विचार / ब्लग

को रोज्ने बाइडेन कि ट्रम्प ?

प्रकाशित |

अबको ठीक एक महिना पछि यतिखेर संयुक्त राज्य अमेरिकाका ४६ औं राष्ट्रपतिको को हुने हुन् भनेर लगभग नतिजा आइसक्नेछ । वर्तमान राष्ट्रपति डोनाल्ड जोन ट्रम्प नै दोहोरिन्छन् या पूर्ब उपराष्ट्रपति जोसेफ रोबिनेट बाइडेनले आउँछन् अहिलेनै एकीन गर्न कठिन छ । किनकी चुनाव भनेको मतपेटिका खोलेर गणना नभएसम्म अनिश्चितनै हुन्छ । बिभिन्न सञ्चारमाध्यमहरुले गरेका सर्वेक्षण र स्वतन्त्र पोलहरुले बाइडेन अग्रपङ्क्तीमा रहेको देखाइरहेका छन् । 

यो चुनाव जसरी पनि जित्नुपर्ने दवावमा राष्ट्रपति ट्रम्प छन् । पुरातनवादी, चर्चका पादरीहरु, रुसको चाहना पनि ट्रम्पले जित्नुपर्छ भन्ने छ । ह्वाइट सुप्रिमेसी रहनुपर्छ भन्ने धारणा लिनेहरु पनि ट्रम्पका पक्षमा खरोसँग उत्रिएका छन् । कथंकदाचित चुनाव हारियो भने पदनै नछाडने सम्मको संकेत ट्रम्पका बोलीले देखाइरहेका छन् । 

चार महिना अघि दी एटलान्टिकले प्रकाशित गरेको खोजपूर्ण रिपोर्टका अनुसार अमेरिकाको प्रजातन्त्र, मानव अधिकार, शान्ति सुव्यबस्था, सुशासनलाई कमजोर र धुजाधुजा बनाउन रुस र त्यहाँका राष्ट्रपति पुटिन लागेका छन् । विगत चार वर्षमा अमेरिकी भूमिका र महत्व विश्वमञ्चमा निकै कमजोर सावित भएको छ । अब पुटिनको दाउ ट्रम्पलाई जसरी पनि विजयी गराउने र अमेरिकी वैभवता, जनजीवनलाई तहसनहस बनाउने तिर उन्मुख रहेको दी हिलले हालै (सेप्टेम्बर १९ मा) प्रकाशित गरेको रिपोर्टमा समेत उल्लेख छ ।

अमेरिकाको उदारवादी समुह, वहुमत आप्रवासीहरु र ट्रम्पको भूमिकाबाट अमेरिका कमजोर हुँदै गएको धारणा राख्नेहरु डेमोक्रेटिक पार्टीका प्रत्याशी बाइडेनले जित्नुपर्छ भन्नेमा छन् । ट्रम्प दोहारिनु हुँदैन भन्ने धारणा लिनेहरुमा रिपब्लिकन पार्टीबाट निर्वाचित पूर्ब राष्ट्रपति जर्ज डब्लु बुस, धेरै सिनेटरहरु छन् । 

चार वर्ष अघि ट्रम्पले आप्रवासी प्रति नकारात्मक लक्षित बोलीले चुनाव जितेका थिए । विशेषगरि ल्याटिनो समुदायप्रति ट्रम्पको आक्रोश थियो । आप्रवासी निषेध मुलुक बनाउने नियत र नीति बोकेका ट्रम्पलाई पुरातनवादी समूहहरुको ठूलो साथ र समर्थन रह्यो सन् २०१६ को चुनावमा । 

अमेरिकाको ‘हाइपेड जब’ आप्रवासीले सबै लिएको, विशेषगरि सूचना प्रविधिको क्षेत्रमा चिनिया र भारतीयहरुले बढी सुविधा लिने गरेको, अमेरिकाका भेट्रानहरुले कुनै सुविधा नपाएको, शिक्षकहरुले राम्रो पारिश्रमिक नपाइरहेको, ठूला उद्योगहरु अमेरिका बाहिर रहेको जस्ता मुद्धाहरु उठाएर ट्रम्पले चुनाव जितेका थिए । छिमेकी मुलुक मेक्सिकोबाट क्रिमिनल र रेपिष्टहरु खुलमखुल्ला प्रवेश गरिरहेको र तिनलाई नियत्रन्त्रण गर्न पर्खाल लगाउनुपर्ने कुरालाई पनि ट्रम्पले चर्कोसँग उठाएका थिए । थपमा मेक्सिकोकै खर्चमा पर्खाल लगाउने घोषणा गरेका थिए ।

आठ वर्ष डेमोक्रेटिक पार्टीले शासन गर्दा अमेरिकी अर्थतन्त्र कमजोर भएको मुद्धालाई ट्रम्प्ले त्यतिखेर अघि निकै उठाएका थिए । 

त्यतिखेरको चुनावमा अमेरिकी सेन्टिमेन्टलाई ट्रम्पले मज्जासँग पक्डन सफल भएका थिए । हिलारी क्लिन्ट स्टेट सेक्रेटरी हुँदाका समयमा भएका विवादास्पद कार्यहरुलाई ट्रम्पले चर्को रुपमा उठाएका थिए । अर्कातिर बर्नी स्याण्डर्सका समर्थक र सहयोगीहरुले समेत हिलारीलाई असहयोग गरेको आरोप लागेको थियो ।

चार वर्षपछि फेरि अमेरिकी राष्ट्रपतिको चुनाव हुँदैछ । नोभेम्बर ३ तारिकमा हुने चुनावले अमेरिकाको नेतृत्वकर्ताको मात्र होइन आउँदो चार वर्षमा विश्वको अर्थतन्त्र, समाज, राजनीतिले लिने बाटोको निधो समेत गर्दछ । 

अमेरिकाको राष्ट्रपति हुनु भनेको विश्वलाई आपूm हिँडेको बाटोमा हिँडाउने नेता हुनु हो । चीन र उसको समर्थन गर्ने सिमित देशहरु बाहेक संसारका अधिकांश पूँजीवादी र युरोपका समाजवादी देशहरुले अमेरिकालाई पछ्याउँदै आएका छन् । अर्थात संसारका अधिकांश देशहरुले अमेरिकासँग तादम्यता राखेर आफनो विदेश नीति, अन्तर्राष्ट्रिय सरोकारका विषयमा धारणा बनाउने गर्छन् ।

एउटा भनाई छ–संसारका बाँकी देशका शासकहरु खराब भए भने तत् देशका जनताले दुःख पाउँछन् । तर अमेरिकाको शासक खराब भएभने संसारलेनै दुःख, पीडा भोग्नुपर्छ । यसको अर्थ संसारलाई कसरी अघि बढाउने ? पृथ्वीदेखि लिएर अन्तरिक्ष, चन्द्रमा, मंगलग्रहसम्मका अभियानमा कसरी अघि बढ्ने ? ग्लोबल वार्मिङदेखि लिएर आतंकवादको अन्त्य गर्न संसारले अमेरिकाले नेतृत्व लिइदेओस् भन्ने चाहेको हुन्छ ।

यी सबै कामका लागि कुटनीति बुझेको, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितीसँग जानकार, संसारलाई मिलाएर लिएर जानसक्ने नेतृत्व चाहिन्छ । वर्तमान राष्ट्रपतिबाट चार वर्षको अवधिमा यी कामहरु नभएको र अमेरिकाको अवस्था विश्वमञ्चमा कमजोर हुँदै गएको धारणा ट्रम्पका प्रतिद्वन्दी जो बाइडेनबाट होइन पूर्ब राष्ट्रपति बुसबाट व्यक्त हुँदै आएको छ । कोलेन पावेल जस्ता पूर्ब स्टेट सेक्रेटरी, भेट्रानले सार्वजनिक रुपमै ट्रम्पको नीति अमेरिकी नीति नभएको टिप्पणी गरिरहेका छन् । कैयौँ पूर्ब अमेरिकी कुटनीतिज्ञहरुले अमेरिकाको विदेश नीति, अर्थतन्त्र इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको भन्दै चिन्ता गरिरहेका छन् । ट्रम्पले घृणाको राजनीति अघि बढाएको, सामाजीक सद्भाव खल्बलाएको, जनताहरुलाई विभाजित गएको आरोप लागिरहेको छ । 

नेपालीलाई असरः

अमेरिकामा रहेका धेरै नेपालीहरु डेमोक्रेटिक दलसँग निकट रहेको देखिन्छ । डेमोक्रेटिक दलबाटै र समर्थनमा नेपालीहरुले बिभिन्न पदहरुमा चुनाव जितेका छन् । मेरिल्याण्ड राज्यको सदनमा ह्यारी भण्डारीदेखि लिएर कैयौँ सिटीहरुमा नेपालीहरु डेमोक्रेटिक दलबाट निर्वाचित भएका छन् । 

डेमोक्रेटिक दललाई आप्रवासीमैत्री दलका रुपमा लिइदै आएको छ । वैधानिक रुपमा आप्रवासीहरुलाई स्वागत गर्नुपर्छ भन्ने धारणा डेमोक्रेटिक दलका नेताहरुको देखिन्छ । यद्यपी पूर्ब राष्ट्रपति बाराक ओबामाको कार्यकालमा धेरै आप्रवासीहरु अमेरिकाबाट निकालामा परेका थिए । यो घटनालाई नेताहरुले बिभिन्न अपराधमा संलग्नहरुलाई गरिएको देश निकाला भन्दै आएका छन् । 

अमेरिकाको विदेश नीतिमा दुई दलहरुमध्य जुनसुकै आए पनि खासै फरक छैन । कम्युनिष्टलाई हेर्ने र गर्ने व्यबहार, आतंकवादसँग गर्ने मुकाविलामा दुइ दलका नीतिबीच खासै फरक छैन । तर डेमोक्रेटिकले आपूmलाई उदारवादी दलका रुपमा प्रस्तुत गर्दै आएको छ भने रिपब्लिकनमा भने पुरातनवादी सोच बोकेकाहरुको वाहुल्यता छ । चर्चको नीति अनुसार सञ्चालन, आप्रवासीमा कडाई लगायतमा रिपब्लिकनको प्रमुखता देखिन्छ । 

पछिल्लो समयमा ट्रम्प निर्वाचित भएयता एकपछि अर्को गरि आप्रवासीलाई हतोत्साहित बनाउने, त्रस्त पार्ने नीति आएका थिए । डाइभर्सिटी भिसा (डिभी) बाट आएकालाई शीटहोल नेसन (गुदद्वार देश) बाट आएका भनेर हल्का टिप्पणीमात्र होइन अपमानित गर्ने काम समेत राष्ट्रपतिबाट भयो । उनले डिभीलाई खारेजै गर्नेसम्म प्रस्ताव अघि सारे । आप्रवासीलाई अपमानित गर्ने बोली, व्यबहार पटक पटक राष्ट्रपतिबाट हुँदै आएको छ । शक्ति पृथकीकरणको व्यबहारको सही कार्यान्वयनका कारण अदालत राष्ट्रपति ट्रम्पको नीति कार्यान्वयनमा तगारो भएर मात्र हो । नत्र भने आप्रवासीले थप अपमानित र दुव्र्यबहार सहनुपर्ने संभावना त्यत्तिकै थियो । 

अमेरिकी अर्थतन्त्रका ठूलो योगदान गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई समेत ट्रम्प प्रशासनले मानसिक यातना दिइरहेको छ । विद्यार्थीहरुलाई चाँडै पढाई सकाउन दवाव मात्र होइन, योग्य र सक्षमलाई रोजगारीबाट समेत विमुख गराउनेतिर लागेको देखिन्छ । 

विशेषगरि नेपाल जस्तो देशबाट आएका आप्रवासीहरुले यो चुनावमा विवेकपूर्ण रुपले मताधिकार प्रयोग गर्नुपर्ने देखिन्छ । कुन दलको नीति के छ ? कुन उम्मेदवार कसरी प्रस्तुत भैरहेको छ ? उम्मेदवारको प्राथमिकतामा के के परेका छन् ? आफ्नो समुदायलाई उम्मेदवारले कसरी लिएका छन् भन्ने बारेमा गंभीर भएर सोच्न जरुरी छ । ‘सबै उस्तै हुन्’ भन्ने ¥याण्डम टिप्पणीभन्दा आफ्नो समुदायका वहुसंख्यकको हितमा कुन उम्मेदवारले कसरी बोलिरहेका छन् भन्ने कुरालाई अझै मिहिन रुपमा केलाउन जरुरी छ । 

आन्तरिक नीतिहरुमा जब शासक असफल हुन्छन् तिनले जनताको ध्यान मोड्न राष्ट्रियताको जलपमा आपूmलाई प्रस्तुत गर्छन् । सुनको जलप लागेको विषाक्त धातुको गहना लगाउने या चाँदीकै गहनामा चित्त बुझाउँदा ठीक हुन्छ भन्ने निर्णय विशेषगरि नेपालबाट आएका आप्रवासीले बुझ्नैपर्ने हुन्छ । तस्बिर:सामाजिक सन्जाल  

(लेखकः अमेरिकामा पिएचडीको शोधकर्ता हुन् ।) 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया