मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

क्रिकेट रंगशाला सहयोगार्थ महोत्सव सम्पन्न : ५६ करोड संकलन, धुर्मुस उत्साहित

क्रिकेट रंगशाला सहयोगार्थ महोत्सव सम्पन्न : ५६ करोड संकलन, धुर्मुस उत्साहित


चितवन । नेपालकै गौरवको परियोजनाका रुपमा लिइएको चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुटाउने उद्देश्यले सञ्चालित धनधान्यान्चल महोत्सव सोमबार सम्पन्न भएको छ । 
 
महोत्सवको राजकीय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते र श्रीलंकाका भिक्षु पानासारा थुरुले संयुक्तरुपमा समापन गरेका हुन् । समापन समारोहका प्रमुख अतिथि राजकीय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्तेले गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माण अभियानमा कुनै जात र धर्म संस्कृतिभन्दा माथि उठेर सबैले सहयोग गरेकाले सफल हुने विश्वास व्यक्त गरे । 
 
नेपाललाई गौतमबुद्धको देश भनेर चिनिने प्रसङ्ग जोड्दै उनले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको देश भनेर पनि चिनिने बताए । 
 
श्रीलंकाका भिक्षु पानासारा थुरुले नेपाली जनताको अग्रसरतामा यति ठूलो अभियान थालिनु गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरे । 
 
समारोहमा भरतपुर महानगरकी प्रमुख रेनु दाहालले रंगशाला निर्माण सहयोगार्थ आयोजना गरिएको धनधान्यान्चल सफल भएको बताउँदै चितवनमा रंगशाला निर्माण भइरहँदा महानगरको तर्फबाट सधैँ आवश्यक सहयोग र समन्वय भइरहने विश्वास व्यक्त गरिन् । 
 
समारोहमा मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले धनधान्यान्चलको समीक्षा प्रतिवेदन पेश गर्दै धनधान्यान्चलमा लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको बताए । सबैको सहभागिताबाट धनधान्यान्चल सफल भएको र अब घोषित रकम उठाउनु चुनौती भएको बताए । उनले जतिसक्दो छिटो घोषणा भएका रकम उठाएर फाउन्डेसनलाई हस्तान्तरण गरिने जानकारी दिए । 
 
समापन कार्यक्रम मूल आयोजक समितिका संयोजक एवम् प्रदेश सांसद् विजय सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 
महायज्ञमा लक्ष्यभन्दा बढी संकलन
 
चितवनको रामपुरमा निर्माणाधीन रंगशालालाई सहयोग जुटाउन आयोजना गरिएको धनधान्यान्चल महोत्सवमा लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको छ । ५० करोड उठाउने लक्ष्यका साथ आयोजना गरिएको धनधान्यान्चलमा अन्तिम दिनसम्म करिब ५६ करोड संकलन भएको मूल आयोजक समितिका संयोजक सुवेदीले बताए । 
 
धनधान्यान्चलमा सोमबारमात्रै करिब २१ करोड रुपैयाँ आर्थिक संकलन भएको थियो । आइतबारसम्म ३५ करोड संकलन भएकोमा सोमबार बाग्मती प्रदेश सरकारले थप १५ करोड सहयोग घोषणा गरेपछि लक्ष्यभन्दा धेरै रकम संललन भएको हो । 
 
बाग्मती प्रदेश सरकारले पहिलोपटक पाँच करोड, दोस्रोपटक १० करोड र सोमबार तेस्रोपटक १५ करोड घोषणा गरेको हो । सोमबार बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट उनका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपालियाले थप १५ करोड घोषणा गरेपछि ३० करोड सहयोग गर्ने घोषणा गरेको हो । बाग्मती प्रदेश सरकारका तर्फबाट रंगशाला निर्माणका लागि बहुवर्षीय कार्यक्रमअन्तर्गत ३० करोड प्रदान गर्ने घोषणा गरिएको हो ।
 
यस्तै, ग्लोबल आईएमई बैंक केन्द्रीय कार्यालय काठमाडौँले एक करोड सहयोग घोषणा गरेको छ । बैंकका अध्यक्ष चन्द्र ढकालले महोत्सवस्थल पुगेर उक्त रकम घोषणा गरेका हुन् । 
 
यस्तै, नेपाल एलपी ग्यास उद्योग संघले पनि रंगशाला निर्माणका लागि एक करोड सहयोग घोषणा गरेको छ । सोमबार महोत्सवस्थल पुगेर संघले उक्त रकम घोषणा गरेको हो । 
 
उता विनोद रानाभाट बचाउ अभियानको तर्फबाट रंगशाला निर्माणका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग घोषणा भएको छ ।
 
यस्तै, भरतपुर महानगरपालिकाले रंगशालामा निर्माणका लागि बहुवर्षीय कार्यक्रमअन्तर्गत ५ करोड उपलब्ध गराउने भएको छ । महानगर प्रमुख रेनु दाहालले सो रकम घोषणा गरेकी हुन् ।
 
रंगशालामा निर्माणका लागि मकवानपुरको मनहरी गाँउपालिकाले गिट्टी, बालुवा र सालको काठ दिने घोषणा गरेको छ । सोमबार महोत्सवस्थलमा पुगेर गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले रंगशाला निर्माणका लागि आवश्यकताअनुसार सय टिपर गिट्टी अथवा बालुवा र एक हजार क्यूफिट सालको काठ दिने घोषणा गरेका हुन् । 
 
उनले छिमेकी जिल्लामा यति ठूलो अभियान चलिरहँदा मनहरी गाँउपालिका सहयोगको लागि जहिले पनि तयार रहेको बताए ।
 
यस्तै, आज विभिन्न संघसंस्था, आमा समूह, टोलसुधार समिति, सहकारी संस्था तथा व्यक्तिहरुले पनि सहयोग गरेको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । महोत्सवको अन्तिम दिन भक्तजनहरुको उल्लेख्य घुइँचो लागेको थियो ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्यान्चल महोत्सव सुरु गरिएको थियो । पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचक रहेका थिए । 
 
चितवनको रामपुरमा दुई वर्षभित्र दुई अर्ब ५० करोडको लागतमा निर्माणसम्पन्न गर्ने लक्ष्यसहित ३० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशालाको काम भइरहेको छ । 
 
महायज्ञबाटै सो परियोजनाको ३० प्रतिशतभन्दा बढी रकम संकलन भएपछि धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल उत्साहित भएका छन् । उनले यो परियोजना सम्पन्न भएपछि कोही कसैसँग सहयोग नमाग्ने घोषणा गरेका छन् ।