मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अमेरिकामा ट्याक्स फाइल गर्दा कसरी आउंछ रिफण्ड, किन तिर्नु पर्छ (भिडियो अन्तरबार्ता सहित)

अमेरिकामा ट्याक्स फाइल गर्दा कसरी आउंछ रिफण्ड, किन तिर्नु पर्छ (भिडियो अन्तरबार्ता सहित)


अमेरिका- ट्याक्स फाइल कसरी गर्ने ? अमेरिकामा लामोसमय देखि व्यक्तिगत र व्यवसायीलाई कर सम्वन्धि परामर्श दिदैं आएका सीपीए भिम कार्कीको सुझाव छ, रोजगारवाट आम्दानी भएको हो, डब्लु टु छ भने आफैंले अमेरिकी राजस्व विभाग आईआरएसवाट मान्यताप्राप्त वेभसाइटमा गएर ट्याक्स फाइल गर्न सकिन्छ । ५०, ६० हजार डलरसम्मको आम्दानी गर्नेले निशुल्क भर्न सक्छन् । तर, स्टेट ट्याक्सभएको ठाउंमा भने यो निशुल्क हुदैंन । स्टेट ट्याक्स जतिसुकै कम भएपनि अनलाइनमा भर्दा केही पैसा तिर्नु पर्ने हुन्छ । कसरी ट्याक्स फाइल गर्ने भन्नेमा दुविधा छ, आम्दानी र खर्चका विवरणमा केही झण्झटहरु छन वा रोजगारवाहेक व्यवसायवाट आम्दानी आएको हो भने कर विज्ञसंग परामर्श लिनु उपयुक्त हुन्छ ।
 
कर दाखिला विवरण अर्थात ट्याक्स फाइल गर्दा सवैभन्दा महत्वपुर्ण पक्ष कुनैपनि विवरणहरु गलत नहुन, कुनै पनि राख्नुपर्ने विवरण नछुटुन भन्ने हो । गलत भयो भने फिर्ता पाउनु पर्ने नआउने वा पछि अनावश्यक झन्झटमा फस्नुपर्ने हुन्छ ।
 
अमेरिकामा वस्ने विद्यार्थी, ऊवर वा ट्याक्सी चालक, पार्ट टाइम काम गर्ने, भाषा अनुवाद जस्ता परामर्शदाताको काम गर्ने सवैले ट्याक्स फाइल गर्नै पर्छ । ऊवर चलाउनेलाई ऊवरले कागजात पठाएको हुन्छ । रोजगार गर्नेलाई फ्रेबअरी महिनाको पहिलो सातासम्म मेल बक्समा डब्लु टु फारम आएको हुन्छ । पार्ट टाइम गर्नेका लागि १०९९ फारम आएको हुन्छ ।
 
रोजगार गर्नेले अफ्रिल १५ र व्यवसाय गर्नेले मार्च १५ भित्र ट्याक्स फाइल गरिसक्नु पर्छ । यो समय भित्र गरेन भने एक्स्टेन्सन गरेमा स्वत अक्टोबर १५ सम्म समय पाइन्छ । तर, त्यसपछि भने जरिवाना र लेट फि तिर्नु पर्ने हुन्छ । यसको मतलव समयमै ट्याक्स फाइल गर्नु उपयुक्त हुन्छ ।
 
ट्याक्स फाइल गर्नु अघि कागजात ठिक्क पार्नु पर्छ, डब्लु टु, इन्सुरेन्स गरेको छ भने १०९५, कलेजमा फि तिरेको १०९८, विद्यार्थीले ऋण तिरेको रहेछ भने ब्याज घटाउन पाइन्छ । यस्तै ४०१ के तिरेको पैसा एउटा कम्पनी छाडेर अर्को कम्पनीमा जांदा चेक आउंछ । उक्त चेक ६० दिन भित्र रोल ओभर गरिएको छैन भने त्यसमा कर र १० प्रतिशत पेनाल्टी तिर्नु पर्छ । तर, साढे ५९ बर्ष भन्दा माथिका करदातालाई ४०१ के को यो नियम लाग्दैन ।
 
सामान्य रुपमा बार्षिक १ लाख ५० हजार भन्दा कम आम्दानी छ भने श्रीमान श्रीमतीले संयुक्त रुपमा ट्याक्स फाइल गर्नु उपयुक्त हुन्छ । सोसियल सेक्यूरिटी नम्बर छैन भने उनीहरुलाई आश्रितमा नदेखाउंदा नै उपयुक्त हुन्छ 
 
ट्याक्स रिफण्ड के हो ?
ट्याक्स रिफण्डमा अनेक तर्क वितर्क सुनिन्छ । पहिले यति आएको थियो, अहिले थोरै आयो, फलानोले वढी रिफण्ड दिलाउंछ, यस पटक मैले त उल्टो तिर्नु पर्यो भन्ने जस्ता कुराहरु  सुनिन्छ ।
 
यसमा सीपीए कार्की भन्छन् यी हल्ला हुन ट्याक्स कानुनमा जे छ त्यही अनुसार हुने हो । फिर्ता आउने वा तिर्नु पर्ने पनि कानुन अनुसार नै हुन्छ । कर दाताले पाउने रिफण्ड भनेको बर्ष भरी रोजगारगर्दा  वा व्यवसाय गर्दा जत्ति तिरिन्छ त्यो एकमुष्ठ हिसाव गरी कर कानुनले ताकेको भन्दा वढी तिरिएको रहेछ भने फिर्ता पाइन्छ कम तिरेको रहेछ भने फिर्ता गर्नु पर्ने हुन्छ । तर, रिफण्डमा सवैको लागि एउटै प्रकारको मापदण्ड भने हुदैंन । रिफण्ड अर्थात फिर्ता आउने रकम कती हुन्छ यो व्यक्तिगत र परिवारको आकारमा निर्भर हुन्छ । फिर्ता आउने विभिन्न कारण छन् एउटा कम आम्दानी भयो बाल बच्चा हुकाउर्नु परेको छ, त्यस्तो अवस्थामा आफुले तिरेको वा नतिरेकोवाट पनि आईआरएसवाट पैसा फिर्ता आउंछ ।
 
मानौ, एक जना बच्चा सहित तीन जनाको परिवारको बार्षिक आम्दानी ५० हजार डलर भयो छ । परिवारमा अरु आश्रित छैनन । यो अवस्थामा २४ हजार ४ सय डलर आम्दानी कट्टा गर्न पाइन्छ । ५० हजारमा यो कट्टा गर्दा बांकी रह्यो २५ हजार ६ सय यसमा कर लाग्ने हो । यसमा सामान्यतह पहिलो १० हजारमा १२ प्रतिशत र त्यस पछि बांकी करिव १५ हजारमा १५ प्रतिशत कर लाग्छ । रोजगारीवाट प्राप्त चेक लिदां नियमित रुपमा विभिन्न खालका करहरु पनि तिरिएको हुन्छ, यो तिरेको रकम वढी छ भने पैसा फिर्ता आउंछ कम छ भने आईआरएसलाई फिर्ता गर्नु पर्छ । उदाहरणका लागि कर कानुन अनुसार बर्ष भरी तिर्नु पर्ने रकम ७ हजार डलर रहेछ,  ८ हजार तिरेको रहेछ भने एक हजार फिर्ता आउंछ । ६ हजार मात्र तिरेको रहेछ भने १ हजार फिर्ता गर्नु पर्ने हुन्छ । कट्टा गरेको २४ हजार ४ सयमापनि कर तिरैकै हुन्छ । यसले गर्दा ५० हजार आम्दानी गरेको रकममा फिर्ता गर्नु नपर्ने पनि हुन्छ । तर, यो परिवार आम्दानीको प्रकार आदिमा फरक भने पर्छ । अघिल्लो बर्षसंग तुलना गर्दा २०१९ मा ५० हजार आम्दानी गरेको छ भने फिर्ता पहिले भन्दा अलिकति कम आउन सक्छ ।
 
अघिल्लो पटक भन्दा यस पटक आईआरएसमा ट्याक्स फाइल गर्दा के फरक छ ?
सीपीए कार्कीका अनुसार अघिल्लो बर्ष २०१८ मा नयां कर लागु भएका थिए । सन् २०१९ मा अहिले त्यत्ति धेरै फरक छैन । केही समान्य परिमार्जन र आर्थिक वा मूल्य बृद्धिका कारण समान्य हेरफेर मात्र भएको छ । जस्तो अघिल्लो बर्ष विवाहित व्यक्तिले कर प्रयोजनका लागि कट्टा गर्नपाउने रकम २४ हजार अमेरिकी डलर थियो । अहिले २४ हजार ४ सय डलर पुगेको छ । व्यक्तिगतको पहिले १२ हजार थियो अहिले यो १२ हजार २ सय डलर भएको छ । पहिले स्वास्थ्य बीमा गर्नेलाई जरिवाना तिर्नु पथ्र्यो तर, अहिले तिर्नु पर्दैन । तर, यसको मतलव स्वास्थ्य बिमा गर्नु पर्दैन भन्ने होइन । अमेरिकामा स्वास्थ्य सेवा महंगो छ । केही भईहाल्यो, स्वास्थ्य बिमा छैन भने निकै कठिन हुन्छ ।
 
यस वाहेक जस्तो रियल स्टेट व्यवसाय छ आम्दानी ४ लाख वा यसभन्दा वढी छ भने अघिल्लो बर्षका तुलनामा केही प्रावधानहरु फरक भएका छन् । तर, समान्य आम्दानीगर्नेका लागि अघिल्लो पटक  र यस पटक खासै फरक परेको छैन ।
 
कर कम गर्ने केही उपाय छन् ?
अमेरिकामा सन् २०१८ मा नयां कर कानुन लागु भयो । यसले खर्च देखाएर कर बचाउने विकल्पलाई निकै कम गरिदिएको छ  । तर, अमेरिका लगायत विश्वभरनै करदाताहरु तिर्नु पर्ने कर कसरी कम गर्ने, कानुनतह भएका प्रावधान उपयोग गरेर कर कसरी वचाउने भन्ने हेर्छन । यो स्वभाविक हो । यो कानुन तह वित्तीय योजनाको एउटा पक्ष पनि हो ।
 
करभार कमगर्ने योजना आम्दानी कसरी प्राप्त भएको छ, त्यसमा निर्भर हुन्छ । रोजगारी गरेर आम्दानी गरिएको छ भने कमगर्ने विकल्पहरु कम हुन्छन् । यो अंकको आम्दानी हुदां यति तिर्नु पर्छभन्ने त्यहां तय भईसकेको हुन्छ । तर, व्यवसाय गरेर आम्दानी प्राप्त भएको हो वा १०९९ को आम्दानी हो भने यसमा व्यवसाय गर्दा लागेका खर्चहरु घटाउन पाइन्छ । कर विज्ञ वा कर सम्वन्धि परामर्शदाताले यहां सहयोग गर्न सक्छन् । कर परामर्शदाताले यस्तो आम्दानीमा आफ्ना ग्राहकलाई ट्याक्स योजना वनाएर कर कम गर्न सक्छन् ।
 
नेपालमा बैंक खाता, सम्पत्तिवाट आम्दानी भयो भने के गर्ने ?
सीपीए कार्कीका अनुसार अमेरिकी कानुन अनुसार यहांको नागरिकता वा ग्रिनकार्ड लिनेले संसारको जुनसुकै स्थानमा आम्दानी गरेपनि यहां कर तिर्नु पर्छ । ट्याक्स फाइल गर्दा विवरण भर्नु पर्छ । नेपालमा तपाईको नाममा बैंक खाता छ त्यहां १० हजार अमेरिकी डलर भन्दा वढी रकम छ भने ट्याक्स फाइल गर्दा एउटा छुट्टै फारम एफबीएआर भर्नु पर्छ ।
 
अमेरिकामा जुनसकुै माध्यमवाट आम्दानी प्राप्त भएको छ भने प्रत्येक बर्ष अप्रिल १५ भित्र आईआरएसमा कर विवरण (ट्याक्स फाइल ) गर्नु पर्छ । अमेरिकी नागरिक, ग्रिनकार्ड वा कानुनतह वस्ने र आम्दानी गर्नेले ट्याक्स फाइल गर्नु पर्छ । यो कानुन हो । यसवाट मुक्ती पाइंदैन ।
 
ठगका फोन
आईआरएसवाट भन्दै कसैले फोन गरेर पैसा माग्छ भने तिनीहरु ठग हुन । आईआरएसले समान्यतया फोन गर्दैन । केही वुझ्न पर्यो भने अन्तिम अवस्थामा फोन गर्छ । तर, पैसा यती उती देउ भन्दैन । यदी आईआरएस भन्दै कसैले फोन गरेर पैसा माग्यो भने ति ठग हुन सक्छन । सवैभन्दा राम्रो तिम्रो नम्बर देउ म पछि गर्छु भन्नु हो ।
 
कर विज्ञ सीपीए भिम कार्कीसंग हिमालयखबर डटकमले  गरेको बिशेष कुराकानी: