मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कोरोना त्रासले आत्मविश्वास नटुटोस्

कोरोना त्रासले आत्मविश्वास नटुटोस्


घरभित्र बन्दी बनेर लास गन्न थालेको दुइहप्ता बित्यो । जोड मात्रै भेट्छु, माइनस कतै देख्दिन । आफू बसेको सहर समेत संक्रमित भएर चिच्याएको सुन्छु, लाग्छ मॢत्यु छेउमै छ । 
 
आज बिहानै समाचार आयो, न्युयोर्कमा अरु तीनजना नेपाली हामीले गुमायौं । गएको १५ दिनमा त्यहाँ चारजना नेपालीले ज्यान गुमाए । यतिबेला म लेखिरहेको छु, अर्कोतिर समाचारले भन्दैछ–अमेरिकामा कोरोना भाइरसले झन्डै दशहजारको ज्यान गयो । तीनलाख भन्दा धेरै मानिस संक्रमित छन् । विश्वव्यापी बनेको यो महामारी कहिले र कसरी टुङ्गिन्छ, कसैसँग जवाफ छैन । 
 
कुनैबेला आफ्नो गाउँमा हैजा र औलोको महामारी देखेको र भोगेको पक्कै हो , तर यस्तो जब्बर सरुवा रोगको कल्पना गरेको थिइन । औषधि चक्की भए खाएर निको हुन्थ्यो । खोप भैदिए लगाएर बाँचिन्थ्यो । केही पनि छैन, मात्र त्रास र छट्पटीमा बन्द घरभित्र थन्किएर आआफ्नो आयुको जोखाना हेर्न बाध्य छ यो जिन्दगी । 
 
आउने वर्ष हामी बुढाबुढी नेपाल फर्किने योजना बुँन्दैथियौं । केही साथीहरु सुझाव दिन्थे – यस्तो साधन सम्पन्न देशमा हुनुहुन्छ, यति राम्रो र भरपर्दो स्वास्थ्यसेवा छ । किन जाने नेपाल ! साथीहरुको कुरा सुन्दा लाग्थ्यो, हो है दुख पाएर मर्न किन जाने । अर्को मनले भन्थ्यो – मर्न परे आफ्नै माटोमा मरौंला । यस्तै दोमनमा अल्झिरहेको मेरो सोचलाई कोरोनाले झसङ्ग पार्दियो । साधन सम्पन्न शक्तिराष्ट्र् अमेरिका कोरोनासंग निरीह बनेको देख्छु , संक्रमणसँग जुधिरहेको असफल प्रयासहरु हेर्छु र स्वतन्त्रताको नाममा मानिसको जीवनलाई व्यापार व्यवसायसँग दाँजेको देख्छु । औडाहा हुन्छ मलाई । यस्तो महामारीको बेला शालीन,सभ्य र सौहार्द बोली बाँड्नु पर्ने अमेरिकी जनताको अभिभावक रुखो र दम्भी व्यवहार बाँड्दैछन् । लाग्छ, राष्ट्रपति ट्रम्प मानवीय संवेदनाहीन प्राणी हुन् । मॢत्युलाई एकलाखमा अड्याउन पाए उनको लक्ष पूरा हुनेछ । अनि त्यो बेला उनी कोरोनामाथिको विजयोत्सव मनाउनेछन् । महामारीसँग जुधिराखेका गभर्नरहरुसँग पौंठेजोरी खेल्छन् । अलिकति आलोचना भयोकि संचारकर्मीको खेदो खन्छन् । यस्तोबेला सबैको साथ र सहयोग चाहिन्छ , ट्रम्प आफ्नै सल्लाहकारहरुको समेत वेवास्ता गर्दैछन् । संसारका प्राय सबै कोरोना संक्रमित देशहरुले लकडाउन गरिसके । ट्रम्प भने ग्रेट अमेरिकाको बुख्याँचा आवरणमा आफ्नो देश र जनताप्रति अन्याय गर्दैछन् । 
मेरो पनि अमेरिका बसाइ सत्रवर्ष लाग्यो । यो अन्तरालमा तीनजना राष्ट्रपतिको कार्यक्षमता र शैली देखियो जर्ज बुश,ओबामा र ट्रम्प । 
 
वी मेक अमेरिका ग्रेट एगेन भनेर चुनाव त जिते । तर अघिल्ला दुई राष्ट्रपतिको दाँजोमा उनको कार्यक्षमता र शैली प्रारम्भदेखि नै आलोचित बन्दै गयो । कथित राष्ट्रवादी पगरीमा सजिएका ट्रम्प कोरोना महामारीसम्म आइपुग्दा उनको हठी र दम्भी स्वभावका कारण वस्त्रहीन हुनपुगे । म यस्तो वस्त्रहीन रमिता हेर्न वाध्य छु । 
 
मलाई लाग्थ्यो,जे भएनि अमेरिकामा छु, ढुक्क छु । गाँस ,बास र कपास दिएकोछ । स्वतन्त्रपूर्वक बाँच्ने परिवेश दिएकोछ । अमेरिका बसाइले धेरै कुरा सिकायो । थाहा नभएका,सुनेर पनि अनुभव नगरेका ज्ञानगुनका शीप थाहा भयो ।  मैले पनि दिनरात नभनी पसीना बगाएँ । अस्तिसम्म पनि त्यस्तो धपेडी चल्दै थियो । अकस्मात कहाँबाट आइपुग्यो कोरोना, ठप्प भयो यो धपेडी । हप्ता दशदिनसम्म त रमाइलो भयो । बल्ल घरभित्र आरामले सुस्ताउन पाइयो । मेसिन जिन्दगीलाई थन्क्याएर शान्त र अलौकीक जीवन पाएसरह लाग्यो । प्रेमील जिन्दगीमा अझै रौनक आएझैं लाग्यो । अमेरिकाजस्तो शक्तिसँग कोरोना के टिक्थ्यो । एकहफ्ता मै पराजीत हुनेछ भनेर विश्वस्त्त  थियो मन । हुनत म सधैं सकारात्मक बन्नुपर्छ भन्ने सोचको मान्छे । समस्या आउँछ पार पनि हुन्छ । त्यसैको पीरमा पिल्सिएर बस्नुभन्दा जेहोला हेरौंला भनेर बाँच्नु पर्छ जीवन भन्दै मनलाई आश्वस्त पार्ने मेरो बानी छ । तर मेरो यो आत्मविश्वास कतै कोरोना सन्त्रासमा विटुलो नहोस् , म हरपल त्यस्को निगरानीमा छु । 
 
डाक्टर ,नर्स र स्वास्थ्यकर्मीहरु ज्यानको बाजी लगाएर कोरोनाको युध्द मैदानमा लडिरहेको देख्छु ,मन शान्त हुन्छ ।अर्कोतिर मानिसहरुको लाशको लस्कर अंत्येष्टीको पर्खाइमा देख्छु , लाग्छ म बसेको धरती सखाप हुँदैछ । देश विदेश सबैतिरका समाचार नहेरी मन मान्दैन । यथार्थबाट भाग्ने कुरा पनि भएन । जता हेरेपनि मॢत्यु मात्रै देख्छु । अझै मॢत्युलाई एकलाखमा अड्याउने आफ्नै राष्ट्रपतिको उद्घोष  सम्झिन्छु,मेरो नीर्भिक आत्मविश्वास स्खलित हुन्छ । तर पनि आश कहाँ मर्छ र ! कोरोना पराजीत भएको त्यो क्षणको पर्खाइमा म घरको झ्यालबाट अनिश्चित भविष्य नापिरहेको छु ।