मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उडिरहेको हेलिकप्टरमा चिल ठोक्किएपछि….

उडिरहेको हेलिकप्टरमा चिल ठोक्किएपछि….


बागलुङ । जिल्लाको गलकोट नगरपालिकाबाट आइतबार दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो ।  

नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चिल हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो, सिसा फुट्यो । हेलिकप्टरमा सवार यात्रु अत्तालिए ।  

अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराए । हेलिकप्टरलाई ठूलो दुर्घटना हुनबाट उनले जोगाए । 

“सुरुमा चिल देखिनासाथ चालकले छलिरहेका थिए, तर पछि फेरि आएर जोडसित ठोक्कियो”, हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले भने । हेलिकप्टरभित्रै छिरेको चिल रगताम्य अवस्थामा अर्को झ्यालबाट निस्केको उनको भनाइ छ । चालक पुनको कुशलता र साहसका कारण ठूलो दुर्घटना टरेको भण्डारीले बताए । 

“भाग्यवश बाँचियो, आकाशमा त्यो क्षण कस्तो थियो अहिले भन्न कठिन भइरहेको छ”, उनले भने । हेलिकप्टरमा भण्डारीसहित गलकोटकै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए । उनीहरु व्यक्तिगत कामका सिलसिलामा हेलिकप्टर चार्टर गरेर काठमाडौँ जाँदै थिए ।  

दिउँसो १२ बजेर ५० मिनेट जाँदा गलकोटबाट उडेको हेलिकप्टरलाई चालकले १ बजेर ४५ मिनेटमा नुवाकोटमा आकस्मिक अवतरण गराएका थिए । चिल ठोक्किँदा हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ ।  

अघिल्लो सिटमा बसेका भण्डारीको हात र खुट्टामा सामान्य चोट लागे पनि चालक र अरू यात्रु सकुशल रहेको जनाइएको छ । उक्त हेलिकप्टरमा सवार यात्रुलाई पछि कैलाश एयरकै अर्को हेलिकप्टरले उद्धार गरी काठमाडौँ पु¥याएको थियो । रासस