मस्को । रुसको राजधानी मस्कोमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रबन्धहरु लागू गरिएको छ । विषेश गरेर सबै बारहरु, क्लबहरु र नृत्य गृहहरु भित्र अपनाइने गरी कडा प्रबन्धहरु लागू गरिएको मस्कोका मेयर सेर्गेइ सोव्यानिनले बिहीबार जानकारी दिए ।
त्यहाँका हरेक कर्मचारी तथा आगन्तुकहरुको सम्पर्क नम्बर लेख्नुपर्नेलगायतका व्यवस्थाहरु गरिएको उनले बताए । आवतजावत गरेका व्यक्तिहरुले आफ्नो आवतजावत सम्वन्धी विवरण र विषेश सम्पर्क नं ७३७७ मा पठाउन निर्देशन पनि दिइएको छ ।
कुनै व्यक्तिलाई कोरोनाभाइरसको नयाँ सङ्क्रमण देखिएमा उसको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्न र उनीहरुलाई परीक्षणको दायरामा ल्याउन सजिलो हुने अपेक्षाका साथ यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।
रुसमा पछिल्लो २४ घन्टामा मात्रै थप १३ हजार ७५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या भने कम हो । अघिल्लो दिन बुधबार २४ घन्टामा १४ हजार २३१ जना सङ्क्रमित भएका थिए ।
अधिकारीहरुका अनुसार रुसमा अहिलेसम्म १३ लाख ५४ हजार १६३ जना सङ्क्रमित भएका छन् । यो विवरण देशको ८५ क्षेत्रकै हो । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । अघिल्लो दिन बुधबार २३९ जनाको मत्यु भएकोमा बिहीबार २८६ जनाको मृत्यु भएको छ ।
रुसमा कोरोनाका कारण अहिलेसम्म कुल २३ हजार ४९१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा मात्रै रुसमा आठ हजार ३९२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् । रुसमा अहिलेसम्म दश लाख ४८ हजार ९७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एएनआई
प्रतिक्रिया