नेपाल

उद्योग वाणिज्य महासंघको निर्वाचन : व्यवसायीकै दृष्टिमा चन्द्र ढकाल र किशोर प्रधानबीचको अन्तर

प्रकाशित |

काठमाडौँ । सरकारले निजी क्षेत्रलाई बेवास्ता गरिरहेका बेला नेपालका उद्योग व्यवसायी पनि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका क्रममा गुटमा विभाजित भएका छन् । 

उद्योग व्यवसायीको साझा संस्था महासंघमा चुनाव राजनीति कम गर्न वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान ल्याइएको थियो । तर, अहिले चुनावी राजनीति वरिष्ठ उपाध्यक्षको पदमा सरेको छ । 

वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधान दुवैले आफ्नो जीत निश्चित भएको दावी गर्दै आएका छन् । र, अब चुनाव हुन एक साताभन्दा पनि कम समय बाँकी छ ।  

महासंघका वर्तमान उपाध्यक्ष ढकालको सबल पक्ष उनको मजबुत व्यवसाय हो । प्रधानको कमजोर पक्षचाहिँ व्यावसायिक धरातल कमजोर हुनु हो । ढकाल यसअघि महासंघमा एसोसिएटका तर्फबाट निर्विरोध चयन भएका हुन् । किशोर प्रधान वरिष्ठ उपाध्यक्षमा यसअघि पनि उठेर हारेका थिए ।  

ढकालको आलोचना उनले निर्वाचनमा पूर्वअध्यक्ष चण्डीराज ढकालको सहयोग लिए भन्ने हो । किशोर प्रधानलाई महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी र पशुपति मुररकाले बोकेका छन् । यो चुनावलाई नजिकबाट हेरिरहेका व्यवसायी भन्छन्– 'चन्द्र ढकालले पूर्वअध्यक्ष चण्डीराजलाई बोकेका छन् तर, किशोर प्रधानलाई जोशी र मुरारकाले बोकेका छन् ।' 

बोक्ने र बोकिनेमा को राम्रो हो ? ती व्यवसायी भन्छन्– 'बोकिनेभन्दा बोक्ने नै सक्षम हुन्छन् । बोक्ने र बोकिएको उम्मेदवार कसलाई छान्ने अहिले यहीबीचको चुनाव हो ।' 

महासंघमा आफ्नो स्वार्थ पूरा गर्न कमजोर व्यवसायीलाई उठाएर बोक्ने प्रचलन नयाँ भने होइन । 

एउटा सत्य विगतमा यस्तो बोकिने उम्मेदवार महासंघको नेतृत्वमा जाँदा संस्था भने कमजोर भयो । निजी क्षेत्र कमजोर भयो । उद्योग व्यवसायीको आवाज कमजोर भयो । महासंघलाई यो अवस्थाबाट उठाउनुपर्ने चुनौती छ । 

पूर्वअध्यक्ष चण्डीराज ढकाल पहिलो कार्यकाल चुनावबाटै अध्यक्ष भएका थिए । कयौँ पटक सरकारबाट सर्वोकृष्ट निकासीकर्ताको पुरस्कार पाएका चण्डीराजको गार्मेण्ट व्यवसाय कमजोर हुन थालेपछि उनी पनि कमजोर भए । 

दोस्रो कार्यकालका लागि चण्डीराजले चुनावमा जाँदा उनको व्यावसायिक धरातल र प्रतिष्ठा निकै कमजोर भइरहेको थियो । सरकारले पनि उनलाई यही कारण हेप्न थालेको थियो । पक्राउ पुर्जीसमेत जारी भयो । उनले पनि सही निर्णय गर्न सकेनन् । त्यसबेला व्यवसायीसमेत काठमाडौँ बन्द भन्दै सडकमा उत्रिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बालुवाटारमा काठमाडौँ बन्द फिर्ता गर्ने सहमतिसमेत ढकालले लागू गर्न सकेनन् । यसको नतिजा थियो पक्राउ पुर्जी । त्यसैले उनी पनि कमजोर हुन पुगे । दोस्रो कार्यकालका लागि प्रयास गर्दा कुशकुमारसँग चुनाव हारे ।

वर्तमान अध्यक्ष भवानी राणा पनि व्यावसायिकरूपमा रुपमा कमजोर हुन् । त्यसैले उनले निजी क्षेत्रलाई मजबुत बनाउन सकिनन् । अहिले निजी क्षेत्र कमजोर र महासंघ नाम मात्रको लबिङ्ग गर्ने संस्थाको अवस्थामा पुग्नुमा राणाको कमजोर धरातल पनि जिम्मेवार छ । 

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समस्या पनि त्यही हो । उनको खासै व्यवसाय छैन । यस्तो अवस्थामा तीन वर्ष वरिष्ठ उपाध्यक्ष र त्यसपछि अध्यक्ष बन्नका लागि कति उपयुक्त हुन्छन् भन्ने प्रश्न कयौँ व्यवसायीमा छ । 

व्यवसाय गरेको व्यक्तिले नै निजी क्षेत्रको समस्या र सम्भावना बुझेको हुन्छ । त्यसका लागि चन्द्र ढकाललाई अहिले बाहिर राख्दा महासंघलाई पनि क्षति पुग्ने व्यवसायीहरु बताउँछन् । तर, योग्यले चुनाव जीतको उदाहरण पनि महासंघमा थुप्रै छन् । 

चुनावको दिन आइसके पनि सहमतिको प्रयास पनि भइरहेको छ । तर, कसले, किन कसलाई छाड्ने भन्ने प्रश्नको उत्तर नआएकाले नै यो प्रयास सार्थक हुन सकेको छैन । 'सहमतिको प्रयास त जारी छ तर, सम्भावना देखिँदैन', व्यवसायीहरु भन्छन् । 

कुश जोशी र मुरारका दुवैले प्रधानलाई महासंघमा ल्याउँदा ६ वर्षसम्म आफ्नो हालीमुहाली गर्न पाइने फाइदा देखेका छन् । यसले गर्दा पनि सहमति हुन नसकेको व्यवसायीको भनाइ छ ।  

हाल एसोसिएटका तर्फबाट उपाध्यक्ष रहेका ढकाल स्वनिर्मित व्यवसायी हुन् । छिटो समयमा ढकाल ठूलो व्यावसायिक सञ्जाल बनाउन सफल भए । राजनीति वृत्तमा पनि उनको राम्रो पकड छ । महासंघमा राम्रो टिम हुने हो भने ६ वर्षमा चन्द्र ढकालले निजी क्षेत्रको दबदबा बढाउन यो पकडलाई अवसरका रुपमा उपयोग गर्न सक्छन् । यो निजी क्षेत्रका लागि अवसर पनि हो भन्ने व्यवासायी पनि थुप्रै छन् ।  

चुनावमा पूर्वअध्यक्ष चण्डीराज ढकालको साथ पाए भन्ने आधारमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि ढकालबाट टाढिएका छन् । तटस्थ बस्नुपर्ने गोल्छासमेत एउटा गुटमा लाग्दा व्यापक आलोचना भयो । यसले शेखरको उचाइ पनि घटायो । यस्तो अवस्थामा शेखरले कसरी निजी क्षेत्रलाई सबल नेतृत्व देलान् भन्ने प्रश्न पनि उठेको छ । 

महासंघमा मारवाडी समुदायबीचको व्यावसायिक प्रतिस्पर्धा रिसरागले पनि गुटबन्दी बढाएको छ । यसले गर्दा पनि चुनावमा निजी क्षेत्रले भोग्दै आएका मुद्दाहरुभन्दा व्यक्तिगत र व्यावसायिक टकराबले पनि व्यवसायीलाई विभाजन गरेको छ । 

निजी क्षेत्रको कमजोर बन्दै गएको अवस्थामा हामीले गर्ने लबिङ्गलाई कसले मजबुत बनाउँछ भन्ने मुद्दा हुनु पर्थ्यो, आर्थिक उदारीकरण, निजीकरण अब कसरी अगाडि बढाउने भन्ने मुद्दा हुनुपर्थ्यो । एक युवा व्यवसायीले भने, 'यस्ता विषयले चुनावमा खासै महत्त्व नपाए पनि अहिले हामीले हेर्ने भनेको यी मुद्दामा कसले काम गर्न सक्छ कसले सरकारसँग डटेर लविङ्ग गर्न सक्छ भन्ने हो ।' 'कमजोर व्यावसायिक धरातल भएको व्यवसायीले यस्ता मुद्दा भने बोक्न सक्दैन', उनले भने ।  

महासंघको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघबाट आउने प्रतिनिधिको झण्डै ५० प्रतिशत मताधिकार छ । के जिल्लाका उद्योग व्यवसायीलाई जसको सामान्य पसलमात्र छ, उसलाई आर्थिक सुधार उदारीकणले फाइदा पुग्छ ? यो प्रश्नमा ती युवा उद्यमी भन्छन्, 'यर्थाथमा हेर्ने हो भने आर्थिक उदारीकण, आर्थिक सुधारले निजी क्षेत्रको प्रभाव बढ्छ, हाम्रो प्रभाव बढ्दा वा निजी क्षेत्रको भूमिका वृद्धि हुँदा गाउँमा खुलेको एउटा खुद्रा पसललाई पनि फाइदा हुन्छ ।' 

अब महासंघको नेतृत्वका लागि चुनाव हुन केही दिनमात्र बाँकी छ । चुनाव सकिएपछि आउने नेतृत्वले कसरी एकीकृत गरेर लैजान्छ त्यो पनि चुनौतीका रुपमा आएको छ । महासंघको निर्वाचनमा अहिले देखिएको ध्रुवीकरणले यो चुनावी मुद्दा अझै पेचिलो बनाएको छ ।

हिमालयखवर संवाददाता

हिमालयखवर संवाददाता -

थप »

प्रतिक्रिया