव
- काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
- जनताको सार्वभौमसत्तामाथि आक्रमण गर्नेविरुद्ध उत्रिन प्रचण्डको आग्रह
- ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
- प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप
- दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
प्रतिक्रिया