मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

जुलाई ३ देखि एनआरएनए एनसिसीको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन हुने

जुलाई ३ देखि एनआरएनए एनसिसीको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन हुने


अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) अमेरिकाको आसन्न नवौँ साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको बारेमा जानकारी दिने उद्देश्यले जुन २८ तारिखका दिन जुम एपमार्फत अनलाइन पत्रकार सम्मेलन सम्पन्न भएको छ ।   
 
कोभिड–१९ भाइरसका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिमा यसको संक्रमणवाट जोगिन सामाजिक दुरी कायम गर्नु अहिलेको मुख्य आवश्यकताको पक्षलाई विशेष ख्याल गरी अनलाइन रुपमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं साधारण सभा आउँदो जुलाई ३ देखि ५, २०२० सम्म गर्न लागिएको उक्त सम्मेलनमा बोर्डका पदाधिकारी र वार्षिक साधारण सभा तथा नेशनल नलेज कन्भेन्सन तयारी समितिका पदाधिकारीहरुले तयारीका बारेमा जानकारी गराएका थिए ।   
 
उक्त सम्मेलनमा बोल्दै एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साहले यस ऐतिहासिक सम्मेलनमा सहभागी हुन सबैलाई अनुरोध गरेका थिए ।   
 
उनले वर्तमान नेतृत्वलाई संसारको परिस्थिति देखाएर साधारण सभा नगर्न धेरै सुझाव आए पनि आफूहरुले सजिलो बाटो नखोजेर जोखिमको बाटो अवलम्बन गरेको जानकारी दिए । साहले भने, ूसबै कुरा नयाँ छन्, चुनौतीपूर्ण छन् र साथमा यी सबै अवसर हुन् भनेर हामी सक्रियताका साथ अगाडि बढेका छौं।ू
  
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा आसन्न साधारण सभाका कन्भेनर डाक्टर अर्जुन बन्जाडेले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । आफूहरुले सुरुमा कसरी सम्भव होला र भनेर थालनी गरेको काममा धेरै नै मेहेनत गरेर अब त जसरी पनि गरिन्छ भन्ने स्थितिमा पुगेको उनले बताए ।   
 
उनले साधारण सभा र ज्ञान सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालबाट नै गर्ने जानकारी दिए । साथै, आइसिसीका अध्यक्ष कुमार पन्तलगायतका विशेष अतिथिहरुले निमन्त्रणा स्वीकार गरिसकेको कन्भेनर बन्जाडेले जानकारी दिए ।  
  
यसपटकको साधारण सभामा विधानका केही कुराहरु संशोधन गर्न लागिएको र प्रक्रियाअनुरुप सदस्यमाझ लैजाने तयारीमा आफूहरु रहेको उपाध्यक्ष तथा विधान समितिका संयोजक बिआर लामाले जानकारी गराए । उपाध्यक्ष लामाले प्रक्रियाअनुरुप साधारण सदस्यदेखि विज्ञहरुसम्मले पठाएका सुझाव र सल्लाहलाई संकलन गरी सबैको आवाज सुनुवाइ होस् भन्नेगरी काम गरिरहेको पनि जानकारी दिए ।  
  
महासचिव पशुपति पाण्डेले संस्थाका सबै सदस्यहरुले एकैपटक सहभागी हुन् सक्नेगरी तयारी गरेको जानकारी दिए। भौतिक उपस्थितिमा हुने कार्यक्रमभन्दा भर्चुअल उपस्थितिमा हुने कार्यक्रम गर्न धेरै मेहेनत गर्नुपरेको अनुभव पनि पाण्डेले सुनाए । सबै स्थान र सबैको चाहनाअनुसारको समय व्यवस्थापन गर्न अलिक अफ्ठेरो परेको उनले बताए । उनले पत्रकार सम्मेलनमार्फत सबै सदस्यहरुलाई जुलाईको १ तारिखभित्र नै अनलाइन रजिस्ट्रेसन गर्न सार्वजनिक अनुरोध गरेका छन् ।    
 
यस साधारण सभाकै अवसरमा अमेरिकाबाट सुरु भएको ज्ञान सम्मेलनको निरन्तरतालाई विशेष जोड दिई ज्ञान सम्मेलनसमेत समावेश गरिएको छ । सम्मेलनमा  विभिन्न शीर्षकमा रहेर विषयगत छलफलहरु हुने नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले जानकारी गराए ।   
 
संयोजक डा सिग्देलले आफूहरुले आठ वटा सिम्फोजियम र चार वटा टाउन हल छलफलको लागि तयारी गरेको जानकारी दिए। हामीले पढेर ज्ञान पाएकाहरुका साथै लामो समय काम गरेर अनुभवले ज्ञान हासिल गरेकाहरुलाई पनि छलफल सहभागी बनाउन लागेको जानकारी दिए। यो समितिका सदस्यहरु सतिश त्रिपाठी र डा राजेन्द्र पंगेनीले पनि कार्यक्रममाथि प्रकाश पारेका थिए ।  
  
त्यसैगरी यो तीन दिनको सम्मेलनको प्राविधिक पक्षका बारेमा आईटी समितिका संयोजक पशुपति पाण्डे, सहसंयोजकद्वय दधि ढुंगाना र सदस्य पदम भण्डारीले प्रकाश पारेका थिए । उनीहरुले सदस्यको सूचना सुरक्षालाई प्राथमिकतामा राखेर सहभागीहरुको अधिकारलाई प्रदान गर्न हरसम्भव प्रयास गरिएको जानकारी दिए।   
 
यति धेरै संख्याका सहभागीहरुको अनलाइन सम्मेलनको प्राविधिक तयारी गर्नु सजिलो नभए पनि आफूहरुले धेरै नै समय खर्च गरेर अमेरिकाका नेपालीहरुले गौरव गर्न लायक काम गरिरहेको विश्वास पनि सहसंयोजक दधि ढुंगानाले व्यक्त गरे ।  
  
साधारण सभामा सहभागिताका लागि अग्रिम दर्ता गर्न सकिने व्यवस्थासमेत मिलाइएको छ । नवौं साधारणसभामा सहभागिताका लागि आउँदो जुलाई १, अपरान्ह ५ बजे (पूर्वीय समय) भित्र अनलाइन रजिष्टर गर्नका लागि पनि मिडियामार्फत सबै सदस्यहरुसमक्ष अनुरोध गरिएकोे छ । साथै सञ्चारकर्मी मित्रहरुलाई पनि साधारण सभामा सहभागी हुन विशेष अनुरोध गरिएको छ ।   
 
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा हुने साधारण सभामा तथा ज्ञान सम्मेलनको कार्यक्रम तालिकाअनुसार जुलाई ३ मा साधारण सभाको उद्घाटन कार्यक्रम, जुलाई ४ मा ज्ञान सम्मेलन, जुलाई ५ मा वार्षिक साधारणसभा हुने मिडिया कोअर्डिनेटर सतिश चापागाईंले जानकारी दिए ।