मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपालको पर्यटकीय होटलमा ‘पे नाउ, गो लेटर’ अभियान सुरु

नेपालको पर्यटकीय होटलमा ‘पे नाउ, गो लेटर’ अभियान सुरु


चितवन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण दुई महिनाअघिदेखि लागू गरिएको लकडाउनका कारण सबै क्षेत्रमा संकट उत्पन्न भएको छ । 
 
विशेष गरी पर्यटन क्षेत्र प्रभावित भएको छ । भ्रमण वर्ष २०२० मा २० लाख बढी पर्यटकलाई स्वागत गर्ने आशा र उत्साह बोकेको पर्यटन क्षेत्रलाई सुरुवातमै दाँतमा ढुंगा लागेको छ । 
 
अर्बौं लगानी भएको पर्यटन व्यवसाय बन्द रहँदा यस क्षेत्रमा काम गर्ने श्रमिकहरु प्रभावित बनेका छन् । पर्यटन क्षेत्रलाई बिस्तारै माथि उठाउन र छिटो सुचारु हुने आशाका साथ सौराहाका पर्यटन व्यवसायीले भ्रमण गर्न चाहने तर लकडाउनले योजना अवरुद्ध भएकाहरुका लागि सहज होस् भन्ने उद्देश्यले ‘पे नाउ, गो लेटर’ अभियान सञ्चालन गरेका छन् । 
 
अभियानका संस्थापक एवं जंगल सफारी लज सौराहाका सञ्चालक सुमन घिमिरेले पर्यटकको सुविधाका लागि अग्रिम पैसा लिने र उपयुक्त समयमा सेवा लिन सक्ने योजनाअनुसार अभियान चलाएको बताए । 
 
उनका अनुसार यस अभियानमा संलग्न हुन होटलहरुले www.paynowgolater.com साइटमा गएर रजिस्टर गर्नुपर्ने छ । यो अभियानमा दर्ता गरिएका नेपालभरका होटलहरु सहभागी हुनसक्ने छन् । 
 
पर्यटकले अग्रिम तिरेको रु दश हजार, कम्तीमा साठी दिनपछि स्वतः बढेर १५ हजार हुनेछ । र, सो रकमबाट आन्तरिक तथा विदेशी पर्यटकले होटलको खाना र कोठाको बिल तिर्न सक्नेछन् । 
 
घिमिेरेका अनुसार यससम्बन्धी शर्तहरु होटलहरुले आआफ्नै किसिमले राख्न पाउनेछन् । उनी भन्छन्, ‘हामीसँग जोडिँदै गएका होटललाई हाम्रो वेभसाइटमा अध्यावधिक गर्दै जाने छौँ । र, यो अभियान हाम्रो पर्यटन क्षेत्रले गति नलिएसम्मका लागि अगाडि बढाउने सोच बनाएका छौँ ।’ 
 
अहिलेको कठिन समयमा पर्यटकले अग्रिम भुक्तान गर्दा पर्यटकको रोजाइ र मनपर्ने होटललाई निरन्तर सञ्चालन गर्न सहयोग पुग्ने उनको विश्वास छ । जसबाट होटलमा काम गर्ने हाउसकिपरहरू, सेफहरू, रिसेप्सन डेस्क टिम, सुरक्षाकर्मीहरू, बार टेन्डरहरू तथा होटल सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेहरुलाई सहयोग पुग्ने उनको भनाइ छ । 
 
पर्यटकले अग्रिमरुपमा तिरेको रकमबाट होटलको पूर्वाधार तथा सञ्चालनमा निरन्तरता दिन सहयोग पुग्नुका साथै पर्यटकले पनि छोटो समयमा बढी मूल्य पाउने हुँदा दुवैको हितको लागि यो अभियान प्रभावकारी रहेको होटल एशोसिएसन नेपाल सौराहाका पूर्वअध्यक्षसमेत रहेका अभियानका संस्थापक घिमिरे बताउँछन् ।