मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नक्कली सुरक्षाकर्मी बनेर दुई वर्षसम्म ठगी गर्ने पक्राउ

नक्कली सुरक्षाकर्मी बनेर दुई वर्षसम्म ठगी गर्ने पक्राउ


काठमाडौँ । एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । 

उसले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकिटकी) र सुरक्षा निकायको पोशाकसमेत प्रयोग गर्दै काठमाडौँ उपत्यकामा व्यवसायीलाई प्रभाव पार्दै कतिपयबाट रकमसमेत लिएको जनाइएको छ ।  

अन्ततः दुई वर्ष पछि बिहीबार महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेपछि रहस्य खुलेको हो । उनी नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै हिँड्ने व्यक्ति भएको महाशाखाले जनाएको छ । 

आफू सुरक्षाकर्मी भएको बताउँदै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।  

उक्त सूचना प्राप्त भएपछि महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले आज विहान रामेछाप खाडोदेवि घर भई काठमाडौँको बानियाटार बस्ने गोविन्द खड्कालाई पक्राउ गरेको थापाले बताए । उनले प्रहरीको ‘नेम प्लेट’ तथा लुगा समेत प्रयोग गर्दै आएका थिए । 

उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएको ‘नेम प्लेट’,  विभिन्न सुरक्षा निकायको पोशाक, सुरक्षाकर्मीले लगाउने वुट जुत्तालगायत बरामद गरिएको छ । बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको छ । उनले सेनाको पोशाकको समेत दुरुपयोग गरेको पाइएको छ । 

बरामद भएको सञ्चार सेट विदेशी पर्यटक सगरमाथा आरोहणको समयमा आउने क्रममा नेपालीलाई राख्न दिएको र त्यही सेट दुरुपयोग गर्दै आएको प्रहरीले जनाएको छ । 

महाशाखाले कोही कसैलाई विभिन्न प्रभावमा पारी ठगी गरेको भएमा सम्पर्कमा आउन अनुरोध गरेको छ । उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ । रासस