मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

भाषा वलात्कृत !

भाषा वलात्कृत !

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भाषा वलात्कृत ! तपाईहरुलाई यो वाक्य सुन्दा आश्चर्य लाग्यो होला तर हो, यो परदेशमा भाषामाथि वलात्कार भइरहेछ । गत हप्ता मेरा मित्र पेशल पोखरलेले भाषामाथि एउटा आलेख लेख्दै गायकलाई गायककार बनाउनु भाषा सेवा होइन, अज्ञानता हो, सिक्ने र पर्खने धैर्य देखाउनुपर्छ भन्ने आशयको आफ्नो विचार राख्नुभएको थियो । 
 
आदिकवि भानुभक्त आचार्यको २०७ औँ भानुजयन्ती रचना वाचन कार्यक्रमको निमन्त्रणामा गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, च्याप्टरका अध्यक्षले पठाएको यो निमन्त्रणाले यस विषयमा धेरथोर लेख्ने उत्प्रेरणा दियो । कुल ९५ शव्दको यो निमन्त्रणामा स्पष्टतः तीन दर्जन गल्ती छन् । मेरो विचारमा यो भाषिक त्रुटि वा अज्ञानता होइन, भाषामाथिको खेलवाड र हुर्मत हो । ल त अंग्रेजीमा यस्ता गल्ती गरौँ, तपाईँ कहीँ पनि जागिर खान सक्नुहुन्न । 
 
निमन्त्रणाको व्यहोरा जस्ताको तस्तैः गल्तीहरुलाई अण्डरलाइन गरेको छु । 
 
बोष्टनमा २०७ औ भानु जयन्ती । एवँ  रचना बाचन कार्यक्रम। 
माध्यमः अनलान जुम भिडियो ।
मितिः जुलाई २६, २०२० आइतबार
बोष्टनको समय दिसो १२(२ बजे।
सम्पुर्ण नेपालीलाई हार्दिक निमन्त्रणा । 
ईच्छुक साथीहरुलाई जुम लिक ऊपलब्ध गराईनेछ । 
 
बोष्टनमा २०१२ देखि कार्यक्रम हलमा बिबिकार्यक्रम सहितब्य रुपमा भानु जयन्ती मनादै आएका थियौ। यसपाली कोरोनाले गर्दा समय अनुकुल भएन, अर्कोतर्फ अनेसास को चुनावले गर्दा एक हप्ता पछि धकेलियो । धेरै पर हुन नदिन कार्यक्रम आयोजना गरेका छौ । सबैजना जुममा भेट हुनेछौ, साहित्य रचना सुन्नेछौ ,सुनाउनेछौ भानुभक्तलाई सम्झनेछौ आदिकवि प्रति श्रद्दा सम्मान अर्पण गर्नेछौ । अनेसास बोष्टनलाई साथ दिदैऊनुभएका सम्पुर्ण मित्रहरुलाई हार्दिक निमन्त्रणा ।
 
प्रार्थी 
अनेसास बोष्टन
हो, यस्ता साहित्यिक कार्यक्रमहरु नहुनुभन्दा हुनु राम्रो हो । तर यसरी भाषाको नाममा यस्तो किसिमले हुर्मत लिने कार्यक्रम हुनुभन्दा नहुनु निको हो । मेरो मनको आदेशले यो विषयमा लेख् भनेर मलाई वारम्वार झक्झक्यायो । तँ भाषाको प्रहरी होस् भाषामाथि वलात्कार भइरहँदा ओछ्यानमा कहाँ आरामले सुत्न सकिँदोरहेछ र ? त्यसलाई पक्रने हिम्मत गरेको छु । म पनि विज्ञ त कहाँ हो र ? तैपनि भाषासँग मेरो लगाव छ । कोही रिसाउला वा कोही मलाई झम्टन आउला भन्ने डर र संशयका वावजुद पनि यो विषयमा कलम चलाउन वाध्य भएको हुँ । हो, सवैजना भाषामा पोख्त हुँदैनन् यो ठूलो कुरा पनि होइन तर यो परदेशमा मातृभाषाको सेवा गर्छु, नयाँ पुस्तालाई भाषा सिकाउँछु, नेपाली साहित्यको सम्वृद्धिमा एउटा भए पनि इँट थप्छु भनेर साहित्य समाजको अध्यक्ष र अन्य पदाधिकारीको हैसियत राख्नेले कम्तीमा पनि आफ्नो नाम, ठेगाना र निमन्त्रणा नेपालीमा शुद्ध लेख्नुपर्छ भन्ने मेरो मान्यता हो । भाषाको यो विद्रूपता देख्नुभयो भने भाषाका मेरा गुरु प्रा.माधवप्रसाद पोखरेल, लगायत बालकृष्ण पोखरेल, मोहनहिमांशु थापा र मोहनराज शर्माहरु कति हाँस्दा हुन् ? मैले गत हप्ता मात्र अनेसासको निर्वाचनमा विजयी उम्मेदवारहरुलाई वधाइ दिने क्रममा सवैभन्दा पहिले आफू र आफ्ना छोराछोरीको नाम शुद्ध लेख्न सक्नुस् भन्दै शुभकामना दिएको थिएँ । यो पनि त्यसैको कडी हो । 
 
अनेसासका च्याप्टर अध्यक्षले पठाएको निमन्त्रणाको यो भाषा देख्ने र बुझ्ने व्यक्तिलाई कुरिकुरि लाग्छ । शव्दमा त छँदैछन् कतै कतै त एउटै अक्षरमा पनि दुइटा गल्ती छन् । यो भाषाको वलात्कार नभए के हो ? भाषामाथिको अत्याचार नभए के हो ? अध्यक्षको कुर्सीमा बसेपछि तथानाम भाषामाथि यसरी हुर्मत लिने ? यसले के स्पष्ट पारेको छ भने तपाई अध्यक्षको कुर्सीमाथि बस्ने अदक्ष हो । तपाईँलाई त्यो कुर्सीमा बस्ने एक मिनेट अधिकार पनि छैन । महोदय, तपाईँले कहाँ, कहिले भाषाको सेवा गर्नुभयो ? कहाँ साहित्य लेख्नुभयो ? तपाईलाई त केबल चाहिएको छ, खादा, माला, आसन र भाषण । र, विविध कार्यक्रमहरुमा उद्घोषकले उच्चारण गर्ने तपाईको नाम र अग्रपंक्तिको आसन । वा…..साहित्यकारज्यू । अनि अग्रासनमा बसेर भाषा र साहित्यका ठूला ठूला कुरा गर्ने पनि तपाईँ नै ? भाषासँग यसरी नजिस्कनुस् । यो खेँलाची हुँदै होइन । किनकि शव्द त व्रम्ह हो । हो, तपाईँ मात्र होइन, यो परदेशमा भाषाको मादकतामाथि वलात्कृत गर्ने । तपाईँजस्ता यत्रतत्र सर्वत्र छन् । भाषामाथि गरेको व्यभिचारमा एक पटक सबैले आत्मसमीक्षा गरौँ, अलिअलि सिकौँ र कम्तीमा पनि साहित्यको कुर्सीमा बस्ने धृष्टता नगरौँ । यो नै भाषाप्रतिको न्याय पनि हो । 
 
क्षमा गर्नुस्, तपाईँले पठाएको यो निमन्त्रणालाई स्वीकार गरेर म त्यस कार्यक्रममा आउन सक्दिन । हो, भानुभक्त हाम्रै हुन् । उनको ससुराली खलक हामी मानहुँका खनाल नै हौँ र त्यसमा सदा गर्व लाग्छ । तर त्यो कार्यक्रमको गुणात्मक स्तर वृद्धिका लागि होइन, यो औपचारिकता र खादा र मालाको सत्यानाश मात्र हो । अस्तु । 
वोस्टन, अमेरिका ।