मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालीलाई बिचल्लीमा पर्न नदिने अष्ट्रेलियाको प्रतिबद्धता

नेपालीलाई बिचल्लीमा पर्न नदिने अष्ट्रेलियाको प्रतिबद्धता


काठमाडौँ । अष्ट्रेलियाले आफ्नो भूमिमा रहेका नेपालीलाई बिचल्लीमा पर्न नदिने र उनीहरूको उपयुक्त हेरविचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
 
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको टेलिफोन वार्तामा अष्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले नेपालीहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
 
कोभिड–१९ को विश्वव्यापी महामारीबाट अष्ट्रेलियामा पनि प्रभावित भएको र त्यसबाट त्यहाँ रहेका नेपालीलाई पर्नसक्ने कठिनाइप्रति मन्त्री ज्ञवालीले ध्यानाकृष्ट गराउँदा समकक्षी पेनले सबैले रुचाएको नेपाली समुदायको हित र सुरक्षालाई अष्ट्रेलियाले ध्यान दिने बताए । 
 
टेलिफोनवार्ताबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले भने, “अष्ट्रेलियाली पर्यटकहरूको हालैको स्वदेश फिर्ती, अष्टे«लियामा रहेका नेपाली विद्यार्थीको हित र सुरक्षा, नेपाल र अष्ट्रेलियाबीच भावी दिनमा नेपाल वायु सेवा निगमले गर्ने सिधा सेवा, नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षका सन्दर्भमा आपसी सहकार्य र साझेदारीबारे विचार विमर्श भयो ।”
 
कोभिड–१९ विरुद्ध द्विपक्षीय एवं बहुपक्षीय साझेदारीको अपरिहार्यतामा आफूले जोड दिएको बताउँदै मन्त्री ज्ञवालीले समकक्षी पेनले पनि त्यसलाई सकारात्मकरूपमा लिनुभएको जानकारी दिए । 
 
कोभिड–१९ विरुद्धको अष्ट्रेलिया सरकारले चालेका प्रयासप्रति नेपालका तर्फबाट मन्त्री ज्ञवालीले ऐक्यबद्धता जनाएका थिए । अन्य देशको तुलनामा उक्त भाइरसको सङ्क्रमण कम भएकाले त्यसबाट अष्ट्रेलियाले शीघ्र पार पाउने शुभेच्छा पनि उनले व्यक्त गरेका थिए । 
 
आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले निर्वाह गरेको भूमिकाको मन्त्री पेनले सराहना गर्दै नेपाल वायु सेवा निगमलाई भविष्यमा अष्ट्रेलिया उडान भर्न सघाउने बताएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
 
उनले मन्त्री ज्ञवालीलाई अष्ट्रेलियामा स्वागत गर्न आफूले व्यग्र प्रतीक्षा गरिरहेको तथा परिस्थिति सामान्य भएपछि पूर्वनिर्धारित भेटवार्ता गर्ने बताएका थिए । रासस