मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बूढीगण्डकी जलविद्युत् परियोजनाले छिट्टै गति लिन्छ : प्रचण्ड

बूढीगण्डकी जलविद्युत् परियोजनाले छिट्टै गति लिन्छ : प्रचण्ड


धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताएका छन् । 
 
सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा उद्घाटन गर्दै उनले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताए । 
 
 जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उनले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गरे । 
 
पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मस्र्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको उनको भनाइ थियो । 
 
निजी, सार्वजनिक र सहकारीको विकास गर्दै समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्दै अध्यक्ष दाहालले ल्हसाबाट काठमाडौँ, पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने प्रतिबद्धता व्यक्त गरे । 
 
हालको अवस्थामा निजी क्षेत्र पनि उत्साहित भएको बताउँदै उनले विदेशी लगानी भित्रिएमात्र नेपाल प्रगतितर्फ अग्रसर हुने धारणा व्यक्त गरे । 
 
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेपाङ, मगर, लामा, झाँकी प्रस्तुत गरिएको थियो । कूल १५५ स्टल रहेको महोत्सवले पाँच करोडको कारोबार गर्ने छ भने महोत्सवमा दुई लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । 
 
धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदि सामग्रीको प्रदर्शनी गरिएको छ । उद्घाटन समारोहमा सांसद् खेम लोहनी, मीन विश्वकर्मा, भूमि त्रिपाठीलगायतले शुभकामना व्यक्त गरेका थिए ।