मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग

काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

काँग्रेसको कोभिड-१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिँदै गएको र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउन माग गरेको जनाएको छ । 

समितिले अहिलेसम्म गरेका गतिविधि र अनुगमनका निष्कर्ष तथा सुझाव पार्टी सभापति शेरबहादुर देउवामार्फत केन्द्रीय कार्यसमितिलाई अवगत गराउन शुक्रबार सभापति देउवालाई अनुगमन प्रतिवेदन हस्तान्तरण गरेको छ । 

सो अवसरमा सभापति शेरबहादुर देउवाले सरकार जनताको पीरमर्काप्रति बेखबर रहेको बताएको पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा। प्रकाशशरण महतले जानकारी दिए । 

सभापति देउवाले कोरोना महामारी फैलिरहेको भए पनि सरकारले भेन्टिलेटर, आइसोलेसन र औषधिको पर्याप्त व्यवस्था गर्न नसकेको टिप्पणी गर्दै विशेष संसद बोलाएर उक्त विषयमा छलफल गराउनुपर्ने र कोरोना संक्रमण रोक्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए  ।

समितिले कोरोना संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यक औषधधिको आपूर्ति सहज गर्न तथा आवश्यक स्वास्थ्यकर्मीको अविलम्व व्यवस्था गर्नसमेत माग गरेको छ ।

आइसोलेसनमा बस्ने व्यवस्था नभएका संक्रमित नागरिकका लागि आवश्यक आइसोलेसनको व्यवस्था र अस्पतालको उपचार चाहिने संक्रमितको तत्काल सस्तो र सुलभ अस्पतालको व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको समितिद्वारा जारी प्रेस नोटमा उल्लेख छ । 

कोरोनाबाट अति प्रभावित गरिब परिवारलाई चाड पर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गरेको सहमहामन्त्री डा. महतले जानकारी दिए । रासस