मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साढे दुई वर्षपछि घर फर्कन्छु : प्रधानमन्त्री ओली

साढे दुई वर्षपछि घर फर्कन्छु : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालकोटस्थित आफ्नो निजी निवासमा विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् । नेकपाका अध्यक्षसमेत रहृका उनी बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि दिउँसो बालकोटस्थित निजी निवासमा फर्किएका हुन् । 
 
पत्नी राधिका शाक्यसहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गरे । आफ्नो शेषपछि उक्त घरमा ट्रस्ट बनाउने घोषणा गरेका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएका विषय, तस्बिर, पुस्तक र  महत्त्वपूर्ण दस्तावेजलाई शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा गरेको व्यवस्थापनको उनले अवलोकन गरेका हुन् ।  
 
त्यस क्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछिमात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने स्पष्ट पारे । उनका निकट पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले अब बालकोट कहिले फर्किने भनेर जिज्ञासा राख्दा ओलीले अब अढाइ वर्षपछि फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्नेतर्फ संकेत गरे । 
 
प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बाँस्कोटा र सांसद् महेश बस्नेतसँग राजनीतिक छलफलसमेत गरे । जनताको विश्वासलाई कायमै राख्न पनि अर्का अध्यक्ष प्रचण्डसँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको सांसद बस्नेतले जानकारी दिए । मुलुक र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको उनको भनाइ थियो । 
 
“जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीतेकरेला खुवाएर कुरा गर्नुपर्छ”,  बालुवाटारमा अध्यक्ष दाहालसँगको वार्तापछि बालकोट आएका प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सांसद बस्नेतले भने । 
 
बालकोट निवासमा प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोटका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखलगायतको टोलीसँग भक्तपुरको शान्ति सुरक्षाबारे जिज्ञासा राखेका थिए ।  
 
प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणका बारेमा पनि चासो राखे । कोरोना भाइरस सङ्क्रमण रोक्न र शान्तिसुरक्षा मजबुद बनाउन भक्तपुरका सांसद् र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको बताए । 
 
प्रधानमन्त्री भएपछि तेस्रोपटक बालकोटस्थित निजी निवास पुगेका उनी यसअघि गत माघ १६ मा वसन्तपञ्चमीका दिन पुगेका थिए । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उनी पहिलोपटक निजी निवास पुगेका हुन् । प्रधानमन्त्री दम्पती आफ्नो निवास र करेसाबारी निरीक्षणसमेत गरेर करिब एक घन्टापछि बालकोटबाट बालुवाटार फर्केको थियो । रासस