मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण


वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैया उपमहानगर ७ का ७० वर्षीय एक वृद्धमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
 
कलेजले हतारमा शव आफन्तको जिम्मा लगाएका कारण मृतकको अन्तिम संस्कारसमेत भइसकेको छ । 
 
अन्त्येष्टि भइसकेपछि वृद्धमा कोरोना पोजेटिभ देखिएपछि उनका परिवारका सबै सदस्यको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ । 
 
सो कलेजले लापर्बाहीपूर्ण ढंगले कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षणकै प्रक्रियामा रहेका बेला हतारमै शव परिवारको जिम्मा लगाएको थियो ।
 
मृतकको चौंथो रिर्पोट पोजेटिभ आएपछि मेडिकल कलेजलाई छानबिन सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ । 
 
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले तीनपटकसम्म ती वृद्धको रिपोर्ट शंकास्पद आएको र चौंथो पटकमा मात्र पोजेटिभ देखिएको बताए ।
 
पटक-पटक रिर्पोट शंकास्पद देखिँदा यकिन गर्न समस्या भएको थियो । जेठ ३ गते संकलन भएको स्वाबको परीक्षण नारायणीको ल्याबमा पहिलोपटक ५ गते शंकास्पद देखिएको थियो ।
 
त्यसपछि पुनः ६ गते परीक्षण गर्दा शंकास्पद नै देखिएपछि थप परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।  
 
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले नारायणी अञ्चल अस्पतालमा शंकास्पद देखिएपछि टेकुमा गरिएको परीक्षणमा वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
 
नेपालमा योसहित चार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयको अद्यावधिक विवरण सार्वजनिक हुन बाँकी छ । कुल ६७५ संक्रमितमध्ये १०५ जना निको भइसकेका छन् ।