मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनका पर्यटकीय क्षेत्रका होटल तथा रेस्टुरेन्टको ३० अर्ब लगानी संकटमा

चितवनका पर्यटकीय क्षेत्रका होटल तथा रेस्टुरेन्टको ३० अर्ब लगानी संकटमा


चितवन । चितवनमा पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका होटल तथा रेस्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँ बढी लगानी सङ्कटमा परेको छ । 

जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण  बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् । 

पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २२५ वटा छन् । ती होटलमध्ये सबैभन्दा बढी रत्ननगरको सौराहामा ११० वटा छन् । सौराहाबाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल सङ्ख्या २९ वटा छन् ।

उनका अनुसार भरतपुर महानगरमा ६५ वटा, कालिकामा दुई वटा, खैरहनीमा तीन वटा, माडीमा तीन वटा, राप्ती  नगरपालिकामा– ३ वटा र ईच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेका छन् । ती होटलमा पर्यटकीय मौसममा दैनिक रु एक करोड ५० लाख बढी कारोबार हुने उनको भनाइ छ । अन्यमा त्यति नै व्यापार हुने सुवेदीले बताए । 

यसका अतिरिक्त पर्यटकीय गतिविधि जीप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, बसलगायतमा रु ३० लाख हाराहारी दैनिक कारोबार हुने व्यवसायी बताउँछन् । सुवेदीले जिल्लामा होटल रेष्टुरेन्टमा १६ हजार मजदूर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिए । ती होटल रेष्टुरेन्टमा रु ३० अर्ब भन्दा बढी लगानी छ । जसमध्ये ४० प्रतिशत भन्दा बढी बैंकिङ ऋण रहेको सवेदीले बताए ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसर यहाँ चैतदेखि असार १५ सम्म पर्यटकीय मौसम मानिन्छ । त्यसपछि भदौ १५ सम्मलाई पर्यटकीय मौसम मानिँदैन । त्यतिबेला पनि आधा व्यापार हुने भट्टराईको भनाइ छ । भदौ १५ पछिको यो समय पर्यटकीय मौसम हो । उनले भने “यो मौसम पनि त्यत्तिकै जाने भो ।” गत वर्षमा यतिबेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो । अहिले होटल चौकिदारले कुरेर मात्रै बसेका छन् । भट्टराईले गुनासो गरे, “दसैँको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आश थियो । त्यो पनि हरायो ।”

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बिचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताए । वातावरण पूर्ण सहज नभएसम्म होटल खोल्न नहुने भन्दै उनले अहिलेको घाटा परिपूर्ति गर्न निकै कठिन भएको गुनासो गरे । उनले भने, “बैंकहरुले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालु खर्च तिरेर स्तरोन्नति गर्ने तयारीमा छु ।” सबै होटल सञ्चालकको अवस्था घिमिरेको जस्तै रहेको छ । 

व्यवसायीको व्यवसाय मात्रै होइन, मजदूरको अवस्था पनि दयनीय बन्दै गएको छ । सबै बेरोजगार भएका छन् । उनीहरु दैनिकी कष्टकर बन्दै गएको छ । ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले मजदूरको अवस्था निकै दयनीय भएको बताए । होटल रेष्टुरेन्टमा काम गर्ने मजदूरले तलब पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाइ छ ।

जिल्लामा आन्तरिक र बाह्य पर्यटक कति आउँछन् वास्तविक तथ्याङ्क छैन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने वार्षिक दुई लाख हाराहारी छन् । निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कुल सङ्ख्या पाँच लाखमाथि हुने गरेको व्यवसायी बताउँछन् ।