काठमाडौँ । नेपालमा बिहीबार ३७४९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
एकैदिन कोरोना संक्रमण निको भई ३५६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । जुन कुल संक्रमितको ६९.४२ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप १९३५ जना संक्रमित थपिएका छन् । काठमाडौँका १६९२, ललितपुरका १०८ र भक्तपुरका १३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ४८ हजार ५८७ पुगेको छ । जसमा काठमाडौँमा कुल ३६ हजार ५८५, ललितपुरमा ६ हजार ६ र भक्तपुरमा ३ हजार ८२८ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १६ हजार ५९८ जनासहित हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ८२५ जना क्वारेन्टाइनमा र ३६ हजार ५३३ जना आइसोलेसनमा रहेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये २४ हजार १९४ जना होम आइसोलेसनमा र १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर ३१४ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रतिक्रिया