मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सत्यनिरुपण तथा बेपत्ता आयोगका पदाधिकारीप्रति पीडितको असन्तुष्टि

सत्यनिरुपण तथा बेपत्ता आयोगका पदाधिकारीप्रति पीडितको असन्तुष्टि


काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन दुई आयोगमा सिफारिस गरिएका पदाधिकारीप्रति पीडितले असन्तुष्टि व्यक्त गरेका छन् । 
 
द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा पीडित समुदायका सरोकारलाई निषेध गरी गठित आयोगमा पदाधिकारी सिफारिसप्रति आपत्ति व्यक्त गरिएको छ । 
 
प्रेस विज्ञप्तिमा ऐन संशोधनका लागि नियन्त्रित र देखावटी परामर्शको सिफारिस गराई पीडितको आँसु, पीडा र रगतमाथि फेरि पनि गैरजिम्मेवार खेलवाड गरिएको उल्लेख छ । 
 
सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठनका लागि यही माघ ३ गते सिफारिस समितिले गरेको सिफारिसप्रति पीडितको आपत्ति रहेको विज्ञप्तिमा छ । 
 
पीडितले ऐन संशोधन र पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्य एकैपटक गर्नुपर्ने र त्यसमा पीडितलाई सहभागी गराउनुपर्ने मुख्य माग छ । सो मागप्रति ध्यान नदिएको पीडितको गुनासो छ ।
 
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा शनिबार पदाधिकारी सिफारिस गर्न बनेको समितिले कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई दुई आयोगमा पाँच÷पाँच जना गरी १० जनाको नामावली बुझाएको थियो । 
 
सत्य निरुपण तथा मेलमिलाय आयोगमा अध्यक्ष गणेशदत्त भट्ट, सदस्यमा वरिष्ठ अधिवक्ता प्रचण्डराज श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोविन्द गौतम, अधिवक्ता मन दाहाल, अधिवक्ता विष्णु पोखरेल रहेका छन् । 
 
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वन्यायाधीश युवराज सुवेदी, सदस्यमा वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारी, अधिवक्ता डा गंगाधर अधिकारी, अधिवक्ता सुनिल रञ्जन सिंह, अधिवक्ता सरिता थापा मगर रहेका छन् ।