मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पर्यटकको पूर्ण सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : पर्यटनमन्त्री

पर्यटकको पूर्ण सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : पर्यटनमन्त्री


काठमाडौँ । सरकारले पर्यटकका लागि नेपालमा कुनै पनि सुरक्षा चुनौती नरहेको बताउँदै ढुक्क भएर भ्रमण गर्ने पर्यटकलाई आग्रह गरेको छ । 
 
कुनै पनि ठाउँमा विदेशीहरु एक्लै घुम्नसक्ने अवस्था रहेको भन्दै सरकारले पर्यटकको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराखेको जनाएको छ ।
 
नेपाल वैकल्पिक अध्ययन समाजद्वारा राजधानीमा आयोजित ‘समृद्धिमा पर्यटनको अर्थ¬राजनीति’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले माओवादी जनयुद्धका बेलामा समेत पर्यटक पूर्ण सुरक्षित रहेको स्मरण गर्दै अहिलेको अवस्थामा सुरक्षा चुनौती नरहेको बताए । 
 
नेपालमा जस्तो पर्यटक सुरक्षित कहीँ पनि नभएको बताउँदै मन्त्री भट्टराईले भने, “माओवादी जनयुद्धका बेलामा १७ हजार नेपालीले ज्यान गुमाउँदा एउटा पनि पर्यटक मरेका थिएनन् । जवकि कम्बोडिया र श्रीलंकाको युद्धमा कति मान्छे मरे, नेपालको कहाँ छैन सुरक्षा, सय प्रतिशत सुरक्षा छ ।” 
 
उनले भने, “अहिले पनि एउटा विदेशी महिला एक्लै लौरो टेकेर गाउँगाउँ घुमिरहेकी छिन्, उनीमाथि कसैले प्रश्न गर्दैन, उनी पूर्ण सुरक्षित छिन् ।” 
 
नेपालको पूर्वदेखि पश्चिमसम्म नै अथाह पर्यटकीय सम्भावना बोकेको ठाउँ रहेको बताउँदै स्वागत सत्कारका हिसाबले नेपालीहरु विश्व मै अगाडि रहेको बताए । 
 
उनले कुनै पर्यटक समस्यामा परे सरकारले तत्कालै एक्सन लिने र उनीहरुलाई सुरक्षित पार्ने गरी तयारीमा रहेको जानकारी गराए । 
 
अन्नपूर्णको हिमपहिरोमा परेका सबैलाई तुरुन्तै उद्धार गरेको र सात जना अझै हराइरहेका भन्दै मन्त्री भट्टराईले चाइनिज चढेको बस चितवनमा दुर्घटना हुँदा पनि तुरुन्तै उद्धार गरी अस्पतालमा लगेर उपचार गराएको जानकारी दिए । आफ्नो कारणले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश नजाओस् भन्नेमा सरकार सचेत रहेको उनले बताए । 
 
कार्यक्रममा पर्यटन व्यवसायी ईरा प्रसाईले पर्यटन विकासका लागि सेवा सुविधाको विस्तार र पूर्वाधार निर्माण जरुरी रहेको औँल्याइन् । उनले गुणस्तरीय पर्यटक भित्र्याउनका लागि सरकारी पहल जरुरी रहेको बताइन् । 
 
पर्यटन विज्ञ प्रचण्डलाल श्रेष्ठले विदेशीसहित आन्तरिक पर्यटनको विकासका लागि सरकारले छुट्टाछुट्टै नीति ल्याउनुपर्नेमा जोड दिए । 
 
नेपालमा पर्यटकीय क्षेत्र हो भनेरमात्रै नहुने बताउँदै उनले पर्यटकका लागि मनोरञ्जन लिने ठाउँ हुन जरुरी रहेको उल्लेख गरे । संस्कृति र प्रकृतिले मात्रै पर्यटन विकास हुन नसक्ने जिकिर गर्दै उनले त्यसमा आकर्षण गर्नसक्ने प्रस्तुतीकरण जरुरी रहेको बताए । 
 
कार्यक्रममा पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा सागरराज शर्माले पर्यटनसम्बन्धी उपयुक्त नीतिको जरुरी रहेको औँल्याउँदै कमजोरी पत्ता लगाएर सुधार आवश्यक हुने बताए ।