मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना


वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उनलाई शुक्रबार राति वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उनका विभिन्न औषधि मिश्रित खोप दिइएको चिकित्सकहरुले जनाएका छन् ।

उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधि शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाइ छ । 

राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा उनी मास्क लगाएको अवस्थामा देखिएका थिए । उनी राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा गएका हुन् । अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आफूले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताएका थिए । 

अस्पताल पुगेपछि पहिलो ट्वीट गर्दै शुक्रबार राति उनले लेखेका छन्, “मलाई राम्रो भइरहेको छ, सबैलाई धन्यवाद छ । माया छ ।” अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति ट्रम्प सङ्क्रमित भएका हुन्। उनले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार दिउँसो १ बजे सार्वजनिक गरेका थिए ।  

उनी बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि सङ्क्रमित भएकी छन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामन्य नै रहेको भिडियोमार्फत् जानकारी दिएका छन् । 

राष्ट्रपति ट्रम्पले आफू अस्पताल भित्रै रहे पनि काम भने गरिरहने योजना बनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेवारी दिएका छैनन् । उनी अहिले ७४ वर्षको भए । यो उमेर समूह कोरोना सङ्क्रमितहरुका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ । 

विश्वमै सबैभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट सङ्क्रमितहरु रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै सङ्क्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म दुई लाख १३ हजार ५९५ भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।