मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बडा दशैँ पूजा प्रकृया र महत्व

बडा दशैँ पूजा प्रकृया र महत्व


।। ॐ श्री जगदम्बिकायै नम : ।।

सृष्ट्वाखिलं जगदिदं सदसत्स्वरूपम् ।

शक्त्या स्वया त्रिगुणया परिपाति विश्वम् । ।

संहृत्य कल्पसमये रमते तथैका ।

तां सर्वविश्वजननीं मनसा स्मरामि। ।श्रीमद्देवीभागवत — १। २। ५  

भावार्थ:- सत्य र असत्य स्वरूपको यो सम्पूर्ण जगत्  सृष्टि गरेर आफ्नै त्रिगुण-शक्तिले पालन गर्दै कल्पको अन्त्यमा (यो सम्पूर्ण जगत्-लाई) आफैंमा समेटी (लीन गरी )एक्लै रमण (क्रीडा) गर्ने त्यस्ती सम्पूर्ण जगत्की जननीलाई मनले सम्झम्छु (प्रणाम गर्दछु )।  

आद्याशक्ति- स्वरूपिणी श्रीदुर्गाभगवतीको विशेष उपासना गर्नको निमित्त एक वर्षमा चार वटा नवरात्रलाई मुख्य मानिएको छ।

आश्विने मधुमासे वा  तपोमासे शुचौ  तथा ।

चतुर्षु  नवरात्रेषु विशेषात्  फलदायकम् ।। श्रीमद्देवीभागवत -माहात्म्ये -१। ३१

भावार्थ :-आश्विन, चैत्र , माघ र आषाढ महिनाका शुक्लपक्षका  प्रतिपदा देखि नवमीसम्म (९ दिन )श्रीदुर्गाभगवतीको विशेष उपासना गर्नाले विशेष फल मिल्छ  ।  यी ४ नवरात्र मध्ये जुनसुकै नवरात्रमा  श्रीदुर्गाभगवतीको विशेष  उपासना गर्नाले समान   अभीष्टफल प्राप्त हुन्छ भनिएको छ । तथापि

शरत् -काले महापूजा क्रियते या च वार्षिकी। —श्रीदुर्गासप्तशती १२/१२

अर्थात् :-“ शरद् ऋतु (असोज )मा र वार्षिकी (वर्षारम्भ-चैत्र )मा  श्रीदुर्गाभगवतीको विशेष पूजा -उपासना गरिन्छ।”भनिएको हुनाले हाम्रो परम्परामा आश्विनशुक्ल -पक्षको  नवरात्रमा  श्रीदुर्गाभगवतीको विशेष पूजा – उपासना गरी बडादशैं पर्व मनाउने  चलन चलेको छ । यो बडादशैं पर्व हाम्रो नेपालमा विभिन्न सम्प्रदाय वा जात-जातिले   अनादि कालदेखि  आ -आफ्नै परम्पराअनुसार  चलाउदै आएको विशेष महान् चाड हो।  

नवरात्रमा के  के गर्ने ?  

१.आश्विनशुक्ल -प्रतिपदाका दिन बिहान घटस्थापना गरी घडामा शैलापुत्री नामकी श्रीदुर्गाभवानीको पूजा गरी जौलाई चोखो पानीले तीन पटक पखालेर शुद्ध बालुवा वा माटोमा घडाको वरिपरि रोप्नु (छर्नु ) पर्दछ । कसैले नवधान्य (जौ, गहुँ, धान,मुगी, मास, कागुनो,  तिल,  सामा, मकै (फापर ) पनि रोप्ने गर्दछन् । कसैले द्वितीयाको दिन साँझ चन्द्रमा ( जुन ) को दर्शन गरेपछि मकै जौ रोप्ने गर्दछन् । आश्विन -शुक्लप्रतिपदा देखि ९ दिनसम्म  प्रतिदिन क्रमश: ९ नामका श्रीदुर्गाभवानीको पूजा गर्नु पर्दछ । ९ नाम यस प्रकार छन् । १. शैलपुत्री, २. ब्रह्मचारिणी, ३. चन्द्रघण्टा ४. कूष्माण्डा, ५. स्कन्दमाता ६. कात्यायनी, ७. कालरात्रि, ८. महागौरी, ९. सिद्धिदात्री। घटस्थापना  गरेपछि  नौ दिन सम्म नै प्रतिदिन बिहान दुर्गासप्तशती ( चण्डी ) पाठ र मिलेसम्म कन्यापूजा पनि गर्नु पर्दछ ।    

२.  प्रतिपदाका बिहान घटस्थापना गरिसकेपछि  सूतकादि व्यवधान पर्नआयो भने नित्यपूजा रोक्नु हुँदैन, ब्राह्मणद्वारा नित्यपूजा  गराई ९ दिनमा  विसर्जन पूजा  गराउनु पर्छ । कसैको मतमा “संकल्पो व्रतसत्रयो:”  अर्थात् विशेष व्रत तथा यज्ञमा संकल्प गरेर प्रारम्भ गरिसकेपछि  समापन नभएसम्म सूतक लाग्दैन” भन्ने शास्त्रीय वचन हुनाले दशैंको नित्य पूजा आफैंले गरे हुन्छ भन्ने छ । आफ्नो जे चलन छ, त्यही  गर्दा राम्रो ।

३.आश्विनशुक्ल द्वितीयाका दिन साँझ चन्द्रमाको पूजा गरी दर्शन गर्नु पर्दछ ।  आश्विनशुक्लषष्ठीका दिन ज्येष्टानक्षत्रले युक्त भएको साँझको समयमा  बेलको बोटलाई पूजा गरी निमन्त्रणा गर्नु पर्छ ।  

४. सप्तमीका दिन बिहान नित्य पूजा सकेपछि श्रीसरस्वतीदेवीको विशेष पूजा गर्नु पर्दछ । यसै दिन केरा, दारिम (अनार), धान, हलेदो, माने कर्कलो,  काँच, बेल, अशोक, जयन्ती फूल सहित ९ प्रकारका फूलपाती -पत्रहरू जम्मा गरी श्रीदुर्गा स्थापना गरेको ठाउँमा लगी पूजा गर्नु पर्दछ । सबै पत्र उपलब्ध नभएमा सयपत्री जस्ता फूलहरु जे उपलब्ध हुन्छ लगी पूजा गर्नु पर्छ ।

५. अष्टमीका दिन श्रीदुर्गाभवानीको नित्य पूजा गरी सकेपछि खड्ग, सस्त्र, अस्त्र, आदिको पनि पूजा गरी जलयुक्त नरिवल, कुभिन्डो आदि बली चढाउनु पर्दछ ।

कसैले अष्टमीका दिन मेसिन, इन्जिन, वाहन आदि यन्त्रहरूको पनि पूजा गर्ने गर्दछन् । कसैले यस दिन बेलुका कालरात्रीको पनि पूजा गर्दछन् ।  

६. अष्टमीका दिन कालरात्रि पूजा नगर्नेहरूले नवमीका दिन बिहान कुभिन्डो नरिवल आदि बलिचढाई श्रीदुर्गाभवानीको नित्य पूजा गर्नुपर्छ ।  

७. दशमीका बिहान अपराजिताको पूजा गरेपछि श्रीदुर्गाभवानीको विसर्जन पूजा गरी श्रीदेवीका भक्तगणलाई प्रसाद छुट्ट्याई  शुभलग्न वा शुभवेलामा मर्यादा-क्रमअनुसार श्रीदुर्गाभवानीको प्रसाद लगाउनु पर्दछ । दशमीका दिन शमी-वृक्षको पूजा गरी दर्शन गर्नाले वर्षदिनसम्म शुभसाइत मिल्छ भन्ने मान्यता छ ।

यस वर्ष (२०७७मा) विश्वका विभिन्न देशहरूमा स्थानीय समयको भिन्नताले गर्दा तिथिमा घटबढ हुन जाँदा  कुनै देशमा  अक्टोबर २५  मा र कुनै देशमा अक्टोबर २६ मा विजया दशमी परेको हुनाले दशमी तिथिदेखि पूर्णिमा तिथिसम्म श्रीदुर्गाभवानीको प्रसाद- टीका लगाए हुन्छ । अक्टोबर २५ र २६ (आइतबार / सोमबार)  दुबै दिन कुम्भराशिले छोएको हुनाले टीका थाप्दा पश्चिम फर्कनु उपयुक्त हुन्छ । कोही यस दिन धरती छोड्नु पर्छ भनी लिङ्गे पिङ्, रोटे पिङ्, जाँते पिङ्ग आदि खेल्दै रमाइलो गर्दछन् ।

श्रीदुर्गाभवानीले सबैको जय कल्याण गरुन् ।