मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

वाइडेनको अग्रताले अतालिएका ट्रम्पले मतगणना रोक्न उजुरी हाले

वाइडेनको अग्रताले अतालिएका ट्रम्पले मतगणना रोक्न उजुरी हाले


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको आरा्ेप लगाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजुरी दर्ता गरेको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि अतालिएका ट्रम्पले आफ्तर्फबाट उजुरी गरेका हुन् ।  

उजुरीमा मतपत्र राखिएका स्थान र मत गणनास्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा एपीले गरेको अध्ययनमा दुवै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको देखिएको छ । 

एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गरेका छन् । यद्यपि यहाँ औपचारिक घोषणा हुन बाँकी छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना कार्य जारी रहेको र दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ । 

ट्रम्प अभियानले पेन्सिलभेनियाको मत गणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ । ट्रम्पका उप चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएको छ, र यसको निरुपण अदालतबाट हुनेछ भने । 

राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आएका थिए । उनले हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने बताएका छन् ।  

ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मत गणनाका लागि आग्रह गर्ने घोषणा पनि गरेको छ । यो राज्यमा एपीको प्रक्षेपण अनुसार जो बाइडेनले विजय हासिल गरेका छन् । ट्रम्पका चुनावी व्यवस्थापक बिल स्टेपियानले विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गरेका छन् तर कहाँ, कसरी धाँधली भए भन्ने बारेमा केही बताउन सकेका छैनन् ।

बाइडेनले बुधबार नै सबै राज्यमा मत गणना निरन्तर हुने बताएका छन् । उनले भने, “हाम्रो लोकतन्त्रलाई कसैले अपहरण गर्न सक्दैन – अहिले मात्र होइन, सधैँ ।”

पेन्सिलभेनिया राज्यमा कुनै पनि किसिमको धाँधली वा मतपत्रसँग सम्बन्धित कुनै विषय उठेको समाचार आएका छैनन् । यस राज्यमा ३१ लाखले हुलाकबाट मतदान गरेका थिए । नोभेम्बर ३ भित्र हुलाकमा रजिष्टर भएका मतदाताको मत गणना गर्न सकिने व्यवस्था छ । 

पेन्सिलभेनीका महान्यायाधीवक्ता जस सापिरोले सिएनएनसँगको अन्तर्वार्तामा ट्रम्प अभियानले दिएको निवेदनको कानुनी भन्दा पनि राजनीतिक महत्व मात्र रहेको बताउनु भएको छ । उनले भने, “यस प्रक्रियामा पूर्ण पारदर्शिता छ । मत गणना कार्य जारी छ । प्रतिनिधिहरुले मत गणनाको सम्पूर्ण प्रक्रियालाई अवलोकन गरिरहेका छन्, र मत गणना कार्य जारी रहने छ ।” एपी