मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी एकता गरेको प्रधानमन्त्री बन्नमात्रै होइन : प्रचण्ड

पार्टी एकता गरेको प्रधानमन्त्री बन्नमात्रै होइन : प्रचण्ड


बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागिमात्रै नभएको दाबी गरेका छन् । 
 
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको प्रस्ट्याए । 
 
“प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यका लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होइन, धेरै कुराको विचार गरेर पार्टी एकता भएको हो”, प्रचण्डको भनाइ थियो ।  
 
उनले मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको बताए । उनलेले विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म पुर्‍याएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको जिकिर गरे । 
 
उनले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको बताए । उनले प्रदेश नं ५ मा सरकार र पार्टी तुलनात्मकरूपमा धेरै सफल भएको उल्लेख गर्दै मुख्यमन्त्री एवं पार्टीका प्रदेश इन्चार्ज शङ्कर पोखरेलको प्रशंसा गरे । 
 
नेकपा प्रदेश नं ५ कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र मुख्यमन्त्री पोखरेलले प्रशिक्षण दिएका थिए । 
 
नेकपा प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले कार्यक्रममा प्रदेश नं ५ का पार्टी कमिटीका तीन हजारभन्दा बढी सदस्यको सहभागिता रहेको जानकारी दिए ।